+
+
Shares

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन, समस्या परे फोन गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन मन्त्रालयसँगको समन्वयमा ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ ।
  • ग्यासको अभाव वा वितरणमा अवरोध देखिएमा हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी तत्काल समाधानका लागि गुनासो टिपाउन सकिनेछ ।
  • यो टिमले उद्योग विभाग र ग्यास व्यवसायीहरूसँग समन्वय गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने कार्य गर्नेछ ।

२० साउन, काठमाडौं । उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठित यो टिमले आजैदेखि आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको निगमले जनाएको छ ।

ग्यास आपूर्तिमा देखिने तत्कालीन समस्याहरूलाई तत्काल समाधान गर्न मन्त्रालय, आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित यो विशेष संयन्त्र बनाइएको हो ।

क्विक रेस्पोन्स टिममा उद्योग मन्त्रालयका तर्फबाट मंगल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगीका तर्फबाट आयुष नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन् ।

देशका कुनै पनि स्थानमा एलपी ग्यासको अभाव वा वितरणमा अवरोध देखिएमा यो टिमले तत्काल समन्वय गरी समाधान गर्ने मुख्य उद्देश्य राखेको जनाएको छ ।

निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास पुर्‍याउने व्यवस्था मिलाइने निगमले जनाएको छ ।

पछिल्लो समय बजारमा ग्यास अभाव भएर उपभोक्ता कामकाज छोडेर लाइन लाग्न बाध्य भएका छन् । यही समस्या सम्बोधन गर्न यो संयन्त्र क्रियाशील बनाइएको हो । टिमले कार्यालय समयभित्र प्राप्त हुने गुनासोहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्दै तत्काल निकास दिने गरी कार्यविधि तय गरेको छ ।

ग्यास आपूर्ति सम्बन्धी कुनै समस्या वा गुनासो भएमा उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन् ।

उक्त नम्बरमा प्राप्त हुने जानकारीका आधारमा क्विक रेस्पोन्स टिमले आवश्यक पहल गरी आपूर्ति सहज बनाउने निगमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?