 
																			२८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी राष्ट्रिय सहकारी बैंकको अध्यक्ष परिवर्तन गरिदिएको छ । अध्यक्षको उम्मेदवार नै बन्न नपाउनेमा फर्जी कागज पेस गरेर बैंकको नेतृत्वमा पुगेका केबी उप्रेतीलाई राष्ट्र बैंकले हटाउन लगाएको हो ।
राष्ट्र बैंकको हस्तक्षेपपछि उप्रेतीको ठाउँमा झापाको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्ने महेन्द्रकुमार गिरी बैंकको अध्यक्ष चयन भएको राष्ट्र बैंक स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
‘राष्ट्र बैंकले उप्रेतीलाई हटाएर सञ्चालक समितिका सदस्य मध्येबाट योग्यता पुग्ने व्यक्तिलाई अध्यक्ष बनाउन निर्देशन दिएको थियो । त्यही अनुसार गिरीलाई सञ्चालक समितिले अध्यक्ष चयन गरेको छ । शनिबार बस्ने साधारणसभाले त्यसलाई अनुमोदन गर्नेछ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
उप्रेती पछिल्लो पटक १६ पुस २०७९ मा सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाबाट बैंकको अध्यक्षमा निर्वाचित भएका थिए । सदस्य संस्था र संघबाट लिएको ऋण तिर्न नसकी भाखा नघाएको व्यक्ति निर्वाचनको उम्मेदवार हुन नसक्ने योग्यता तोकिएको थियो ।
उप्रेती अध्यक्ष भएको हाम्रो सगरमाथा सहकारीले राष्ट्रिय सहकारी बैंकमा करिब ३० करोड रुपैयाँ ऋण तिर्न बाँकी थियो, जसको सावाँ ब्याज नतिरी सो ऋण भाखा नाघेको अवस्था थियो । यस्तो अवस्थामा उप्रेती अध्यक्षको उम्मेदवार नै बन्न पाउँदैन थिए ।
तर, उनले त्यो कुरा नखुलाई काठमाडौं जिल्ला सहकारी संघको तर्फबाट उम्मेदवारी हालेका थिए । त्यसरी यथार्थ लुकाएर पेस गरेको फर्जी दस्तावेजलाई बैंकको निर्वाचन समितिले समेत स्वीकार गरेको पाइएको राष्ट्र बैंक समेतको सहभागितामा सहकारी विभागले गरेको अनुगमनका क्रममा खुलेको थियो । उप्रेतीले आफैं अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीले ऋण नलिएको वा लिएको ऋण तिर्न नसकी भाखा नघाएको अवस्था नरहेको व्यहोरा सहितको पत्र मनोनयन सम्बन्धी फाइलमा समावेश गरेका थिएनन् ।
उक्त साधारणसभामा सञ्चालक समितिको निर्वाचनका लागि बैंक सञ्चालक समितिले अधिवक्ता सुमन पौडेलको संयोजकत्वमा निर्वाचन उपसमिति गठन गरेको थियो ।
राष्ट्र बैंकले यही आधारमा उप्रेतीलाई पदबाट हटाउन सञ्चालक समितिलाई निर्देशन दिएको स्रोतले बतायो ।
सहकारी बैंकमा प्राकृतिक व्यक्ति नभई सहकारी संस्था (प्रारम्भिक संस्था) सदस्य भएर कारोबार हुन्छ । सहकारी विभागका अनुसार २०८० असारदेखि हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थासहित ५ वटा संस्था मर्जर भएर हाल आइडियल यमुना हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था बनेको छ । नयाँ सहकारीको अध्यक्ष पनि उप्रेती नै छन् ।
तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले बैंकबाट २०७८ चैतमा एक पटक र २०७० भदौमा दुई पटक गरी ३ पटक सहकारी बैंकबाट ऋण लिएको थियो । उक्त ऋणको सावाँ र ब्याज उप्रेती अध्यक्ष निर्वाचित हुँदा भाखा नाघेको देखिएको सहकारी विभागले गरेको अनुगमन रिपोर्टले नै देखाउँछ ।
