
News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा बिहीबार राति बाढी आएको थियो।
- गाउँमा आएको बाढीले पुल, जलविद्युत् आयोजना र घरहरू क्षति पुर्याएको छ।
- थप अध्ययन भइरहेको छ।
४ जेठ, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा गत बिहीबार राति एक्कासी आएको लेदोसहितको बाढीले अहिले त्यहाँका स्थानीय बस्ती छाड्न बाध्य भएका छन् ।
जेठ १ गते (बिहीबार) एक्कासी आएको बाढी पहिरोले उक्त गाउँमा बसोबास गर्ने ३२ जना स्थानीय नजिकैको विद्यालयमा आश्रय लिएर बसिरहेका हुन् ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार, गृह मन्त्रालय, विपद् व्यवस्थापन महाशाखा, खानी तथा भूगर्भ विभाग लगायतसँग समन्वय भइरहेको छ ।
घटना लगत्तै बाढीको कारण पत्ता लगाउन हिँडेको सुरक्षाकर्मीको टोली बीच बाटोबाटै फर्कन परेको थियो । अत्यधिक अग्लो ठाउँमा रिंगटा लाग्ने, टाउको दुख्ने लगायतका समस्या देखिन थालेपछि करिब ४ हजार ७ सय उचाइबाट सुरक्षाकर्मीको टोली फर्किएको सीडीओ पाण्डेय बताउँछन् ।
लेदोसहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका काठे पुल, जलविद्युत् आयोजनाको पावरहाउस लगायतमा क्षति पुगेको छ ।
यद्यपि विवरण अझै संकलन भइसकेको छैन । सीडीओ पाण्डेयले अनलाइनखबरलाई बताए अनुसार, के कति कारणले यस्तो बाढी आएको हो भन्ने पत्ता लगाउन सरकारले कम्तिमा हेलिकप्टर लगेर हेरिदिए ढुक्क हुने स्थानीयहरूको अपेक्षा छ ।
हुम्लाका प्रजिअ नारायण पाण्डेयले अनलाइनखबरकर्मी रुपक चौलागाईंसँग सुनाएको भनाइ जस्ताको तस्तै :
यो अस्ति बिहीबारको राति ११ बजेको घटना हो । माथिबाट गडगडाहटसहित ढुंगा, माटो, हिलो, पानी, धुलो सबै एकुमस्ट रुपमा बगेर आएको रहेछ । त्यसरी आउँदा नाम्खा गाउँपालिका–६ तिलगाउँसम्मै त्यो बगेर आइपुग्यो । त्यो गाउँको जमीनको माटोको संरचना खुकुलो खालको छ । माथिबाट आएको लेदोले त्यहाँका धेरै चिज बगाएर पनि लग्यो । गाउँको छेवैमा खाल्डोजस्तो बन्यो । तीलगाउँको नजिकैबाट त्यो लेदो बग्दा गाउँ जोखिममा परेको देखिन्छ । त्यहाँको स्थानीयले हेलिकप्टर आयो कि जहाज आयो कि भन्ने पनि भएछ, ठूलो आवाज आएपछि ।
पछि थाहा पाएपछि उहाँहरू सुरक्षित ठाउँमा सर्नुभयो । नजिकैको विद्यालयमा टेन्ट टाँगेर बसिरहनुभएको छ । हामीले शुक्रबार नै नेपाल र चीनको बोर्डर हिल्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बीओपीबाट सुरक्षाकर्मी खटायौं । उहाँहरू शुक्रबार बिहान ९ बजेतिर हिँडेर राति साढे ७ बजेमात्रै त्यो ठाउँमा पुग्नुभयो । झण्डै १० घण्टा हिँडेर पुग्नुभयो । हिजो शनिबार विवरण संकलन गर्ने लगायतका काम भयो । कहाँबाट बाढी उत्पन्न भयो भन्ने किसिमबाट हेर्नका लागि हिल्साबाट माथि निस्कनुभयो । सो क्रममा ४ हजार ७ सय मिटरसम्म पुग्नुभयो । सो टोलीका केहीलाई टाउको दुख्ने, रिंगटा लाग्ने लगायत भयो । त्यसपछि उहाँहरू फर्कनुभयो ।
आज बिहान स्थानीय वासिन्दाहरू माथि जानुभएको छ । प्रारम्भिक जानकारी अनुसार, त्यहाँ भएका तालहरू फुटेर त्यस्तो भयो कि भन्ने पनि छ । यद्यपि यसको यकिन भइसकेको छैन । बाढीले गर्दा १५ किलोवटा क्षमताको लघु जलविद्युत् आयोजनाको पावरहाउसमा क्षति पुर्याएको अवस्था छ । एउटा काठे पुललाई पनि क्षति पुर्याएको छ ।
तिलगाउँमा जम्माजम्मी ५० वटा घर बनाइएका छन् । जसमध्ये १८ वटा घरमा मान्छेहरू बसोबास गर्थे । २१ जना महिला, ९ जना पुरुष र २ जना बालबालिका गरेर ३२ जना मानिस बसोबास गर्थे । अहिले उहाँहरू सबै सुरक्षित ठाउँमा हुनुहुन्छ । माथि जानुभएको स्थानीयले ताल फुटेर यस्तो भएको हो अब जोखिम छैन भनेर भन्नुभयो भने घरमा फर्कन सक्नुहुन्छ । जोखिम कायमै भयो भन्ने आयो भने वैकल्पिक व्यवस्थापन गर्नुपर्नेमा हामी छलफल गरिरहेका छौं ।
माथि जानुभएको टोली अहिले पनि त्यतै हुनुहुन्छ । आजै दिउँसो त्यहाँका जनप्रतिनिधिसँग कुरा भएको थियो । उहाँहरूबाट केही कुरा आउँछ कि भनेर कुरिरहेका छौं ।
हामीले गर्नसक्ने तत्कालिन व्यवस्थापनको अधिकतम प्रयास भएको छ । अहिले हेलिकप्टर आए हुन्थ्यो भन्ने हिजोदेखि नै छ । आज स्थानीय ५ जनाको टोली त्यहाँ पुगेको छ । उहाँहरूले देखेको कुराको आधारमा अन्य रणनीति बनाउनुपर्ने देखिन्छ ।
स्थानीयहरू भेडाबाख्रा लगायत चराउनका लागि जाँदा पनि पहिला केही तालजस्तो नदेखेको बताउनुभयो । उहाँहरूको भनाइ चाहिँ, माथि पुगेर हेलिकप्टरले जोखिम छ वा छैन भन्ने कुरा हेरिदियो भने हामी विश्वस्त हुन्थ्यौं भन्ने अपेक्षा छ । सकेसम्म स्थानीय तहबाट हामी पुग्न सक्यौं भने पनि केही हुन्थ्यो भनेर पहलकदमी लिनुभएको हो ।
हामी मन्त्रालयसँग थप समन्वय पनि गर्दैछौं । खानी तथा भूगर्भ विभागका सदस्यहरूसँग पनि कुरा भइरहेको छ । विपद् व्यवस्थापन महाशाखा लगायतसँग पनि रिपोर्टिङ गर्ने लगायतका काम भइरहेको छ ।
प्रतिक्रिया 4