शिशुले जे सुन्छ, त्यही बोल्छ । यति तपाईंको शिशुले सुन्न सक्दैन भने पछि गएर बोल्न पनि सक्दैन । यो समस्या सामान्य तथा आमाबुवा वा अभिभावकलाई शिशु दुई/तीन वर्षको भएपछि मात्र थाहा हुन्छ । साधारण जन्मेका शिशुमा पनि सुनाइ (श्रवण)को समस्या हुनसक्छ ।
तथ्यांकअनुसार उच्च जोखिममा भएका ५ प्रतिशत शिशुलाई नसामा समस्या हुँदा सुनाइमा ह्रास आउँछ । ५० प्रतिशत सुनाइको नसामा समस्या भई सुनाइ ह्रास भएका शिशुमा कुनै पनि जोखिमका कारकहरू भने देखिएका छैनन् । कानको सुनाइ २५ डिसेबलसम्म नर्मल हुन्छ । योभन्दा बढ्दै गएमा श्रवण क्षमता कम मानिन्छ । शिशु अवस्थामा समस्या सहजै पत्ता लगाउन सकिंदैन । त्यसैले शिशुको श्रवण जाँच आवश्यक हुन्छ ।
शिशुको श्रवण जाँच भनेको के हो ?
शिशुको कानभित्र विभिन्न उपकरण, तार राखेर दुखाइ महसुस नगरेरै गरिने जाँचलाई शिशु सुनुवाइ स्वास्थ्य जाँच भनिन्छ । हाडनाताबाट जन्मिएका शिशु, शिशुको आमाबुवामध्ये कसैको बाल्यकालदेखि नै श्रवण समस्या वा वंशाणुगत समस्या भएमा, गर्भमा रहँदा आमालाई कुनै संक्रमण (टक्सो पलाज्मा, रुवेला, ठेउला, हर्पिस जुस्टर) जस्ता जटिल रोग लागेमा, ३७ हप्ता नपुगी जन्मेको शिशु (प्रिटम बेबी)मा सुनाइको समस्या देखिने जोखिम धेरै हुन्छ ।

जन्मिंदा शिशुको तौल २.५ किलो ग्राम भन्दा कम भएमा, शिशुको टाउको वा अनुहार असामान्य भएमा, शिशु जन्मिने बित्तिकै नरोएमा, जन्मेपछि शिशुलाई कमलपित्त भएमा, यसका कारण रगत चढाउनु परेमा वा फोटो थेरापी दिनु परेमा, शिशुलाई मेनेन्जाइटिस, दादुरा, हाणे जस्ता रोग लागेमा, जन्मेपछि शिशुलाई सघन उपचार कक्षमा राखी उपचार गर्नु परेमा सुनाइको समस्या हुनसक्छ ।
माथि उल्लेखित समस्याका कारण शिशुको श्रवण क्षमतामा असर पुग्ने जोखिम हुन्छ । त्यसैले आफ्नो शिशुमा यस्ता खाले समस्या देखिएमा सामान्य रुपमा लिनु हुँदैन । नजिकैको स्वास्थ्य संस्था वा डाक्टरको परामर्श लिनुपर्छ । डाक्टरको परामर्श विना पनि कुनै औषधि चलाउनु हुँदैन । किनकि त्यसले शिशुमा थप असर गर्ने जोखिम रहन्छ ।
जाँच किन आवश्यक छ ?
सुनाइको समस्या शिशु अवस्थामा नै पत्ता लगाउन सकेमा अन्य शिशु सरह नै बोल्न र सुन्न सक्ने बनाउन सकिन्छ । सानै उमेरमा कानको सुनाइ ठीक भएमा मात्रै बोल्ने क्षमताको पनि विकास राम्ररी हुने, स्मरण शक्ति बढ्ने हुँदा शिशुको सुनाइ स्वास्थ्य जाँच अति आवश्यक हुन्छ ।
शिशु मात्र नभएर अन्य व्यक्तिमा पनि तीन कारणले श्रवण समस्याको जोखिम रहन्छ । कानको बाहिरी र मध्ये भागमा संक्रमण आएमा हुने श्रवण ह्रास (कन्डक्टिभ हेयरिङ लस) जस्तो- जालीमा संक्रमण, जालीमा प्वाल, ढुसी पलाउँदा, अत्यधिक कानमा फोहोर वा कानेगुजी जम्मा हुनुलगायत कारणले श्रवण क्षमता ह्रास हुन्छ । भित्री कानको नसा सुक्दै गएमा पनि श्रवण क्षमतामा ह्रास आउँछ । यसलाई सेन्सोन्यूरल हेयरिङ लस भनिन्छ ।
बाहिरी, मध्य र भित्री कानमा समस्या आउँदा श्रवण क्षमतामा ह्रास देखिन्छ । यस्तो खाले समस्यालाई मिक्स्ड हेयरिङ लस भनिन्छ । यस्ता कुनै समस्या देखिए बेवास्ता गर्नु हुँदैन ।
(पाण्डे भक्तपुर लोकन्थलीस्थित बीपी आई फाउन्डेसन, चियर्स अस्पतालमा इयर हेल्थ वर्करको रुपमा कार्यरत छन् ।)
 
                    










 २०८१ भदौ  ४ गते १३:०६
                        २०८१ भदौ  ४ गते १३:०६                     
                     
 
 
 
 
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                                         
                             
                             
                             
                             
                                         
                             
                                         
                         
                         
                         
                         
                             
                             
                             
                                         
                             
                             
                                         
                            
प्रतिक्रिया 4