‘मैले धितो र धन जमानी दिएको संघ र संस्थाले बैंकबाट उपभोग गरेको कर्जाको भाखा नाघेको वा बक्यौता रहेको छैन । उल्लिखित विवरण झुठा भए मेरो उम्मेदवारी रद्द गर्ने अधिकार निर्वाचन उपसमितिमा रहनेछ,’ उप्रेतीले निर्वाचनमा उमेदवारी दिँदा स्वघोषणामा उल्लेख गरेको विवरण सहकारी विभागले अनुगमन प्रतिवेदनमा नै उल्लेख गरेको छ । तर, उनको त्यो दाबी नै फर्जी देखिएको हो ।
राष्ट्रिय सहकारी बैंक सहकारी विभाग तथा नेपाल राष्ट्र बैंकको दोहोरो नियमनमा रहन्छ ।
यसले राष्ट्र बैंकबाट बैंकिङ कारोबारको इजाजत लिएकोले बैंकको वित्तीय कारोबारको अनुगमन तथा निरीक्षण नेपाल राष्ट्र बैंकले गर्दै आएको छ ।
उप्रेतीले कारागारमा रहँदा पनि पद छोड्न मानेका थिएनन्
उप्रेती आफ्नो प्रारम्भिक सहकारी आइडियल यमुना हाम्रो सगरमाथा सहकारी संस्थाबाट बचतकर्ताको बचत फिर्ता नगरी ठगी गरेको कसुरमा पुर्पक्षका लागि कारगार चलान भएका छन् । सहकारी ठगीको मुद्दा लागेका उप्रेतीले कारागारमा गए पनि बैंकको अध्यक्ष पद छाडेका थिएनन् ।
सहकारी ठगीको अभियोग लागेको अध्यक्षमा बसिरहन नमिल्नेमा हटाए मुद्दा हाल्ने भन्दै उप्रेती भने कारागारबाटै सहकारी बैंक चलाउन खोजिरहेका थिए ।
उप्रेती एमालेको सहकारी विभागको सचिव समेत थिए । तर, उनी अध्यक्ष रहेको प्रारम्भिक सहकारी संस्थामा समस्या देखिएको उजुरी आएपछि एमालेले उनलाई सो पदबाट हटाएको थियो ।
व्यवस्थापनले दिन नमिल्ने भनेको ऋण बोर्डबाट जबर्जस्ती पास गराएर उप्रेतीले लिएका थिए । उप्रेतीले अध्यक्ष पदको चरम दुरुपयोग गरी आफ्नै सहकारीलाई कानुनविपरीत ऋण दिलाएको पनि खुलेको थियो ।
तत्कालीन हाम्रो सगरमाथा सहकारीले बैंकबाट चैत २०७८ मा एकपटक र भदौ २०७९ मा दुईपटक गरी तीनपटक सहकारी बैंकबाट ३० करोड ५० लाख ऋण लिएको थियो ।
त्यो ऋण लिने प्रक्रिया चलिरहँदा बैंकका नायब महाप्रबन्धक (डेपुटी जीएम) ले ‘हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको प्रस्तावित ऋण सबै प्रकारले जोखिमपूर्ण रहेको भन्दै ऋण लगानीको सिफारिस नगरी फाइल ‘फर्वार्ड’ गरेका थिए ।
डेपुटी जीएमले औंल्याएको जोखिमका आधारमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र डेपुटी सीईओले उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको प्रस्तावित ऋण सञ्चालक समितिमा पेस नै गरेका थिएनन् ।
यसरी व्यवस्थापनले दिन नमिल्ने भनेको ऋण बैंक अध्यक्ष रहेका उप्रेतीले जबर्जस्ती सञ्चालक समितिबाट पास गराएर आफ्नै सहकारीलाई दिलाएको तथ्य भेटिएको हो ।
बैंक व्यवस्थापनले जोखिमपूर्ण भनेको ऋण समितिबाट पास गराएर उनले आफैं अध्यक्ष रहेको साविकको हाम्रो सगरमाथा सहकारीलाई दिलाएका हुन् ।
यतिमात्र नभई, हाम्रो सगरमाथा सहित आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्था मर्ज भएर ‘आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था’ बनेको थियो । त्यसको अध्यक्ष पनि उप्रेती नै हुन् । यो संस्थाले बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ फिर्ता गर्न सकेको छैन ।
मर्जर अगाडिका हाम्रो सगरमाथा सहकारी सहित आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण, तपाईं हाम्रो सहकारीले राष्ट्रिय सहकारी बैंकबाट ऋण लिएका थिए । मर्जपछि एकीकृत संस्थामा उक्त ऋण ९३ करोड पुगेको छ, जुन भाखा नाघेको छ ।
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
 
 
 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4