News Summary
Generated by OK AI. Editorially reviewed.- यो उपन्यास अवैध बाटो हुँदै अमेरिका प्रवेश गर्ने एक नेपाली युवकको संघर्षपूर्ण यथार्थ कथामा आधारित छ।
१५ असार, काठमाडौं । डा. चन्द्र गिरीद्वारा लिखित ‘डङ्की’ (सपनाको कालबाटो) उपन्यासको लोकार्पण गरिएको छ । आइतबार पर्यटन बोर्डको सभा हलमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरिएको हो ।
लेखक डा. चन्द्र गिरी, साहित्यकार कृष्ण धराबासी, अनलाइन खबरका प्रधान सम्पादक वसन्त बस्नेत, लेखिका बिना थिङ र साहित्यकार शंकर गिरी ‘पथिक’ ले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् ।
‘डङ्की’ अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने एक नेपाली युवकको कथा हो । उपन्यासमा अनधिकृत रुपमा अमेरिका प्रवेशपछिको संघर्षको कथालाई रोचक ढङ्गमा प्रस्तुत गरिएको छ । यथार्थपरक कथामा आधारित यो उपन्यासले अवैध बाटो (डङ्की रुट) को यात्रा कति खर्चालु र डरलाग्दो छ भन्ने कुरा छर्लङ्ग पारेको छ ।
समारोहमा वरिष्ठ साहित्यकार धरावासीले यस्तै कथावस्तुमा केही वर्ष अघि आफूले ‘तल्लोबाटो’ नामक उपन्यास लेखेको स्मरण गर्दै ‘डङ्की’ अझ उत्कृष्ट र आधिकारिक भएको धारणा राखेका थिए ।
समारोहका अर्का वक्ता वसन्त बस्नेतले अमेरिका जस्तो विशाल र समृद्ध मुलुकमा डा. गिरीले आर्जन गर्नुभएको प्रतिष्ठाप्रति सम्पूर्ण नेपालीले गर्व गर्नुपर्ने धारणा राखे ।
वक्ता बिना थिङले पनि उपन्यासको प्रशंसा गर्दै यसले हाम्रो समाजलाई धेरै प्रकारका प्रश्नहरु तेर्स्याएको बताइन् ।
यस उपन्यासका लेखक डा. चन्द्र गिरीको जन्म खोटाङ जिल्लाको चिमचिमामा भएको हो । वातावरण क्षेत्रका विश्वप्रसिद्ध अमेरिकी वैज्ञानिक डा. गिरी मेन्ग्रोभ नक्साङ्कन तथा अनुगमनका अगुवाका रुपमा परिचित छन् ।
नेपालको सरकारी सेवाबाट आफ्नो पेसागत यात्रा सुरु गरेका उनले थाइल्याण्डस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप), कोलम्बिया युनिभर्सिटी, नर्थ क्यारोलाइना स्टेट युनिभर्सिटी, साउथ डकोटा स्टेट युनिभर्सिटी तथा युनाइटेड स्टेट्स जिओलोजिकल सर्भे (युएसजीएस) जस्ता अन्तर्राष्ट्रिय प्रतिष्ठानमा कार्य गरिसकेका छन् ।
दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका उनले विश्वका १२६ भन्दा बढी देशको भ्रमण गरेका छन् । उपन्यास बुकहिल पब्लिकेन प्रकाशन गरेको हो ।
प्रतिक्रिया 4