News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (एमाले)मा गत २०८२ फागुन २१ को मध्यावधि निर्वाचनको हारपछि नीति र नेतृत्वको समीक्षा एवं पुनर्गठनबारे तीव्र बहस सुरू भएको छ।
- पार्टीभित्र गुटबन्दी, सामूहिक नेतृत्वको अभाव र आन्तरिक अनुशासन उल्लङ्घन जस्ता सांगठनिक बेथितिहरू व्याप्त बनेको विश्लेषण गरिएको छ।
- एमालेलाई जोगाउन पहिलो पुस्ताले विश्राम लिई दोस्रो र तेस्रो पुस्तालाई नेतृत्व सुम्पँदै नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्ने आवाज उठेको छ।
अहिले नेकपा (एमाले) को नीति तथा नेतृत्वको गम्भीर समीक्षा र पुनर्गठनका बारेमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा व्यापक चर्चा छ । पार्टीभित्र धेरै प्रकारका बेथितिहरू व्यापक रुपमा बढिसकेका थिए तर कसैले त्यसका बारेमा बोल्ने हिम्मत गरेका थिएनन् । गत २०८२ फागुन २१ को मध्यावधि निर्वाचनमा शर्मनाक हार नभएको भए फेरि पनि नीति तथा नेतृत्वका बारे पार्टीले यस्तो कार्यदल बनाउने निर्णय गर्ने थिएन । त्यसैलाई लिएर नेताहरूमा अहिले तीतो पीरो निकै बढेको देखिन्छ ।
तर यस्तो नाजुक अवस्थामा पनि एमालेको नेतृत्वमा देखिएको सुस्तता देख्दा यसलाई निर्वाचनमा हारका कारणप्रति कुनै सरोकार नभएजस्तो लाग्छ । हामी के कारण यति तलसम्म झरेका छौँ हामीलाई किन आफ्ना नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूले यो हदसम्म अविश्वास गरेका हुन् त्यसतर्फ हेर्नु र आत्मसमीक्षा गर्नु भनेको आफैँलाई नङ्ग्याउनु हो भन्ने ठानिरहेछन् नेताहरू ।
गत निर्वाचनको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अहङ्कारी, दम्भी, एकल निर्णेता, निरङ्कुश, तानाशाह र भाद्र २३–२४ पछि त हत्यारासम्मका विशेषणहरू जोडेर एमालेका विरुद्ध नयाँ दलहरूद्वारा प्रचार गरिएको थियो । पार्टी भित्रको तीव्र असन्तुष्टि र निराशापूर्ण वातावरणका कारण तिनको प्रतिवादमा एमालेका नेता कार्यकर्ताहरू चुनावी मैदानमा आक्रामक हुनै सकेनन् । हाम्रो राम्रो कामका विषयमा मात्र कुरा राख्नु तर केपी ओलीको नाम नलिइदिनुहोला भन्नेसम्म वातावरण तयार भएको थियो । त्यस बाहेक केपी ओलीलाई निस्तेज गराउँदै नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने देशी विदेशी शक्तिहरू त सधैं लागिरहेकै थिए ।
