+
+
Shares

सजीवन खेती अभियान चलाउँदै चन्द्रनगर गाउँपालिका

गाउँपालिकाले नि:शुल्क बिरुवा वितरण र खेती विस्तारका लागि हौसल्ला प्रदान गरेपछि सजीवन खेती गर्ने किसान बढ्न थालेका छन् ।

अमलेश शर्मा अमलेश शर्मा
२०८३ असार २३ गते १८:१७

२३ असार, सर्लाही । बहुगुणी वनस्पती सजीवन (मोरिंगा) खेती विस्तारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अभियान नै सञ्चालन गरिएको छ ।

गाउँपालिकाले नि:शुल्क बिरुवा वितरण र खेती विस्तारका लागि हौसल्ला प्रदान गरेपछि सजीवन खेती गर्ने किसान बढ्न थालेका छन् ।

चन्द्रनगर गाउँपालिका–१ किसनपुरका किसान लालबाबु रामले गाउँपालिकाबाट अभियान सञ्चालन भएपछि आफूले पनि सजीवनको व्यावसायिक खेती सुरु गरेको बताए ।

आफूले सेवन गर्दा स्वास्थ्यका लागि फाइदा हुने र ठूलो क्षेत्रफलमा खेती गर्न सके आम्दानीको स्रोतसमेत बन्ने देखेर थोरै जग्गामा लगाएर भए पनि सजीवन खेती सुरु गरेको रामले बताएका छन् ।

‘गाउँपालिकाले नि:शुल्क बिरुवा दियो । मैले सुरुमा डेढ धुर जग्गामा सजीवन लगाएको छु,’ रामले भने, ‘आगामी दिनमा थप खेती विस्तार गर्ने सोच बनाएको छु ।’

नि:शुल्क प्राप्त गरेको बिरुवा भर्खरै खेतमा लगेर रोपेको रामले जानकारी दिए । चन्द्रनगर गाउँपालिका–६ गोसबरियाका सुवोधकुमार कर्णले गाउँपालिकाबाटै सजीवनको बिरुवा लगेर ३०० बढी बोट हुर्काइसकेका छन् ।

आफूले समेत सजीवनको पातको धुलो बनाएर सेवन गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव देखिएको कर्णले बताए । ‘सजीवनको पातबाट बनाइएको धुलो नियमित सेवन गर्दा तौल समेत नियन्त्रणमा राख्ने रहेछ,’ कर्णले भने, ‘आफ्नै जीवनमा प्रयोग गर्दा उपयोगी देखिएपछि सजीवन खेतीप्रति थप आकर्षित गरेको छ ।’

सजीवनको पातबाट पाउडर बनाएर बेच्दा गाउँघरमा धेरथोर आम्दानी पनि गर्न सुरु गरेको कर्णले बताएका छन् । किसानले उत्पादन गरेको सजीवनको बजारीकरणमा सहयोग पुगे राम्रो आम्दानी हुने उनको भनाइ छ ।

शिक्षण पेसासँगै सजीवन खेतीमा लागेका कर्णले गाउँपालिकाबाट भर्खरै आयोजित नेपालमै पहिलो सजीवन सम्मेलनबाट यसको खेतीबाट थप विषयवस्तु बुझ्न पाएको बताए । उनले भने, ‘सजीवन खेतीबारे राम्रोसँग ज्ञान पाइयो । अब उत्पादनको बजारीकरणका लागि पनि गाउँपालिकाले पहल गर्न जरुरी छ ।’

सजीवन खेतीका अभियन्ता एवं मोरिंगा बाबाको उपनामले परिचित हेमन्तराज काफ्ले आफूलाई लामो समयसम्म औषधि सेवन गर्दा पनि जण्डिस निको नभएपछि सजीवनको पात खाएपछि रोग निको भएको अनुभव सुनाउँछन् । सजीवनको नियमित सेवनले आफ्नो स्वास्थ्य तन्दुरुस्त रहेको काफ्लेको भनाइ छ ।

उनले चन्द्रनगर गाउँपालिकाले झैँ देशभरका ७५३ वटै पालिकाले सजीवन खेतीको प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् । ‘सजीवन खेती हिमाल, पहाड, तराई सबैतिर गर्न सकिन्छ । त्यसैले चन्द्रनगर गाउँपालिकाकै झैँ अन्य पालिकाले पनि यो खेतीलाई प्राथमिकता दिन आवश्यक छ,’ काफ्लेले भने, ‘सजीवनको महत्व र गुणबारे आम नागरिकलाई बुझाउन सकियो भने धेरै फलदायी हुन्छ ।’

काफ्ले सजीवनलाई चमत्कारिक बिरुवाको रूपमा चिन्छन् । यसले ३०० भन्दा बढी रोगमा औषधिको काम गर्ने आफूले अभियानको सिलसिलामा थाहा पाएको उनले बताए ।

चन्द्रनगर गाउँपालिकाले असार १३ र १४ गते आयोजना गरेको नेपाल सजीवन सम्मेलनमा ७ वटै प्रदेशबाट विद्यार्थी, किसान, व्यवसायी र सजीवन खेतीका अभियन्ता सहभागी भएका थिए ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले २०७९ मा निर्वाचित भएर आएदेखि अन्य कामसँगै विशेष र फरक किसिमले ‘चन्द्रनगर सजीवन क्रान्ति’ अभियान सुरु गरिएको बताए ।

आफूहरू निर्वाचित भएर आएपछि पहिलो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटदेखि नै यस अभियानलाई प्राथमिकता दिएको उनले बताए । हरित अर्थतन्त्र र रोजगारी सिर्जना गर्न सजीवन क्रान्ति अभियान सुरु गरिएको उनको भनाइ छ ।

वैज्ञानिक प्रमाणका आधारमा ३०० बढी रोगको रोकथाम र उपचार पत्ता लागेकाले पनि आफूहरूलाई सजीवन क्रान्ति अभियानप्रति आकर्षित गरेको गाउँपालिका अध्यक्ष महतोले बताए ।

‘पहिलो त मानिसलाई स्वस्थ राख्ने र अर्को परिवार, समाज र देशलाई आर्थिक रूपमा समृद्ध बनाउने भएकाले गाउँपालिकाका स्थानीयलाई सजीवन खेतीप्रति आकर्षित बनाएका हौँ,’ उनले भने, ‘धेरै हदसम्म हाम्रो अभियान सफल भएको छ ।’

लेखक
अमलेश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?