९ असार, डोल्पा । हिमाली जिल्ला डोल्पाको ठूली भेरी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड १३ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
जिल्लामै सबैभन्दा पहिले बजेट ल्याउने स्थानीय तह बनेको ठूली भेरी नगरपालिकाले सोमबार सम्पन्न १७औं नगरसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट पारित गरेको हो ।
नगरपालिकाले ‘समृद्ध नगर, सुखी नगरबासी’ भन्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै पालिकाभित्र पूर्वाधार विकास, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाएर बजेट ल्याएको जनाएको छ ।
आगामी आर्थिक वर्षको पारित बजेटमध्ये चालु खर्चतर्फ ३३ करोड ६८ लाख ३० हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ १६ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्च कुल बजेटको ६७.१९ प्रतिशत तथा पुँजीगत खर्च ३२.८१ प्रतिशत रहेको पालिकाले जानकारी दिएको छ ।
नगरपालिकाकी उपप्रमुख छिरिङ टोल्मा महतका अनुसार बजेटले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, पर्यटन, उद्यमशीलता, सूचना प्रविधि, वातावरण संरक्षण तथा सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ ।
उनका अनुसार आगामी बजेटमा स्थानीय स्तरमा रोजगारी सिर्जना, गुणस्तरीय सामाजिक विकास, कृषिको व्यवसायीकरण, भौतिक पूर्वाधार निर्माण तथा सुशासनमार्फत नागरिकमा परिवर्तनको अनुभूति दिलाउने बजेटका प्रमुख उद्देश्य रहेका छन् ।
नगरपालिकाले आगामी साउन १ गतेदेखि जिल्लामै पहिलोपटक सम्पत्ति कर लागू गर्ने घोषणा गरेको छ । नगर क्षेत्रभित्र बनेका घर तथा संरचनामा सम्पत्ति कर लगाइने र यसबाट करिब १० लाख रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ ।
साथै पालिका भित्र मालपोत कर, घरजग्गा बहाल कर, व्यवसाय कर, घरनक्सा पास शुल्क, सेवा दस्तुर तथा अन्य करमार्फत आन्तरिक आय वृद्धि गर्ने लक्ष्य राखेको छ । ठूली भेरी नदीबाट ढुंगा, गिट्टी र बालुवाको व्यवस्थापन, एक्साभेटर सञ्चालन तथा नगर बस सेवामार्फत समेत राजस्व संकलन गर्ने योजना नगरपालिकाले अघि सारेको छ।
आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट मात्रै एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त उपाध्यायले डोल्पाको भौगोलिक अवस्था र नागरिकको आवश्यकतालाई मध्यनजर गरी बजेट निर्माण गरिएको बताए ।
उनले सबै वडाबाट प्राथमिकताका आधारमा छनोट भई आएका योजनाहरूलाई बजेटमा समावेश गरिएको जानकारी दिए । उनले भने, ‘संघीयता कार्यान्वयनपछिको जनप्रतिनिधिको दोस्रो कार्यकालको अन्तिम बजेट हो । जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर बजेट विनियोजन गरेका छौं ।’
बजेट कार्यान्वयनमा कर्मचारीतन्त्रबाट कुनै समस्या नरहेको उल्लेख गर्दै जनप्रतिनिधि र नागरिकको सहयोग प्राप्त भए बजेट सफलतापूर्वक कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको उपाध्यायको भनाइ छ ।
१७औं नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख श्वर्णकुमार बुढाले दुनै बजारलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने, रुपगाड तातोपानी र रुपपाटन क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने योजना रहेको बताए ।
उनले परम्परागत रैथाने बाली संरक्षण, कृषि पाठशाला सञ्चालन, अर्गानिक कृषिको प्रवर्द्धन, किसान परिचयपत्र वितरण तथा स्याउ उत्पादनमा प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको जानकारी दिए ।
त्यसैगरी पशुपालन र दुग्ध उत्पादनलाई विशेष प्राथमिकता दिंदै पशु बीमा कार्यक्रम सञ्चालन गरिने उनले बताए । सुनौलो हजार दिनका आमाहरूलाई सहकारीमार्फत आयआर्जनमा जोड्ने, जुफाल स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा सञ्चालन गर्ने तथा पालिकाभरका स्वास्थ्य संस्थामा सुलभ औषधि उपलब्ध गराउने कार्यक्रम पनि बजेटमा समेटिएको छ ।
नगरप्रमुख बुढाका अनुसार पालिका भित्र आगामी आर्थिक वर्षदेखि जथाभावी नयाँ सडक निर्माणमा कडाइ गरिनेछ ।
नयाँ सडक निर्माणअघि वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरिने नीति लिइएको छ। गम्भीर रोगका पालिका भित्रका बिरामीको उपचार खर्चको २५ प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने, शिक्षकको कार्यसम्पादन मूल्यांकनका आधारमा सम्मान गर्ने तथा शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम सञ्चालन गरिने प्रमुख बुढाले बताए ।
विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षकको अभाव भएका पालिका भित्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्याका आधारमा अनुदान उपलब्ध गराइने तथा आगामी आर्थिक वर्षभित्र पालिकाभर फोरजी इन्टरनेट सेवाको पहुँच विस्तार गर्ने लक्ष्य समेत बजेटमा राखिएको पालिकाले जनाएको छ । पालिकाले आगामी आर्थिक वर्षलाई बेरुजु फर्छ्यौट तथा व्यवस्थापनको वर्षका रूपमा मनाउँने दाबी गरेको छ ।
आगामी आर्थिक वर्षमा पूँजीगत बजेटअन्तर्गत समपूरक कोष, प्रशासनिक भवन, रोलागाड पुल, वडास्तरीय तथा नगरस्तरीय विकास आयोजनाहरू सञ्चालन गरिने जनाइएको छ। बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन वित्तीय अनुशासन, पारदर्शिता, सार्वजनिक खरिद प्रणालीको पूर्ण पालना, नियमित अनुगमन तथा परिणाममुखी कार्यसम्पादनलाई पालिकाले जोड दिएको छ। साथै कार्तिक मसान्तभित्र विकास आयोजनाको सम्झौता सम्पन्न गरी वैशाख मसान्तभित्र कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नगरपालिकाले बजेटको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण नगरवासीको सक्रिय सहयोग आवश्यक रहेको जनाएको छ ।
प्रतिक्रिया 4