News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका मुख्य सचेतक युवराज दुलालले प्रधानमन्त्रीले संसद् र समितिभन्दा आफूलाई माथि ठान्ने प्रवृत्ति गलत भएको बताए ।
- उनले विद्यालयको पाठ्यक्रममा नैतिक शिक्षाको अभाव रहेको भन्दै नयाँ पुस्तालाई राजनीतिप्रतिको नकारात्मक धारणा हटाउन शिक्षामा सुधार आवश्यक रहेको उल्लेख गरे ।
- राष्ट्रिय सेवा दल विधेयकको छलफलमा उनले किशोर–किशोरीलाई दिइने तालिमको वैज्ञानिकता र सान्दर्भिकतामाथि गम्भीर प्रश्न उठाए ।
२१ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य सचेतक युवराज दुलालले देशको वर्तमान परिस्थिति र नयाँ पुस्तालाई दिइने शिक्षाका सम्बन्धमा चिन्ता व्यक्त गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक’ उपर भएको सैद्धान्तिक छलफलमा उनले चिन्ता व्यक्त गरेका हुन् ।
छलफलका क्रममा नेता दुलालले संसदीय समिति र संसद्मा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई प्रमुखताका साथ उठाए ।
उनले प्रधानमन्त्रीले संसद र समितिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
दुलालले देशको विद्यमान शैक्षिक पाठ्यक्रम र राजनीतिक भाष्यका बारेमा टिप्पणी गर्दै नयाँ पुस्तालाई बुझाउने शैलीमा परिवर्तन आवश्यक रहेको बताए ।
उनले भने, ‘हामीले पटकपटक प्रधानमन्त्रीज्यूलाई संसद र समितिमा खोज्छौँ । समिति र संसदभन्दा आफू माथि रहेको मानसिकता कतै न कतै देखिन्छ, जुन उचित होइन । हाम्रो पाठ्यक्रममा नैतिक शिक्षाको अभाव छ । हामीले नयाँ पुस्तालाई देश कसरी राजनीतिक परिवर्तन, गरिबी र विभेदको अन्धकारबाट आजको अवस्थासम्म आइपुग्यो भन्ने कुरा सिकाउन सकेका छैनौँ । हामीले केवल राजनीति खराब हो, नेताहरू भ्रष्ट हुन् भन्ने नकारात्मक कुरा मात्र सिकाएका छौँ । तर यही राजनीतिले देशलाई अधिकारसम्पन्न र स्वतन्त्र बनाएको यथार्थ बुझाउन चुकेका छौँ ।’
राष्ट्रिय सेवा दलमार्फत किशोर–किशोरीहरूलाई दिइने तालिमको सन्दर्भमा बोल्दै उनले यसको वैज्ञानिकता र सान्दर्भिकतामाथि प्रश्न उठाए । वर्तमान समय र देशको अवस्थालाई मध्यनजर गर्दै यस्तो तालिम कत्तिको जायज र उद्देश्यमूलक हुन्छ भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4