News Summary
Generated by OK AI. Editorially reviewed.- ब्राजिलले फिफा विश्वकप २०२६ को तयारीका लागि आफ्ना खेलाडीको जर्सीभित्र जीपीएस ट्र्याकिङ र सेन्सरयुक्त स्मार्ट भेस्टको प्रयोगलाई रणनीतिक हतियार बनाएको छ।
- यी स्मार्ट भेस्टले खेलाडीको शारीरिक अवस्था, थकानको स्तर र मैदानभित्रको गतिविधिसम्बन्धी वास्तविक समयको तथ्यांक प्रदान गरी प्रशिक्षकहरूलाई वैज्ञानिक निर्णय लिन सघाउँछन्।
- विभिन्न क्लबमा आबद्ध खेलाडीहरूको प्रदर्शन तथ्यांकलाई एकीकृत गर्न ब्राजिलले आफ्नो फुटबल संरचनामा प्रविधिको गहिरो प्रयोग गर्दै भविष्यको फुटबललाई आत्मसाथ गरेको छ।
ब्राजिलको जर्सी भन्नेबित्तिकै दिमागमा के आउँछ ?
धेरैका लागि पहिलो चित्र हुन्छ, पहेंलो रङ, हरियो बोडर र मैदानमा दौडिरहेको खेलाडीको झलक । त्यो जर्सी सधैं भावना, पहिचान र फुटबलको जादूसँग जोडिएको हुन्छ ।
तर अब त्यो पुरानो चित्र मात्रै पर्याप्त छैन । दिमागमा अर्को नयाँ कुरा पनि फिट गर्नुपर्ने बेला आएको छ, ट्रयाकर ।
फिफा विश्वकप २०२६ मा मैदानमा उत्रिँदा ब्राजिल राष्ट्रिय फुटबल टीमका खेलाडीले जर्सीमात्र लगाउँदैनन् । त्यसको भित्री तहमा जीपीएस ट्रयाकिङ भेस्ट पनि लगाउँछन् ।
यो प्रणालीले खेलाडीको शरीरलाई लगातार पढिरहेको हुन्छ । कति दौडियो ? कति छिटो दौडियो ? कहिले थाक्यो ? र, कहिले उसको शरीर सीमामा पुग्न थाल्यो भन्ने समेत अनुमान गर्छ ।
‘स्मार्ट शरीर’
यो भेस्टभित्र जीपीएस ट्रयाकरसँगै मोसन सेन्सर, एक्सेलेरोमिटर र मुटुको गति मापन गर्ने जस्ता उपकरणहरू हुन्छन् ।
यी उपकरणहरूले खेलाडीलाई रोक्दैनन्, तर उसको शरीरको हरेक गतिविधि रेकर्ड गर्छन् ।
खेलाडी कहाँ छ, कति छिटो दौडिरहेको छ, कति पटक दिशा बदलिरहेको छ, कति पटक स्प्रिन्ट गर्यो । यी सबै कुरा सेकेन्ड–सेकेन्डमा डेटा बनेर प्रशिक्षकको स्क्रिनमा पुग्छ ।
कहिलेकाहीँ खेलाडी बाहिरबाट फिट देखिन्छ, तर उसको शरीर थकानको सीमामा पुगिसकेको हुन्छ ।
कहिलेकाहीँ उल्टो हुन्छ, कम दौडिएको खेलाडी नै रणनीतिक रूपमा सबैभन्दा प्रभावकारी हुन्छ ।
पहिला फ्यान र प्रशिक्षकले खेलाडीको अनुहार हेरेर मात्र अनुमान गर्थे । तर अहिले यसले प्रशिक्षकलाई अनुमान होइन, प्रमाण दिन्छ ।
ब्राजिलले किन खेलभन्दा बढी खेलाडीको गतिविधि प्रति यति गम्भीर बन्यो ?
ट्रयाकिङ प्रविधि अब नयाँ कुरा होइन, तर यसको गहिरो प्रयोगले ब्राजिललाई फरक बनाएको छ ।
ब्राजिलले यसलाई केवल प्रशिक्षणमा होइन, सम्पूर्ण फुटबल संरचनामा जोडेको छ, पुरुष, महिला र युवा सबै स्तरमा ।
ब्राजिलभरका धेरै व्यावसायिक खेलाडीहरूले प्रशिक्षण र खेलमा सेन्सरयुक्त स्मार्ट भेस्ट लगाउँछन् ।
यी भेस्टले खेलाडीको चाल, पुनःस्थापना क्षमता र शारीरिक तनावको विस्तृत जानकारी दिन्छन् ।
यसले प्रशिक्षक समूहलाई खेलाडीको वास्तविक अवस्था बुझ्न मद्दत गर्छ । कसले कति काम गरिरहेको छ, कसको शरीर कति भारमा छ, र को उत्कृष्ट क्षमताको नजिक छ ।
बीबीसी फ्युचरको एक रिपोर्टअनुसार, ब्राजिलले ‘स्मार्ट भेस्ट’ प्रयोगलाई विश्वकप सफलताको रणनीतिक हिस्सा बनाएको छ ।
त्यहाँका प्रदर्शन विज्ञहरूका अनुसार प्रशिक्षकहरूले खेलाडीलाई केवल थकानको आधारमा होइन, स्थान र निर्णय क्षमता अनुसार पनि मूल्याङ्कन गर्छन् ।
डेटा प्रयोगले खेलाडीलाई गलत रूपमा कम प्रदर्शन गर्ने भनेर बुझिने जोखिम पनि हुन्छ । तर सही प्रयोग गर्दा यसले सही समयमा सही खेलाडी छनोट गर्न ठूलो मद्दत गर्छ ।
क्लब र राष्ट्रिय टिमबीचको डेटा सञ्जाल
ब्राजिलका अधिकांश खेलाडीहरू विश्वका विभिन्न क्लब र लिगमा खेल्छन् । कोही स्पेनमा छन्, कोही इङ्ग्ल्यान्डमा, कोही इटालीमा, त कोही फ्रान्समा ।
राष्ट्रिय टोलीसँग उनीहरू वर्षभरि बस्दैनन् । अन्तर्राष्ट्रिय खेलअघि केही दिन मात्रै सबै एकै ठाउँमा भेला हुन्छन् । त्यसैले, राष्ट्रिय टिमसँग उनीहरूको समय सीमित हुन्छ ।
यही कारण ब्राजिलले जीपीएस ट्र्याकिङलाई आफ्नो रणनीतिक हतियार बनाएको हो । जीपीएस डेटा एउटा ‘पुल’ जस्तै बनेको छ ।
क्लबहरूले संकलन गरेको खेलाडीको प्रदर्शनसम्बन्धी तथ्यांक नियमित रूपमा राष्ट्रिय टोलीलाई पठाउँछन् ।
यसले प्रशिक्षकहरूलाई हजारौँ किलोमिटर टाढा रहेका खेलाडीलाई पनि निगरानी गर्न सम्भव बनाउँछ ।
ब्राजिलका खेल विज्ञान प्रमुख गुइल्हेर्मे पासोस भन्छन्, ‘जब हामी खेलाडीहरूसँग हुँदैनौं, हामी क्लबहरूसँग निरन्तर सम्पर्कमा हुन्छौं । उनीहरूले ट्र्याकिङ डेटा पठाउँछन्, जसले हामीलाई खेलाडीको अवस्था बुझ्न मद्दत गर्छ ।’
प्रश्न उठ्छ, यदि यो प्रविधि यति उपयोगी छ भने सबै देशले किन समान रूपमा अपनाएका छैनन् ?
जीपीएस ट्र्याकिङ र स्मार्ट भेस्ट अब विश्व फुटबलमा नयाँ कुरा होइन, तर यसको प्रयोग गर्ने गहिराइ भने फरक छ । केही देशहरू र क्लबहरूका लागि यो खेलाडीको प्रदर्शन सुधार्ने वैज्ञानिक आधार हो, तर केहीका लागि अझै पनि यो ‘अत्यधिक नियन्त्रण’ र ‘अत्यधिक डाटामा निर्भरता’ जस्तो लाग्छ ।
फुटबलको परम्परागत सोच अझै पनि धेरै ठाउँमा बलियो छ । जहाँ खेललाई अन्तः प्रेरणा, रचनात्मकता र मानव निर्णयमा आधारित मानिन्छ ।
त्यहाँ धेरै डाटाले खेलाडीको स्वतन्त्रता र प्राकृतिक प्रवाह घटाउन सक्छ भन्ने डर रहन्छ ।
अर्कोतर्फ, आर्थिक र संरचनागत कारण पनि ठूलो हो । जीपीएस भेस्ट मात्र होइन, त्यसको डाटा विश्लेषण गर्न चाहिने खेल विज्ञान टोली, प्रविधि संरचना र निरन्तर अनुगमन प्रणाली सबै देशसँग समान रूपमा उपलब्ध छैन । यसले गर्दा केही टिमहरू अझै सीमित प्रयोगमै अड्किएका छन् ।
त्यसैले, वास्तविकता सरल छ । समस्या प्रविधिको उपलब्धता होइन, त्यसलाई अपनाउने मानसिकता र क्षमता हो ।
पहेँलो जर्सी एउटा हारदेखि प्रविधिसम्म
आज विश्वभर चर्चित ब्राजिलको पहेंलो जर्सी सुरुदेखि भने यही रङको थिएन ।
सन् १९५० को विश्वकप फाइनलमा घरेलु मैदान मर्कानास्टाडीयम मा उरुग्वेसँग अप्रत्याशित हार बेहोरेपछि ब्राजिल शोकमा डुब्यो ।
त्यतिबेला टोलीले सेतो जर्सी लगाएको थियो। त्यो हारलाई ब्राजिलको फुटबल इतिहासमा ‘माराकानास’ भनेर चिनिन्छ ।
त्यसपछि सेतो जर्सीलाई हटाएर नयाँ राष्ट्रिय पहिचान खोज्ने निर्णय गरियो । देशव्यापी डिजाइन प्रतियोगिताबाट पहेंलो जर्सी, हरियो किनारा र नीलो सर्ट्स भएको नयाँ पोशाक छनोट गरियो ।
यही जर्सीले पछि पेले, रोमारिया र रोनाल्डो जस्ता खेलाडीको सफलताको कथा बोकेको छ ।
समयसँगै धेरै कुरा फेरिए । खेल्ने शैली फेरियो, प्रशिक्षण फेरियो, खेल विज्ञान फेरियो । अहिले त्यही पहेंलो जर्सीभित्र जीपीएस ट्रयाकर, सेन्सर र तथ्यांक विश्लेषण गर्ने प्रविधि लुकेको छ ।
सन् १९५० को हारपछि ब्राजिलले आफ्नो जर्सीको रङ बदल्यो ।
झन्डै सात दशकपछि फेरि त्यही जर्सी अर्को परिवर्तनको साक्षी बनिरहेको छ । यसपटक परिवर्तन रङमा होइन, प्रविधिमा छ ।
सायद यही कारण ब्राजिलको पहेंलो जर्सी आज पनि संसारकै सबैभन्दा चर्चित फुटबल जर्सीमध्ये एक हो । किनभने त्यसले केवल पाँच पटकको विश्वविजेताको इतिहास बोकेको छैन, भविष्यको फुटबल पनि बोकेको छ ।
प्रतिक्रिया 4