 
																						काठमाडौं । अभिनेता अनमोल केसीलाई सार्वजनिक थलोमा देख्न प्रायः मुस्किल पर्छ । भीडभन्दा टाढा रहेर उनी रिजर्भ बस्न रुचाउँछन् । भीडमा घुलमिल हुने उनको स्वभाव छैन ।
जसले गर्दा, उनी प्रशंसकमाझ एक रहस्यकै पात्र हुन् । अरु कलाकार दर्शकमाझ घुलमिल हुने भैरहँदा अनमोल भने आफ्नै शैलीमा रिजर्भ बसिरहन्थे । यस्तोमा, अब अनमोल दर्शकमाझ पुग्ने मनस्थितीमा छन् ।
अब दर्शकसँग नजिक रहेर करिअर अघि बढाउने उनको योजना छ । यसको सुरुवात भारतको सिलिगुढीस्थित क्लब ग्राभिटीबाट भएको छ । यसैसाता अनमोल र बुवा भुवन केसीले त्यहाँ पुगेर फ्यानसँग साक्षात्कार गरे ।
दर्शकसँग नजिकिने उपायअनुरुप अब उनी ‘मिट एण्ड ग्रिट’ टूरमै निस्किने भएका छन् । स्वदेश र विदेशमा उनको यस्तो टूर आयोजनाको निधो भैसकेको छ जहाँ उनले फ्यानसँग भेटघाट गर्नेछन् ।

मेमा कतारबाट उनको ‘मीट एण्ड ग्रिट’ टूर सुरु हुनेछ । त्यसपछि हङकङ र जापानमा पनि यस्तो टूर गर्ने योजना छ । टूरमा बुवा भुवनले साथ दिनेछन् । ‘विश्वभरका दर्शकसँग जोडिने अनमोलजीको यो प्रयास हो’ भुवन निकट स्रोतले भन्यो, ‘अब उहाँ दर्शकको नयाँ पुस्तासँग जोडिन चाहनुहुन्छ । किनभने, ‘होस्टेल’पछि नयाँ दर्शकको जेनेरेसन क्रिएट भैसकेको उहाँलाई लागेको छ ।’
पछिल्लो समय दर्शकबाट टाढिएको महसुस गरेका अनमोल सिलिगुढी पुगेर क्लब ग्राभिटीमा दर्शकलाई भेट्नु यसकै कारण थियो । जहाँ, उनले पछिल्लो फिल्म ‘फर्की फर्की’को पात्र म्याडीकै अवतारमा इन्ट्री गरे । भुवनले भने ‘म हुँ नेपालीबाबु’ अवतारमा दर्शकमाझ प्रवेश गरे ।
अनमोल र भुवनलाई भेट्न ७०० भन्दा धेरै दर्शक उक्त क्लबमा सहभागी थिए । उनीहरूको ‘मिट एण्ड ग्रिट’का तस्वीर र भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

तर, अहिलेलाई भने अनमोलको दर्शकसँग नजिकिने प्रयास विदेशमा हुनेछ । ‘तत्कालै विदेशमा बजार विस्तार गर्ने उद्देश्यले उहाँको टूर हुनेछ’ स्रोतले भन्यो, ‘स्वदेशमा भने प्रदर्शन तयारीमा रहेको फिल्म जेरी अन टपको रिलिजको समयमा टूर हुनेछ ।’ अनमोलले अब आफू दर्शकसँग नजिक हुनुपर्छ भन्ने महसुस गरेको स्रोतको भनाई छ ।
यो टूर फिल्मको प्रवर्धन नभएर नितान्त दर्शकसँग जोडिने अनमोलको प्रयास भएको बताइएको छ । अनमोलले ‘जेरी अन टप’पछि नयाँ फिल्म साइन गरेका छैनन् । लगत्तै उनले घरबाट बन्ने फिल्ममा काम गर्ने बुझिएको छ । यो होमप्रोडक्सन फिल्मको घोषणा चाँडै गर्ने तयारी छ ।



 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4