+
+
Shares

वालिङमा कृषि एम्बुलेन्स, किसानलाई राहत

स्याङ्जाको वालिङ नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै किसानलाई राहत भएको छ ।

रामबहादुर रोकाहा रामबहादुर रोकाहा
२०८३ साउन २० गते १७:२४

२० साउन, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै किसानलाई राहत भएको छ । कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै किसानले उत्पादन गरेका तरकारी तथा कृषि उपज बिक्री गर्न बजार धाउनुपर्ने अवस्था हटेपछि किसानलाई राहत भएको हो ।

नगरपालिकाले वालिङ नगरपालिका–१ स्थित त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । सहकारीले उक्त एम्बुलेन्सलाई किसानका उत्पादनलाई घरदैलोबाटै संकलन गरी बजारसम्म पुर्‍याउनेगरी काम सुरु गरेको छ ।

वालिङ नगरपालिका र केही सामाजिक संस्थाको सहकार्यमा ३२ लाख ९० हजार रुपैयाँ लागतमा कृषि एम्बुलेन्स खरिद गरिएको हो । जसमा नगरपालिकाले १८ लाख ९० हजार रुपैयाँ र दातृ संस्थाले १४ लाख रुपैयाँ लागत बेहारेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कृषि उत्पादनको संकलन, ढुवानी, भण्डारण र बजारीकरणलाई आधुनिक तथा व्यवस्थित बनाउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार किसानलाई उत्पादन बजारसम्म पुर्‍याउन सहज बनाउँदै कृषि व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको छ ।

हाल त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारीमार्फत दैनिक करिब ५० क्विन्टल तरकारी संकलन हुँदै आएको छ । कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि किसानको घरबाटै तरकारी उठाइने भएकाले ढुवानी खर्च घट्ने, समय बचत हुने र ताजा उत्पादन बजारसम्म छिटो पुग्ने अपेक्षा गरिएको छ ।

सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले ढुवानी अभावका कारण किसानले वर्षौंदेखि भोग्दै आएको समस्या अब समाधान हुने विश्वास व्यक्त गरे । उनले पहिले पर्याप्त सवारी नहुँदा धेरै तरकारी खेतमै कुहिने वा बजारसम्म पुर्‍याउन कठिन हुने गरेको स्मरण गर्दै अब पोखरा र बुटवलसम्म नियमित रूपमा तरकारी ढुवानी गर्न सकिने अवस्था बनेको बताए ।

वालिङ नगरपालिकाले तरकारी उत्पादनलाई प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुका साथै उत्पादनका आधारमा प्रतिकिलो पाँच रुपैयाँ अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षको ११ महिनामा मात्रै किसानलाई सात लाख ९१ हजार ३ सय ४२ रुपैयाँ नगद अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?