१४ असार, रोल्पा । रोल्पामा पछिल्लो चार दिनमा चारवट भरुवा बन्दुक फेला परेको छ । विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।
पछिल्लो समय गत बुधबार रोल्पा सुनिलस्मृति गाउँपालिका-६ गरगरे स्थित सल्लेरी पाखा सामुदायिक वनमा २ वटा भरुवा बन्दुक फेला परेका थिए ।
रुखको फेदमा एक नाल भएको २ (दुई)वटा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
त्यसपछि शुक्रबार माडी गाउँपालिका-१ भितावाङ स्थित सडकको छेउमा लुकाई छिपाई राखेको अवस्थामा एकनाले भरुवा बन्दुक फेला पर्यो ।
यस्तै, शनिबार पुन: रोल्पा नगरपालिका-४ वाईगाँउ डहरे सामुदायिक वनमा १ नाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक एवम् सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिए । ‘हामीले बन्दुक बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको अवस्थामा फेला परेका हौं’, प्रहरी नायब निरीक्षक नेपालीले भने ।
फेला परेका बन्दुक कानुनी प्रक्रिया मार्फत जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु बताए । ‘कसले किन राखेको भन्ने केही पनि पत्ता लागेको छैन’, डीएसपी बाखुले भने, ‘हामीले ती व्यक्तिहरुको खोजनिती र अनुसन्धान गरिरहेका छौँ ।’
रोल्पामा सशस्त्र युद्धका समयमा राज्यपक्ष र विद्रोही पक्षबीच भएको भिडन्तका कारण अहिले बन्दुकका साथै बमहरु पनि भेटिने गरेका छन् ।
प्रतिक्रिया 4