२५ असार, काठमाडौं । पर्साको ठोरी भन्सार हुँदै प्रवेश गर्ने भारतीय सवारीलाई अस्थायी पासको व्यवस्था गरिएको छ । भारतीय सवारी आवागमनमा निषेध गरेसँगै त्यहाँको पर्यटन व्यवसायमै असर पुगेको विषयमा सरकारको आलोचना भएपछि सरकारले आफ्नो निर्णयमा पुनर्विचार गरेको हो ।
वीरगञ्ज भन्सार कार्यालयले असार २३ गतेदेखि ठोरीमा रहेको छोटी भन्सार कार्यालयमा दुई जना कर्मचारी खटाएको छ । वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृतसमेत रहेका सूचना अधिकारी उदयसिंह विष्टले ठोरी भन्सारमा एक जना सुब्बा तहका कर्मचारी र अर्का एक जना कार्यालय सहयोगी गरी दुई जना खटाइएको जानकारी दिए ।
भारतीय सवारीलाई अहिले ठोरीबाटै नि:शुल्क अस्थायी पास उपलब्ध गराउने व्यवस्था मिलाइएको उनको भनाइ छ । उक्त अस्थायी पासले ठोरी क्षेत्रमा मात्रै सवारी सञ्चालन गर्न पाइन्छ ।
असार १९ गतेदेखि ठोरीमा सशस्त्र प्रहरीले `माथिको आदेश´ भन्दै भारतीय पर्यटकका सवारीसाधनलाई नेपाल प्रवेशमा रोक लगाएको थियो। सो अवस्थापछि ठोरीका स्थानीय पर्यटन व्यवसायीहरूले विरोध जनाएका थिए। उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई निर्णय सच्याउन भन्दै ज्ञापनपत्र पनि बुझाएका थिए।
यसबारे प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद सीता थपलियाले सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
प्रतिक्रिया 4