
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका संविधानविद् डा. भीमराव अम्बेडकरको १३४ औं जन्मजयन्ती अप्रिलमा विश्वव्यापी रूपमा मनाइयो।
- नेपालमा पनि नेपाल भारत दलित मैत्री संघ र भारतीय दूतावासको आयोजनामा मनाइन्छ।
- उत्तरकोरियाले अम्बेडकरलाई सम्मान दिएर उनको अध्ययन र बुझाइमा रुचि देखाएको देखिन्छ।
भारतका संविधानविद् डा. भीमराव अम्बेडकरको १३४ जन्मजयन्ती गएको अप्रिलमा विश्वव्यापी रूपमा मनाइयो । भारतीय मूलका आप्रवासी त्यसमा पनि दलित समुदायले उनको जन्मजयन्ती मनाउने कुरा त हुँदै आएको थियो । नेपालमा पनि खास गरी नेपाल भारत दलित मैत्री संघ तथा भारतीय दूतावासको तत्वावधानमा गत केही वर्षदेखि मनाइँदै आएको छ ।
केही दिन अगाडि सामाजिक सञ्जालमा एउटा भाइरल भिडियो देखें । त्यसमा हामीले कल्पनै गर्न नसकिने देश उत्तरकोरिया, त्यसमा पनि त्यहाँका सर्वोच्च नेता किमजोङ उनको उपस्थितिमा अम्बेडकर जयन्ती मनाइरहेको भिडियो आयो ।
यो दृश्य आश्चर्यजनक लाग्नुका पछाडि केही कारण छन् । प्रजातान्त्रिक मूल्यमान्यतामा अगाडि बढेका देशहरूमा उनको जयन्ती मनाइनु आश्चर्यको कुरा भएन । तर उत्तरकोरिया आफूलाई मार्क्सवादी दर्शनमा आधारित कम्युनिष्ट देश मान्दछ ।
उता, अम्बेडकरले कहिल्यै पनि मार्क्सवादी सिद्धान्त र दर्शनलाई पछ्याएनन् । बरु उनी भारतीय कम्युनिष्टहरूका कट्टर आलोचक रहे, त्यो देशमा अम्बेडकर जयन्ती मात्रै मनाइएको थिएन, सो कार्यक्रम बडो भव्यतापूर्वक मनाइनुका साथै सो कार्यक्रममा सर्वोच्च नेता उनले अम्बेडकरको बारेमा उनका विश्वविद्यालयमा पनि पढाइने बताएका थिए ।
बरु समान प्रकृतिका समस्या रहेको भारतको छिमेकी देश नेपालमा त्यस्तो कुनै छाँट छैन भने उत्तरकोरिया जस्तो बन्द देशमा अम्बेडकरलाई बुझ्नु र पढ्न खोज्नु आफैंमा आश्चर्यजनक मान्नै पर्दछ ।
अम्बेडकर पछिल्लो चरणमा भारतीय दलित तथा उत्पीडितहरूका मात्रै आदर्श नेता नभई संसारभरका उत्पीडित तथा सामाजिक न्यायका लागि लड्ने व्यक्ति तथा संगठनहरूका लागि पनि प्रेरणाका स्रोत रहेका छन् ।
कुनै राजनैतिक पदमा लामो समय नरहे पनि अम्बेडकरले जस्तो विश्वव्यापी सम्मान कमैले मात्र प्राप्त गरेको देखिन्छ । भारतमै बौद्ध धर्मको प्रादुर्भाव भएतापनि त्यहाँ सो धर्मका अनुयायीहरू निकै कम हुँदै गएका छन् । उनले धेरै धर्महरूको अध्ययन पछि उनी आफ्ना ५ लाख अनुयायी सहित बौद्ध धर्ममा दीक्षित भएका थिए ।
अहिले भारतमा बौद्ध धर्म व्यापक रूपमा विस्तार भइरहेको छ र सो धर्म ग्रहण गर्ने धेरै व्यक्तिहरू दलित तथा अन्य उत्पीडित समुदायका छन् । बौद्ध धर्मलाई पुनस्र्थापित गर्न भूमिका खेलेको भनेर बर्मा सरकारले उनलाई बोधिसत्वको समेत उपाधि दिएको रहेछ ।
