+

त्रुटि स्वीकार्दै फिफा अध्यक्ष इन्फान्टिनोले माफी मागे, नेतृत्वमा कायमै रहने

२०८३ साउन  २१ गते १२:१६ २०८३ साउन २१ गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपमा निजी लगानी भित्र्याउने विवादास्पद योजनामा भएको त्रुटि स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेका छन्।
  • फिफाको व्यवस्थापन बोर्डले मोरक्कोको रबाटमा बसेको बैठकपछि अध्यक्ष इन्फान्टिनोलाई आफ्नो पूर्ण समर्थन रहेको निर्णय गरेका छन्।
  • फिफाले सन् २०३० विश्वकपको फाइनल मोरक्कोमा आयोजना गर्ने सम्बन्धमा आएका समाचारहरू भ्रामक र गलत भएको भन्दै खण्डन गरेको छ।

२१ साउन, काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपलगायतका प्रतियोगितामा निजी लगानी भित्र्याउने विवादास्पद योजनामा भएको त्रुटि स्वीकार गर्दै माफी मागेका छन् ।

यद्यपी फिफाका वरिष्ठ पदाधिकारीहरूले उनको नेतृत्वलाई निरन्तर समर्थन जनाएका छन् ।

बुधबार मोरक्कोको रबाटस्थित फिफाको अफ्रिका कार्यालयमा बसेको व्यवस्थापन बोर्डको बैठकपछि फिफाले इन्फान्टिनोलाई पूर्ण समर्थन रहेको जनाएको हो ।

यसअघि युरोपेली फुटबल महासंघ (यूईएफए) ले निजी लगानीसम्बन्धी प्रस्तावलाई ‘अपारदर्शी र बन्द कोठामा गरिएको सम्झौता’ भन्दै इन्फान्टिनोमाथिको विश्वास गुमाएको जनाएको थियो ।

फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले पनि आन्तरिक सर्कुलरमार्फत घटनालाई ‘दुःखद र निन्दनीय’ भनेका थिए । तर बैठकपछि ग्राफस्ट्रोम र व्यवस्थापन बोर्डले संयुक्त रूपमा इन्फान्टिनोलाई अध्यक्षका रूपमा पूर्ण समर्थन गर्ने निर्णय गरेका छन् ।

इन्फान्टिनो र ग्राफस्ट्रोमले फिफाका उपाध्यक्ष, परिषद् सदस्य तथा २११ सदस्य राष्ट्रलाई संयुक्त पत्र पठाउँदै आफूहरूबाट भएका त्रुटिप्रति इमान्दारीपूर्वक माफी मागेका छन् । साथै भविष्यमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

इन्फान्टिनोले नयाँ सहायक कम्पनी फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) मार्फत पुरुष र महिला विश्वकपसहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव अघि सारेका थिए । प्रस्तावलाई समर्थन गरे प्रत्येक सदस्य राष्ट्रलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराइने योजना पनि सार्वजनिक भएको थियो ।

फिफाले बैठकमा उक्त प्रक्रियामा सदस्य राष्ट्र र फिफा परिषद्लाई पर्याप्त रूपमा सहभागी नगराइनु गल्ती भएको स्वीकार गरेको छ। साथै योजना सार्वजनिक भएपछि त्यसको व्यवस्थापनमा पनि कमजोरी भएको जनाएको छ ।

यद्यपी फिफाले आफ्नो सुशासन र संस्थागत विश्वसनीयतामाथि हुने आक्रमण सहन नसकिने चेतावनी दिँदै संस्थाको प्रतिष्ठा जोगाउन आवश्यक कदम चालिने जनाएको छ ।

यसैबीच फिफाले मोरक्कोलाई समर्थनको बदलामा सन् २०३० विश्वकपको फाइनल आयोजना गर्ने आश्वासन दिएको भन्ने समाचारलाई पनि अस्वीकार गरेको छ ।

फिफाले त्यसलाई ‘भ्रामक र गलत’ दाबी गर्दै फाइनलको आयोजना स्थल उपयुक्त समयमा तय गरिने जनाएको छ ।

-बीबीसीबाट

जियानी इन्फान्टिनो फिफा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय