१५ असार, गुल्मी । धान रोपाइँको मुख्य समयमा पनि वर्षा नहुँदा गुल्मी जिल्लामा मध्य असारसम्म जम्मा ७ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । लामो खडेरीका कारण किसानले रोपाइँ गर्न नसकेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
जिल्लामा सामान्यतया जेठको अन्तिम सातादेखि धान रोपाइँ सुरु भई साउनको अन्तिम सातासम्म बर्खे धान रोप्ने गरिन्छ । तर यस वर्ष पर्याप्त वर्षा नहुँदा धेरै स्थानमा किसानले धानको ब्याडसमेत तयार गर्न सकेका छैनन् ।

यसको प्रत्यक्ष असर रोपाइँको प्रगतिमा परेको कृषि ज्ञान केन्द्रको भनाइ छ । मध्य असारमा मानो रोपेर मुरी उब्जाउ किसान खेतबारीमा व्यस्त हुने समय भए पनि प्रतिकूल मौसमका कारण उनीहरू चिन्तित बनेका छन् ।
समयमै वर्षा नहुँदा उत्पादन घट्ने र खाद्य सुरक्षामै असर पर्ने जोखिम बढेको किसानहरूको गुनासो छ । जिल्लामा कूल ९ हजार १५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
त्यसमध्ये ७ हजार ४३९ हेक्टरमा बर्खे धान तथा ३१९ हेक्टरमा चैते धान खेती हुँदै आएको छ । गुल्मीमा रामधान, खुमल–४, खुमल–६, खुमल–८, खुमल–१०, हंसराज, मकवानपुर–१, हर्दिनाथ, आँपझोते, जडन र लामे लगायतका स्थानीय तथा उन्नत जातका धान खेती गरिन्छ ।

त्यस्तै, च्याम्पियन, शंकर र उपज जस्ता हाइब्रिड जात पनि किसानले लगाउने गरेका छन् ।
गुल्मीमा सिंचाइको अवस्था पनि चुनौतीपूर्ण छ । जिल्लामा ३ हजार ६२६ हेक्टर क्षेत्रफलमा मात्रै वर्षभरि सिंचाइ सुविधा उपलब्ध छ भने ६ हजार ६९० हेक्टर क्षेत्रफलमा आंशिक सिंचाइको व्यवस्था रहेको छ । अधिकांश किसान अझै पनि वर्षामा निर्भर रहेकाले खडेरीले धान उत्पादनमा गम्भीर असर पार्ने देखिएको छ ।
कतिपय स्थानका किसानले राखेको धानको बीउ ब्याडमै सुक्न थालेको छ । यसले गर्दा पछिल्लो समय धान रोप्ने किसानहरूसमेत घट्दै जान थालेका हुन् ।
समयमै वर्षात नहुँदा धानको बीउ छिप्पिँदै गएको रेसुङ्गा–४ भोजेन्द्र भण्डारीले बताए । उनले पछिल्लो समय समयमै पानी नपर्ने गर्नाले धान रोप्ने किसानहरूसमेत घट्दै गएको बताए ।

कृषि ज्ञान केन्द्रले समयमै पर्याप्त वर्षा भए बाँकी क्षेत्रमा रोपाइँले गति लिने अपेक्षा गरेको छ । तर वर्षा ढिलो भए उत्पादनमा उल्लेखनीय गिरावट आउन सक्ने भन्दै किसानलाई उपलब्ध सिंचाइ स्रोतको अधिकतम उपयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया 4