News Summary
Generated by OK AI. Editorially reviewed.- बायर्न म्युनिखका जर्मन मिडफिल्डर जमाल मुसियाला चार दिनमा दोस्रोपटक खेलका क्रममा कोल्याप्स भएका छन्।
- मुसियालाले आफूलाई अस्थायी र छोटो समय रहने ‘एब्सेन्स सिजर’ देखिएको र उपचार भइरहेको सामाजिक सञ्जालमार्फत बताएका छन्।
- बायर्नका खेल निर्देशक म्याक्स एबर्लले क्लबलाई मुसियालाको अवस्थाबारे पहिल्यै जानकारी रहेको बताएका थिए।
३ भदौ, काठमाडौं । बायर्न म्युनिखका जर्मन मिडफिल्डर जमाल मुसियाला खेलका क्रममा चार दिनको अन्तरालमा दोस्रोपटक कोल्याप्स भएका छन् । मंगलबार हाइडेनहाइम विरुद्धको मैत्रीपूर्ण खेलमा मैदान प्रवेश गरेको केही मिनेटमै उनी अचानक ढलेपछि चिकित्सकीय टोलीले मैदानमै उपचार गरेको थियो ।
२३ वर्षीय मुसियाला यसअघि शनिबार आरबी लाइपजिगविरुद्धको मैत्रीपूर्ण खेलमा पनि खेलकै क्रममा कोल्याप्स भएका थिए । लगातार दोस्रो घटना भएपछि उनले आफूमा ‘न्युरोलोजिकल डिसफङ्सन’ देखिएको र त्यसको उपचार भइरहेको बताएका छन् ।
मुसियालाले सामाजिक सञ्जालमार्फत आफूलाई अस्थायी र छोटो समय रहने ‘एब्सेन्स सिजर’ देखिएको बताएका छन् । उनका अनुसार यो समस्या उपचार गर्न सकिने खालको छ ।
‘पहिलो नजरमा यी घटना डरलाग्दा देखिन सक्छन् । तर अहिलेका लागि यो मेरो दैनिक जीवनको एउटा हिस्सा मात्रै हो’ उनले भनेका छन् ।
उनले आफूले राम्रो चिकित्सकीय उपचार पाइरहेको र अवस्थाप्रति आशावादी रहेको बताएका छन् । बायर्न, परिवार तथा साथीहरूबाट निरन्तर साथ र सहयोग पाइरहेको पनि उनले उल्लेख गरेका छन् ।
मंगलबारको खेलपछि बायर्नका खेल निर्देशक म्याक्स एबर्लले क्लबलाई मुसियालाको अवस्थाबारे पहिल्यै जानकारी रहेको बताएका थिए ।
मुसियाला गत वर्षको क्लब विश्वकपका क्रममा खुट्टाको हड्डी भाँचिएपछि करिब ६ महिना मैदानबाहिर रहेका थिए । पुनरागमनपछि उनले २०२६ को विश्वकपमा जर्मनीका चारमध्ये तीन खेलमा सुरुवाती ११ बाट खेलेका थिए ।
प्रतिक्रिया 4