+

हारदेखि सफलतासम्म : उपाधिको खडेरी तोड्दै विश्वकप जितबारे कोहलीको अनुभव

२०८२ वैशाख  २३ गते १६:४७ २०८२ वैशाख २३ गते १६:४७

भारतका स्टार क्रिकेटर विराट कोहलीले टी–२० खेलमा आफ्नो प्रदर्शन सुधार गरेर २०२४ को टी–२० विश्वकप जित्नुको अर्थबारे खुलेर बताएका छन् ।

हारदेखि सफलतासम्म : उपाधिको खडेरी तोड्दै विश्वकप जितबारे कोहलीको अनुभव

२३ वैशाख, काठमाडौं । भारतका स्टार क्रिकेटर एवम् पूर्व कप्तान विराट कोहलीले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरलाई ऐतिहासिक ढंगले टुंग्याए । उनले २०२४ को टी–२० विश्वकपको फाइनलमा शानदार प्रदर्शन गर्दै भारतलाई १७ वर्षपछि उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले ।

आईपीएल २०२४ मा सबैभन्दा धेरै रन बनाउने (७४१ रन) कोहलीले विश्वकपको सुरुवात कमजोर रूपमा गरेका थिए । पहिलो सात इनिङमा जम्मा ७५ रन मात्र बनाएपछि उनले फाइनलमा ५९ बलमा ७६ रन बनाउँदै शानदार कमब्याक गरे र प्लेयर अफ द म्याच नै जिते।

‘लामो समयदेखि प्रयास गर्दै आएका थियौं’ आईपीएल टोली बेंगलुरुको पोडकास्टमा कोहलीले आफ्नो अनुभव बाँड्दै भने, ‘हामी सबै भावुक थियौं। धेरैपटक नजिक पुगेका थियौं तर सफल हुन सकेका थिएनौं।’

‘व्यक्तिगत रूपमा मैले २०१४ र २०१६ को टी-२० विश्वकप सेमिफाइनल, २०१५ एकदिवसीय विश्वकप सेमिफाइन तथा २०१७ च्याम्पियन्स ट्रफी फाइनलमा हार भोगेको थिएँ। त्यसैले यो जीत गर्वको भन्दा पनि कृतज्ञताको भावना थियो’ कोहलीले भने ।

कोहलीले सन् २०२४ को विश्वकप उनको अन्तिम टी–२० प्रतियोगिता हुने निश्चित गरिसकेको स्मरण गर्दै परिणाम जे भए पनि उनले यस फर्म्याटबाट सन्यास लिने निर्णय पहिले नै लिइसकेको उल्लेख गरे ।

फाइनलको दिन आफू कसरी रन बनाउन सफल भए भनेर उनी अचम्मित रहेको कुरा पनि सुनाए । ‘पूरै प्रतियोगितामा रन नआएको मान्छे अन्तिम खेलमा त्यस्तो खेल्छु भन्ने लागेको थिएन। मलाई आफैं विश्वास लागेन’ उनले भने, ‘त्यही बेला लाग्यो, यति वर्षको मिहिनेत यही हो, जब समय आउँछ, सबै कुरा आफैं हुन्छ।’

२०२२ को टी–२० विश्वकपपछि कोहली यो फर्म्याटबाट टाढा थिए। जनवरी २०२४ मा मात्र उनी पुनः टी–२० टोलीमा फर्किएका थिए। त्यसबीचमा उनले आफ्नो मानसिकता परिवर्तन गर्नुपर्‍यो।

‘पछिल्ला केही सिजनमा मैले आफ्नो खेललाई बद्लिने प्रयास गरेँ। अरूले के सोच्छन् भन्ने छोडेर, खुल्ला रूपमा खेल्न थालेँ’ कोहलीले भने।

३५ वर्षको उमेरमा टी-२० विश्वकप जितेर अन्तर्राष्ट्रिय टी-२०बाट सन्यास लिएका कोहली अझै पनि आईपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

टी–२०आई बाट सन्यास लिनुको कारणबारे बताउँदै उनले भने, ‘नयाँ खेलाडीहरू तयार छन्। उनीहरू हामीभन्दा फरक ढंगले खेलिरहेका छन्। अब उनीहरूलाई समय दिनु पर्छ ताकि उनीहरू अगाडि बढ्न सकून्।’

अहिले भारतमा जारी १८औं सिजनको आईपीएलमा कोहलीले शानदार प्रदर्शन गरिरहेका छन् भने उनको टोली आरसिबी पनि अंकतालिकामा शीर्ष चारमा बलियो अवस्थामा छ ।

-आईसीसीबाट

विराट कोहली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय