काठमाडौं । बच्चाहरूमा प्रायः कानको संक्रमण हुने जोखिम हुन्छ । नुहाउँदा कानमा पानी पसेर, दूध खुवाउने सही आसन नमिलेर कान पाक्ने गर्छ । बच्चाको कान पाकेपछि कतिपयले घरेलु औषधि समेत लगाइदिने गर्छन् ।
बालबालिकामा कानको संक्रमण आम समस्यामध्ये एक हो । साना बच्चालाई बढी रुघा लाग्ने भएकाले उनीहरूमा कान पाक्ने समस्या धेरै देखिन्छ । किनकि नाक र कान जोड्ने एक किसिमको पाइप हुन्छ । जसले कानमा भएको हावाको प्रेसरलाई व्यवस्थापन गर्छ । बच्चाहरूलाई रुघा लागेपछि त्यही पाइप हुँदै कानमा संक्रमण हुने नाक, कान, घाँटीरोग विशेषज्ञ डा. ढुण्डीराज पौडेल बताउँछन् ।
साथै बालबालिकालाई सुताएर दूध खुवाउँदा पनि कानको संक्रमण हुने जोखिम हुन्छ । पौडेल भन्छन्, ‘सुताएर दूध खुवाउँदा नाक र कानको नली सिधा हुन्छ र दूध माथिल्लो घाँटीको भाग हुँदै कानमा गएर संक्रमण हुन सक्छ ।’
यी दुई कारणले मात्र नभई बालबालिकाको कानमा अन्य कारणले पनि संक्रमण हुनसक्छ , केही बालबालिकामा जन्मजात नै कानको संक्रमण हुन सक्छ । बच्चा जन्मिएपछि कानमा तेल हालिदिने, कान सफा गर्न भन्दै कोट्याइदिने, धेरै रुघा लाग्ने र नाक टाल्लिने समस्या भएका बच्चामा कान पाक्ने तथा मध्यकानको संक्रमण हुने जोखिम हुन्छ ।
लक्षण
बालबालिकाले ठूला व्यक्तिले जस्तो आफ्नो समस्या बताउन सक्दैनन् । त्यसैले अभिभावकले नै केही लक्षणको ख्याल गर्नुपर्ने डा. पौडेल सुझाउँछन् । बालबालिकाको कानमा संक्रमण भयो भने उनीहरू कानमा समातेर रुन्छन् । ज्वरो आउने, स्तनपान गर्न नमान्ने, अन्य खानेकुरा खुवाउँदा रुने र खाना निल्न गाह्रो मान्छन् भने उनीहरूको कानमा संक्रमण भएको हुनसक्छ ।
दीर्घकालीन समस्या समेत निम्त्याउन सक्छ
बच्चामा कानको संक्रमण भएर रोयो भने बच्चालाई भोक लागेर रोयो कि भनेर आमाले सुताएर दूध खुवाइदिन्छन् । जसले गर्दा झन् संक्रमण बढ्छ । लामो समयसम्म कानको संक्रमण भइराख्यो भने कानको जाली फाट्ने समस्या हुन सक्ने पौडेल बताउँछन् ।
‘कान पाक्ने समस्या दोहोरिइरह्यो वा लामो समय रह्यो भने त्यसले मध्यकानको हड्डीमा संक्रमण भएर जटिल समस्या देखिन्छ । यो संक्रमण मध्यकानमा पुगेर पिप बग्ने र सुनाइ कम हुने गर्छ भने समस्या जटिल हुँदै गएमा संक्रमण फैलिएर मस्तिष्कमा समेत पुग्न सक्छ ।’
कानको संक्रमणको उपचार समयमा भएन भने कानको जाली फाटेर पछि गएर बच्चाले कान कम सुन्ने, मुख बाङ्गो हुने, दिमागमा पिप बग्ने जस्ता जटिल समस्या निम्तिन सक्ने उनी बताउँछन् ।
संक्रमण रोक्न के गर्ने ?
बालबालिकामा कानको संक्रमण तथा कान पाक्ने समस्या छ भने कान जथाभावी कोट्याउनु हुँदैन । साथै कानमा तेल वा अन्य तरल पदार्थ पनि हाल्नु हुँदैन । विशेषगरी बच्चामा बेलाबेलामा रुघाखोकी लागि रहन्छ भने सतर्कता अपनाउनुपर्छ । आमाले बच्चालाई सुताएर स्तनपान नगराउने, सरसफाइ र पौष्टिक आहारमा ध्यान दिनुपर्ने डा. पौडेल सुझाउँछन् ।
उनीहरूको कानबाट पिप बगिरहन्छ भने नुहाउँदा कपासमा भ्यासलिन मलम हालेर निचोरेको कपासले कान बन्द गरेर मात्र नुहाइदिनुपर्छ । ‘बालबालिकामा कानको संक्रमण भयो भने घरमा जथाभावी औषधि हाल्दिनु हुँदैन । यसले झन् जटिलता निम्ताउन सक्छ । संक्रमण भएपछि घरेलु उपचार गर्नु भन्दा विशेषज्ञ डाक्टरको सल्लाह अनुसार उपचार गर्नुपर्छ,’ पौडल भन्छन् ।
कान पाक्यो वा कानमा संक्रमण भयो भने फार्मेसीबाट झोल औषधि ल्याएर कानमा हाल्दिनु पनि गलत हो । कस्तो संक्रमण भएको हो त्यो पत्ता लगाएर मात्र औषधि प्रयोग गर्नुपर्ने भएकाले नाक, कान तथा घाँटी विशेषज्ञको परामर्शमा मात्र कानमा औषधि प्रयोग गर्नुपर्ने डा. पौडेल सुझाउँछन् ।
 
                    










 २०७९ कात्तिक  १३ गते १३:००
                        २०७९ कात्तिक  १३ गते १३:००                     
                             
                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                                         
                             
                             
                                         
                             
                         
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                                         
                             
                                        
प्रतिक्रिया 4