यस्तो अवस्थामा नेकपा (एमाले)मा चलिरहेको नीति तथा नेतृत्वको गम्भीर आत्मसमीक्षा र पुनर्गठन भन्ने शब्दहरूले कसरी मूर्त रुप लिन्छ त्यो व्यवहारमा हेर्न बाँकी छ । पार्टीमा एकतर्फी हालीमुहाली चलाइरहेका नेताहरूले एमालेमाथिको षड्यन्त्रहरूलाई चिर्दै धूलो टक्टक्याउँदै उठेर पार्टीलाई पुरानै अवस्थामा पुर्याउने भनिरहेकाछन् भने अर्कोतर्फ किनारीकृत र अपहेलित नेता कार्यकर्ताहरूमा भने दुइ प्रकारका कुरा उठिरहेका छन् ।
एकथरी, केपी ओलीकोमात्र बहिर्गमन हुनुपर्छ भनिरहेका छन् भने अर्कोथरी, अहिले पार्टी नेतृत्व गरिरहेका अधिकांश नेताहरूप्रति सिङ्गो पार्टी पंक्ति सन्तुष्ट छैन । अत: हालको नेतृत्वमा रहेका स्वच्छ नेताहरू, गुटबन्दीका कारण किनारा लगाइएका र छुटेका दर्जनौँ सक्षम नेताहरूलाई समेटेर एक अन्तरिम अवधिका लागि नेतृत्व निर्माण गर्नुपर्छ भनिरहेकाछन् ।
उनीहरू थप भनिरहेकाछन् अब पनि एमालेको नेतृत्व तहमा सही कम्युनिष्ट दृष्टिकोण, चिन्तन, सोँच, चरित्र, आचरण, शैली र व्यवहारमा परिपक्व इमानदार नेताहरूको अनुहार देखिएन भने गत निर्वाचनमा हामीलाई अविश्वास र अस्वीकार गर्दै मत नदिएर सजाय दिने हाम्रा दशकौँ पुराना पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, सदस्य, मतदाता, समर्थक र शुभेच्छुकहरूले पार्टीलाई सदाका लागि त्याग्नेछन् । यो सही हो कि ओलीलाई एकल निर्णेता बनाएर वहाँलाई नै अलोकप्रिय बनाउने, वहाँका नाममा पार्टी केन्द्र, प्रदेश, जिल्ला, कतिपय पालिकाहरू र जनसङ्गठनहरूमा ज्यादती गर्ने नेताहरूलाई अब पनि नेता मानिरहने अवस्था देखिन्न ।
कम्युनिष्ट एमाले, प्रजातान्त्रिक कांग्रेस र सशस्त्र विद्रोहवाला माओवादी मिसिएको नेपाली कम्युनिष्ट पार्टी र नयाँ पार्टीहरूमा मतदाताले कुनै फरक देखेनन् । मतदातालाई जुन नेताहरूको अनुहार सम्झँदै वाक्वाकी लाग्छ तिनैका हाकिमी शैली, साधन स्रोतले सम्पन्न सुकसुकाउँदो र सुकिलोमुकिलो चालढाल र निश्चित ढोँगी र बनावटी कुराले अब जनतालाई झनै चिढ्याउने कुरा पक्का छ ।
यस्ता कुराहरू बुर्जुवा पार्टीहरूमा हैन कम्युनिष्ट आन्दोलनको विशाल इतिहास बोकेको नेकपा (एमाले)मा चाहिँ खोजिनु अनिवार्य हुनजान्छ । नयाँ राजनीतिक दलहरूले हामीभित्र देखिएका विकृत र विसङ्गत चरित्र, आचरण र व्यवहारलाई देखाएर आफ्नो पक्षमा जनमत विस्तार गरिरहेको देख्दादेख्दै यत्ति पनि बुझ्न नसक्नु हाम्रो भयङ्कर अयोग्यता नै हो । यहाँसम्म पुग्न जे जति राम्रा कामहरू गरियो तिनको वर्णन यहाँ गरिरहनु परेन त्यो इतिहासमा लेखिसकिएकै छ, लेखिन बाँकी लेखिनेछ । तर पार्टी आज जसरी शर्मनाक रुपमा पछि परेको छ त्यस हारको गम्भीर समीक्षा गर्न अघि नसर्नु, नेतृत्वले हामी नै ठीक छौँ भन्ने ढिपी गरिरहनु, सारा लोकले देखिसकेको कमजोरीलाई सँधै ढाकछोप गरिरहने पार्टी नेतृत्वको गलत रवैयालाई अब तत्काल नसच्याउने हो भने जनताले हामीलाई पर्खने छैनन् हामीले मृत्यु पर्खनुमात्र हुनेछ ।
अब देशकै सबैभन्दा अनुशासित, सुव्यवस्थित, सुसङ्गठित, जुझारु र चलायमान पार्टीलाई गैर कम्युनिष्ट बानीव्यहोराका नेताहरू र तिनै नेताका आशीर्वादले नेता भएकाहरूले एमालेलाई कसरी धूलोपीठो बनाए त्यो हेरौँ:
(१) पार्टी केन्द्रीय कमिटी, केन्द्रीय सचिवालय, पदाधिकारी र शक्तिशाली नेताका निकट व्यक्तिहरूबाट पार्टी विधान, नियमावली र निर्देशनहरुको पटकपटक उल्लङ्घन गरेर ।
(२) शक्ति पृथक्कीरणको सिद्धान्त अनुसार पार्टीलाई सन्तुलन र नियन्त्रणका आधारमा अनुशासित, सुव्यवस्थित, सुसङ्गठित र सुशासनयुक्त बनाउन स्थापित केन्द्रीय निकायहरूलाई विधान बमोजिमका अधिकारहरू प्रयोग गर्न नदिएर र अधिकार कटौती गरेर ।
(३) योग्य, स्वच्छ, लोकप्रिय, क्षमतावान र क्रियाशील नेता कार्यकर्ताहरूलाई गुटबन्दीका कारण स्वतन्त्र र स्वस्थ्य प्रतिष्पर्धा गर्नबाट रोक्ने, जबरजस्त आफ्नो गुटको घोषणा गर्ने वा निर्वाचन हुने भएमा पार्टी अध्यक्षको नाममा पूर्ण हस्तक्षेप गरेर ।
(४) पार्टी सङ्गठनभित्र आलोचना र आत्मालोचनाको विधीलाई पूर्ण रुपमा बन्द गरेर ।
(५) सम्मेलन, अधिवेशन र महाधिवेशन प्रतिनिधि छनौटमा पार्टी सदस्यको गलत तथ्याङ्कको प्रयोग, पदको दुरुपयोग गरी आफूखुशी प्रतिनिधिको छनौट गरी संख्या कब्जा गरेर ।
(६) पार्टी शुद्धीकरण र सुदृढीकरण अभियानलाई पूर्ण रुपमा बेवास्ता गरेर ।
(७) पार्टीका कुनै पनि तहका प्रशिक्षणमा पार्टीका नीति, सिद्धान्त, विचार, कार्यक्रम आदिजस्ता कम्युनिष्ट शिक्षाका विषयहरूलाई बेवास्ता गरेर ।
(८) निर्वाचनहरूमा आफ्ना प्रशंसक, आसेपासे, चाकरीवाज, गुटबाज, पैशावाल, खराब चरित्रकालाई नेता बनाउँदै पटकपटक अवसर दिएर ।
(९) पार्टीमा सामूहिक नेतृत्व प्रणाली र लोकतान्त्रिकरण प्रक्रियालाई पूर्ण अवरुद्ध पारेर ।
(१०) पार्टीमा चाकरी, चाप्लुसी, नातावाद, कृपावाद, जातीवाद, क्षेत्रीयतावाद, गुटबन्दी आदिलाई प्रश्रय दिँदै असल नेता कार्यकर्ताहरूको एकतर्फी नकारात्मक मूल्याङ्कन गर्दै असल, इमानदार र सम्भावना बोकेका कार्यकर्ताहरूको तेजोवध गरेर आदि आदि ।
अब धेरैले बोल्ने गरेको र यसो सुन्दा लोकप्रिय र आकर्षक लाग्ने पुस्तान्तरणका बारेमा केही कुरा राख्न उपयुक्त हुन्छ । अहिले नेकपा एमालेमा पाँच पुस्ताले काम गरिरहेका छन् ।
पहिलो पुस्ता:
