+

एएफसी यू-२० एसियन कप छनोटबाट नेपालको नाम हट्यो

२०८३ साउन  २१ गते १५:१९ २०८३ साउन २१ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफाको निलम्बनका कारण नेपालको यू-२० फुटबल टोलीले एएफसी यू-२० एसियन कप छनोट प्रतियोगिता गुमाउने भएको छ ।
  • एन्फामाथिको निलम्बन अगष्ट १ सम्म फुकुवा नभएकाले एएफसीले नेपालको नाम छनोट खेलको तालिकाबाट हटाएको छ ।
  • फिफा निलम्बनले गर्दा नेपालले यसअघि नै एएफसी महिला च्याम्पियन्स लिग र यू-१७ महिला एसियन कप छनोट प्रतियोगिता पनि गुमाइसकेको छ ।

२१ साउन, काठमाडौं । पछिल्ला दिनमा फिफा निलम्बनको असर नेपाली फुटबलमा प्रष्ट रूपमा देखिएको छ । निलम्बनको पछिल्लो शिकार नेपालको उमेर समुहको फुटबल टोली बनेको छ ।

फिफा निलम्बनका लागि यही अगष्ट अन्तिम देखि सुरु हुने एएफसी यू-२० एसियन कप छनोटबाट नेपालको नाम हटेको छ । छनोटमा नेपाल डेपलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो ।

अब नेपालले यू-२० एसियन कप छनोट खेल्न पाउने छैन । यस छनोट प्रतियोगिता खेल्न अखिल नेपाल फुटबल संघ (एन्फा) माथि फिफाले लगाएको निलम्बन अगष्ट १ तारिखसम्म फुकुवा भइसक्नुपर्ने थियो ।

एएफसीले २७ जुनमै एन्फालाई पत्र पठाउँदै अगष्ट १ सम्म फिफाको निलम्बन फुकुवा भइसके मात्र नेपालले खेल्न पाउने अन्यथा नपाउने जानकारी गराएको थियो ।

तर निलम्बन कायम रहेको अवस्थामा अब नेपालले यू-२० एसियन कप छनोट खेल्न नपाउने भएको हो ।

सन् २०२७ मार्च-अप्रिलमा चीनमा हुने यस यू-२० एसियन कपका लागि यसअघि सार्वजनिक भएको ड्र मा नेपाल डेपलपमेन्ट फेजमा समूह आईमा थियो । यस समूहमा नेपालसँगै आयोजक मंगोलिया, ग्वाम र नर्दन मारिया आइल्यान्ड समावेश थिए । नेपालले अगष्ट ३१ मा ग्वाम सँग पहिलो खेल खेल्ने तालिका थियो ।

तर एएफसीले सार्वजनिक गरेको अपडेटेड ड्र अनुसार नेपालको नाम हटेको छ । यस्तै समूह ए मा रहेको फिलिपिन्सले पनि नखेल्ने भएको छ ।

यसअघि सन् २०२४ मा नेपालले एएफसी यू-२० एसियन कप छनोट खेल्दा समूह बी मा एक खेल जित्दा तीन खेलमा पराजित भएको थियो ।

निलम्बनपछि नेपालले गुमाउने पक्का भएको यू-२० एसियन कप छनोट तेस्रो प्रतियोगिता हो ।

फिफा निलम्बनका कारण नेपालले यसअघि नै एएफसी महिला च्याम्पियन्स लिग र एएफसी यू-१७ महिला एसियन कप छनोट प्रतियोगिता गुमाइसकेको छ ।

यस्तैगरी नोभेम्बर ४ देखि बंगलादेशमा हुने तय भएको साफ च्याम्पियनसिप फुटबलमा पनि नेपालको सहभागिता अन्योलमै छ ।

साफको लागि यसअघि नै ड्र भइसकेको छ र नेपालको नाम ड्र मा समावेश छैन ।

यदि सेप्टेम्बर १ तारिखसम्म नेपालको निलम्बन फुकुवा भएमा मात्र नेपाल साफ च्याम्पियनसिपको लागि समुह ए मा रहनेछ ।

एएफसी यू-२० एसियन कप यू-२० एसियन कप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय