९ असार, काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) बजारमा चिनियाँ कम्पनी ग्रेट वाल मोटर्स (जीडब्लूएम) ले आफ्नो ओरा सिरिज मार्फत फरक पहिचान बनाइरहेको छ ।
जीडब्लूएमले आधुनिक प्रविधिले भरिपूर्ण नयाँ ईभी ‘ओरा ५ एसयूभी’ नेपाली बजारमा समेत उपलब्ध भइसकेको छ । जीडब्लूएमको नेपालको आधिकारिक विक्रेता भीजे इम्पेक्सले ओरा ५ लन्च गरेको छ ।
नेपाली बजारमा यो गाडीको मूल्य ५१ लाख ९९ हजार तोकिएको छ । यो गाडीमा ५८.३ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री जडान गरिएको छ । यसमा १०० किलोवाट (१३६ पीएस) क्षमता भएको स्थायी चुम्बकीय सिन्क्रोनस मोटर प्रयोग गरिएको छ, जसले २६० न्युटन मिटर टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार यो गाडीले एक पटक फुल चार्जमा अधिकतम ५ सय २० किलोमिटरसम्म यात्रा गर्न सक्छ ।

यो गाडी आकर्षक रेट्रो डिजाइन, उन्नत सुरक्षा प्रणाली तथा स्मार्ट प्रविधिका कारण चर्चामा छ । यसको वाह्य डिजाइन पुराना क्लासिक कारको झल्को दिने भए पनि यसमा पानीको थोपा आकारका स्मार्ट एलईडी हेडलाइट, १८ इन्चका एलोय ह्विल तथा एकीकृत एलईडी टेललाइट उपलब्ध छन् । पछाडि भागमा रियर वाइपर सहित आकर्षक डिजाइन दिइएको छ ।
भित्री भागमा भने प्रिमियम अनुभव प्रदान गर्ने गरी डार्क गोल्ड कन्टुर डिजाइन प्रयोग गरिएको छ । प्यानोरामिक ग्लास रुफ, एम्बियन्ट लाइटिङ, ८.८ इन्च भ्यानिटी मिरर, प्रशस्त क्याबिन स्पेस तथा आरामदायी सिट व्यवस्थाले यात्रालाई थप सहज बनाउने कम्पनीको दाबी छ ।
चार्जिङतर्फ एसी चार्जिङमा ६.६ किलोवाट र डीसी फास्ट चार्जिङमा १२० किलोवाटसम्मको क्षमता उपलब्ध छ । यसले लामो दुरीको यात्रालाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

स्मार्ट प्रविधिका हिसाबले १४.६ इन्चको मल्टिमिडिया टचस्क्रिन, १०.२५ इन्च डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, टेलिमेटिक्स प्रणाली, भ्वाइस कन्ट्रोल तथा ५० वाटको वायरलेस मोबाइल चार्जरजस्ता सुविधा समावेश छन् । साथै, ९ स्पिकरयुक्त अडियो प्रणालीले मनोरञ्जन अनुभव थप स्तरीय बनाएको छ ।
सुरक्षा दृष्टिले गाडीमा ७ एयरब्याग, एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा तथा हिल स्टार्ट असिस्ट र हिल डिसेन्ट कन्ट्रोल उपलब्ध छन् ।

उच्च संस्करणमा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएस) अन्तर्गत इन्टेलिजेन्ट एडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ असिस्ट, लेन चेन्ज असिस्ट, डोर ओपन वार्निङ, फ्रन्ट तथा रियर क्रस ट्राफिक असिस्ट, एक्टिभ स्टेयरिङ तथा इन्टेलिजेन्ट कर्नरिङ जस्ता सुविधा पनि दिइएको छ ।
अटो पार्किङ असिस्ट तथा स्वचालित पार्किङ प्रणाली समेत उपलब्ध छ । यसले समानान्तर, ठाडो तथा कोणीय पार्किङ स्वत: गर्न सक्ने क्षमता राख्छ, जसले नयाँ चालकलाई विशेष सहजता प्रदान गर्छ ।

४ हजार ४ सय ७१ मिलिमिटर लम्बाइ, १ हजार ८ सय ३३ मिलिमिटर चौडाइ र १ हजार ६ सय ४१ मिलिमिटर उचाइ रहेको ओरा ५ को ह्विलबेस २ हजार ७ सय २० मिलिमिटर छ । पाँच यात्रु अट्ने यो इलेक्ट्रिक एसयूभी हरियो, कालो, सेतो, एश ग्रे, म्याट ग्रे, रातो र निलो रङमा उपलब्ध छ ।
आकर्षक डिजाइन, लामो रेन्ज, स्मार्ट कनेक्टिभिटी र उन्नत सुरक्षा सुविधा संयोजनका कारण ओरा ५ नेपाली विद्युतीय सवारी बजारमा बलियो विकल्प बन्न सक्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरूले ओरा ५ को डिजाइन, आरामदायी सवारी अनुभव, राम्रो इन्टेरियर गुणस्तर तथा सुरक्षा सुविधाको प्रशंसा गर्दै आएका छन् ।
यसको डिजाइन, स्मार्ट फिचर र सुरक्षा प्याकेजले प्रतिस्पर्धी विद्युतीय गाडीमाझ अलग पहिचान स्थापित गरेको छ ।




प्रतिक्रिया 4