+
+
Shares

धनकुटामा विपद् प्रतिकार्य तयारी : समुदायस्तरमै स्वयंसेवक समूह निर्माण गरिँदै

तालिममा २० जना प्रशिक्षार्थी सहभागी छन् । तीमध्ये ७ जना महिला र १३ जना पुरुष छन् ।

ईश्वर थापा ईश्वर थापा
२०८३ असार ९ गते १४:१७

९ असार, धनकुटा । मंगलबार सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म छिन्ताङ्ग परिसरमा फरक चहलपहल थियो । त्यो चहलपहल कुनै उत्सवको भने थिएन, कठिन अवस्थामा कसरी जिउज्यान जोगाउने भन्ने पूर्वाभ्यासको थियो ।

त्यहाँ विपदका बेला आपत्कालीन उद्धार कसरी गर्ने ? प्राथमिक उपचार कसरी गर्ने ? विपद्को प्रतिकार्य कसरी गर्ने ? भन्ने विषयमा अभ्यास प्रशिक्षणको काम चलिरहेको थियो ।

त्यहाँ समुदायस्तरमै विपद् प्रतिकार्य क्षमता विकास गर्ने उद्देश्यसहित धनकुटामा सात दिने ‘समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माण तालिम तथा सचेतनामूलक कार्यक्रम’ सुरु गर्दाको दृश्य थियो त्यो ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकली (सुनसरी) र सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म छिन्ताङ्गको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।

तालिममा २० जना प्रशिक्षार्थी सहभागी छन् । तीमध्ये ७ जना महिला र १३ जना पुरुष छन् । सहभागीहरूमा स्थानीय विपद् सूचक तथा बासिन्दासँगै नगर प्रहरीसमेत समावेश छन्, जसले समुदाय र सुरक्षा निकायबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

तालिम अवधिभर सहभागीहरूलाई विपद्को परिचयदेखि लिएर बाढी तथा पहिरोजस्ता पानीजन्य विपदमा खोज तथा उद्धार, भूकम्प र आगलागी नियन्त्रण, भत्केका संरचनाबाट उद्धार कार्य, तथा प्राथमिक उपचार र गाँठो बाँध्ने विधि जस्ता व्यावहारिक सीप सिकाइनेछ ।

विपद व्यवस्थापनमा समुदायको भूमिका निर्णायक हुने भएकाले सरकारी निकाय मात्र होइन, समुदाय स्वयं सक्षम भए मात्र विपद् जोखिम न्यूनीकरण प्रभावकारी बन्ने धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रसाद सिग्देलले स्थानीय समुदायसँगको सहकार्यले विपद् प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने धारणा राखे । उनका अनुसार तालिमपछि तयार हुने स्वयंसेवक समूहले आपत्कालीन अवस्थामा छिटो उद्धार तथा राहत कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपालजस्तो भौगोलिक रूपमा संवेदनशील देशमा बाढी, पहिरो, भूकम्प र आगलागीजस्ता विपद् नियमित चुनौतीका रूपमा देखा पर्ने गरेको उनको भनाइ छ । यो अवस्थामा सरकारी निकाय मात्र पर्याप्त नहुने भएकाले समुदायस्तरमै दक्ष स्वयंसेवक तयार पार्ने प्रयास गरिएको सिग्देलको भनाइ छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?