यस पुस्ताका नेताहरूले नेपाली कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म ल्याउने महान कार्य गरेकाछन् । आजका नयाँ पुस्तालाई दन्त्यकथा झैं लाग्ने गरिका असाध्य दुख र कष्टसाध्य भूमिगत जीवन भोगेर यो पार्टी निर्माण यही पुस्ताले गरेको हो । यो पुस्ताका बारेमा धेरै लेखिरहनुपर्दैन जनता, नेता र कार्यकर्तालाई राम्ररी थाहा छ । अब यो पुस्ताले पार्टीको लागि कममात्र योगदान गर्नसक्छ । अत: अब यो पुस्ताले विश्राम लिँदै दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।
दोस्रो पुस्ता:
यस पुस्ताका नेताहरूले पहिलो पुस्ताका नेताहरूकै प्रत्यक्ष नेतृत्वमा काम गर्दै आएको छ । यस पुस्ताले पनि नेकपा (एमाले) लाई यहाँसम्म ल्याइपुर्याउन करिब करिब पहिलो पुस्ताकै हाराहारीमा अथक परिश्रम गरेको छ । यो कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट शिक्षाबाट राम्ररी प्रशिक्षित पुस्ता हो । यो पुस्तासँग अब पार्टीमा एक कार्यकाल राम्ररी काम गर्नसक्ने क्षमता अनि उमेर बाँकी छ । अब नेकपा एमालेमा यही पुस्ताका निर्विवाद र स्वच्छ छविका नेताहरूले मूख्य नेतृत्वमा रही पार्टी सम्हाल्नु पर्दछ ।
तेस्रो पुस्ता:
यस पुस्ताका नेताहरू नेपाली कम्युनिष्ट आन्दोलनका बारेमा जानकार छन् । यो पुस्ता नेपाली कम्युनिष्ट आन्दोलनको भूमिगत राजनीतिमा पूर्णरुपमा संलग्न नभए पनि खुला युवा, विद्यार्थी र सांस्कृतिक आन्दोलनबाट कम्युनिष्ट आन्दोलनमा योगदान गरेको भरपर्दो पुस्ता हो । अब यही पुस्तालाई दोस्रो पुस्ताले काँध फेर्ने योजना बनाउन ढिलो भइसकेको छ । यस पुस्ताले निकट भविष्यमा पार्टी हाँक्नका लागि तयारी गरिहाल्नुपर्ने अवस्था आएको छ ।
चौथो पुस्ता:
यो पुस्ता नेपाली कम्युनिष्ट आन्दोलनका बारेमा कम जानकार पुस्ता हो । यस पुस्ताले नेपाली कम्युनिष्ट आन्दोलनलाई गम्भीर ढङ्गले बुझ्न बाँकी छ । आफ्नो परिवार, गाउँघर समाज र अन्य वातावरणबाट प्रभावित भएर कम्युनिष्ट पार्टीमा संलग्न भएको पुस्ता हो यो । अघिल्ला पुस्ताका बारेमा केही केही जानकारी छ र अघिल्ला पुस्तासँगको सङ्गत र साथले पार्टीमा लागिपरेको अवस्था छ । उनीहरूलाई पार्टीको इतिहास, सिद्धान्त, नीति, विचार, कार्यक्रम, सङ्गठनात्मक सिद्धान्त र कम्युनिष्ट साहित्यका कुराहरूका बारेमा पार्टीले राम्ररी सिकाएकै छैन । युवा पुस्ताले नेतृत्व सम्हाल्नुपर्छ भनिएपनि यस पुस्ताले नेतृत्व सम्हाल्न सक्ने अवस्था छैन । पुस्तान्तरणको निरपेक्ष मागले कम्युनिष्ट पार्टी त के गैर कम्युनिष्ट पार्टी पनि चल्नसक्दैन । अत: यो पुस्तालाई जेन्जी पुस्तासँग पार्टीलाई जोड्ने महत्वपूर्ण पुलका रुपमा लिइनुपर्दछ ।
पाँचौँ पुस्ता:
यो अहिलेको जेन्जी पुस्ता हो । यो पुस्ताले त अघिल्लो पुस्तालाई पछ्याएको मात्र हो । आफ्ना परिवारका सदस्य, आफन्त, नातागोता, साथीसँगी आदिका सङ्गत र सम्बन्धका कारण एमालेमा संलग्न पुस्ता हो । यो पुस्ताका ज्यादै थोरै संख्यामामात्र कम्युनिष्ट पार्टी बारे जानकार नेता कार्यकर्ता छन् । यो पुस्ता नेकपा (एमाले)मा मात्र हैन पुराना कुनै पनि राजनीतिक दलहरूसँग त्यति आकर्षित देखिन्न । यो पुस्ताले वर्तमानमा उपलब्ध वातावरणमा जे देखे भोगेको छ त्यसैलाई नै आफ्नो राजनीतिक मार्गको आधार बनाएको देखिन्छ । उनीहरूलाई पुराना पार्टीहरूले अङ्गीकार गरेका कुनै पनि वादसँग सरोकार छैन । अब यस पुस्ताको लागि राजनीतिक शिक्षक कुनै पनि पार्टीका व्यवहारमा असल, विश्वसनीय, इमानदार र समाजमा स्थापित कहलिएका व्यक्तिहरूमात्र हुनसक्छन् । यो पुस्ता अघिल्लो पुस्ताभन्दा नयाँ प्रविधी, विकास सम्बन्धी अवधारणा, समाज र राजनीतिलाई हेर्ने आँखा, नयाँ वातावरणलाई हेर्ने, ग्रहण गर्ने र त्यसमा भिज्ने कुरामा धेरै फरक छ । राजनीति भन्दा अघिल्लो पुस्ताले एक किसिमले बुझ्छ भने आजका पुस्ताले फरक किसिमले बुझ्छ । राजनीतिमा पार्टी कति अनिवार्य र अपरिहार्य हुन्छ भन्ने नयाँ पुस्ताले महशूस गर्न बाँकी छ ।
नेकपा (एमाले)का चौथो र पाँचौँ पुस्तालाई अहिले नै पार्टी जिम्मा लगाउन सकिने अवस्था छैन । कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्दै आएको पहिलो र दोस्रो पुस्ताले त जिउँदोजाग्दो नेकपा (एमाले)लाई कम्युनिष्ट पार्टीजस्तो चलाउन सकेनन् भने कम्युनिष्ट पार्टीका बारेमा राम्रो जानकारी भइनसकेको पुस्ताले कम्युनिष्ट पार्टी चलाउन सक्ने कुरै भएन । पहिले नेताहरूले जेन्जी र युवा उमेरमै कांग्रेस र कम्युनिष्ट पार्टी बनाएका हुन् । उनीहरूले शूरुमै आफूले मनपराएको राजनीतिक सिद्धान्त र विचारले दीक्षित गरेर पार्टी निर्माण कार्य शुरु गरेका थिए । उमेरले कुनै पनि सङ्गठन चल्दैन अर्थात् न योग्यता बेगरको नयाँले चल्छ न त अयोग्य पुरानोले नै चल्छ । यस बारेमा संसारका अरु मुलुकलाई हेर्दा थाहा हुन्छ । तर चाहेर वा नचाहेर पनि दश पन्ध्रवर्षपछि यी दुइ पुस्ताको हातमा नेपालको राजनीति आइ नै हाल्छ । अत: अहिलेको समय पार्टी नेतृत्वले चौथो र पाँचौँ पुस्तालाई आ–आफ्नो पार्टी चलाउन योग्य बनाउने समय हो । यसो नगरिएमा नेकपा(एमाले)मात्र हैन अरु पुराना पार्टीहरूको पनि अवसान अनिवार्य छ ।
प्रतिक्रिया 4