+
+
Shares

कतारको विष्फोटमा नेपाली पनि घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते ८:२६

९ असार, काठमाडौं । कतारको रस लाफान औद्योगिक क्षेत्रभित्रको  ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीहरु पनि घाइते भएका छन् ।

विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ६६ जनाभन्दा बढी घाइते भएका छन् ।

घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरु पनि रहेका छन् । उनीहरुको उपचार जारी छ । तर घाइतेहरुको नामावली सार्वजनिक भएको छैन ।

ग्यास प्लान्टमा भएको विष्फोटबाट भएको मृत्यु र घाइतेहरुको जानकारी सोमबार कतारका ऊर्जा मन्त्री साद अल–काबीले दिएका हुन्  ।

दोहास्थित भारतीय दूतावासले ‘एक्स’ मा पोस्ट गर्दै रस लाफान घटनामा १२ भारतीय नागरिकको ज्यान गएको पुष्टि गरेको छ । दूतावासले कतारी अधिकारीहरूलाई उद्धृत गर्दै सबै घाइतेहरूको अवस्था स्थिर रहेको र उनीहरूले उपयुक्त उपचार पाइरहेको जानकारी दिएको छ ।

कतारका ऊर्जा मन्त्री साद अल–काबीले यो घटनालाई आक्रमण नभई ‘दुर्घटना’ भनेका छन् । ‘दुर्घटना हो, तोडफोड वा शत्रुतापूर्ण गतिविधि होइन,’ उनले भनेका छन् ।

विगतमा पश्चिम एसिया युद्धका क्रममा इरानले खाडी क्षेत्रका ऊर्जा संरचनामा आक्रमण गर्ने क्रममा यसअघि रस लाफान क्षेत्रमा आक्रमण हुँदा क्षति पुगेको थियो । जसका कारण कतारले ग्यास उत्पादन अस्थायी रूपमा रोक्नु परेको थियो ।

सोमबार पनि विष्फोट र आगलागीको घटनाले आक्रमणको आशंका गरिएको थियो । तर कतार सरकारले आक्रमण नभएको स्पष्ट पारेको छ ।

विस्फोटको आवाज ६४ किलोमिटर टाढा दोहा शहरसम्म महसुस गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार विष्फोटपछि ठूलो आगोको ज्वाला र बाक्लो धुवाँ उडेको थियो । आइतबार राति नै आगो नियन्त्रणमा लिइसकिएको छ ।

ऊर्जा मन्त्रीका अनुसार यस घटनाले निर्यात वा स्थानीय आवश्यकतामा कुनै असर पार्ने छैन । उनले वातावरणीय प्रभाव पनि नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?