अब चर्चा गरौं नेपाल साइनोको । उनी बुद्ध धर्ममा दीक्षित भएपछि तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन १४ नोभेम्बर १९५६ मा काठमाडौंमा भएको रहेछ । उनी संविधानसभाका सदस्य तथा भारतको संविधान निर्माता भएको हुनाले राजा महेन्द्रले उनलाई विशेष सम्मान दिंदै शाही अतिथि बनाएर शीतलनिवास, हालको राष्ट्रपति भवनमा राखेका रहेछन् ।
त्यतिवेलासम्म नेपालका दलितहरूसँग उनको खासै चिनजान तथा सम्पर्क रहेनछ । अतः उनले शीतलनिवासमा काम गर्ने एक जना सफाइ कर्मचारी (जो द्यौला समुदायका हुने गर्दथे) सँग सोधेर यहाँका दलित नेताहरूसँग भेट्ने इच्छा व्यक्त गरेछन् ।
संयोगवश ती सफाइ कर्मचारीलाई काठमाडौंमा क्रियाशील दलित नेताहरूको बारेमा केही थाहा भएको हुनाले दलितका तत्कालीन नेता सहर्षनाथ कपाली, उनका भाइ मोहनलाल लगायत नेताहरूसँग भेट भएछ । सो भेटमा अम्बेडकरले काठमाडौंका दलित बस्तीको अवलोकन गर्न चाहेछन् र उनलाई डल्लुको द्यौला बस्तीमा घुमाइएछ ।
नेपालको भ्रमणमा रहँदा उनी स्वस्थ नभई राम्ररी हिंड्न डुल्न पनि नसक्ने अवस्थामा रहेको कुरा मोहनलाल कपालीले यो पंक्तिकारलाई बताएका थिए । उनी शारीरिक रूपमा कमजोर भएको हुनाले बोक्ने मान्छेहरूको व्यवस्था गरेर तामदानमा उनलाई डल्लुको द्यौला बस्ती घुमाइएछ ।
उनीहरूले घर तथा शहरको सफा गर्ने भएतापनि आफ्नो बस्ती फोहोर तथा अव्यवस्थित राखेका थिए भने राज्य तथा समाजको पनि उपेक्षामा रहने हुँदा अन्य समुदायसँग पृथक् रहेका थिए । अम्बेडकरले भारतमा भंगीहरूलाई पनि सोही अवस्थामा देखेका हुनाले उनको लागि यो आश्चर्यको कुरा भएन ।
नेपाल र भारतमा समान किसिमको जात व्यवस्था रहेको हुँदा उनले नेपालमा पनि दलितहरूले अधिकारको आन्दोलन गर्नुपर्ने महसुस गरे । तत्कालीन दलित नेताहरूलाई शीतलनिवासमै उनले भनेछन्, ‘यदि तिमीहरूलाई अधिकार चाहिन्छ भने, तोडो, फोडो और मरो, तब जाकर अधिकार मिलेगा ।’
सो कुरा पुनः यस पंक्तिकारलाई उनै मोहनलालले बताएका थिए । दलित नेताहरूलाई भेट्नु भन्दा अगाडि अम्बेडकरले तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई भेटेर दलितहरूको बारेमा सोधखोज गरेका रहेछन् । तर टंकप्रसादले दलितहरूको पशुपति प्रवेशमा रोक लगाउँदै मन्दिर प्रवेश गर्न प्रयास गर्ने करीब ७०० जनालाई थुन्न लगाएका थिए ।
अतः उनले अम्बेडकरलाई सब ठीक छ खासै त्यस्तो समस्या नरहेको बताएछन्, अतः उनले दलित नेताहरूलाई भेट्न सफाइ कर्मचारीको मद्दत लिएछन् ।
उनी नेपाल आएको ४ दिनपछि १८ नोभेम्बरमा ललितपुरका बुद्ध विहारमा बौद्ध सम्मेलन भएको रहेछ र त्यहाँ उनले अहिंसा र बुद्ध धर्मको विषयमा प्रवचन दिएका रहेछन् । राजा महेन्द्रको अतिथि भएको हुँदा उनले अम्बेडकरलाई २० नोभेम्बरमा साम्यवाद र बुद्ध अर्थात् कार्ल माक्र्सको बारेमा प्रवचन दिन अनुरोध गरेछन् ।
त्यसपछि उनले धेरै तयारी नगरिकन बुद्ध र साम्यवाद शीर्षकमा अर्को ऐतिहासिक कार्यपत्र लेखी प्रस्तुत गरेछन् । संभवतः सो कार्यपत्र उनको जीवनको अन्तिम कार्यपत्र भएको अनुमान गरिन्छ । उनको समयमा शीतयुद्ध उत्कर्षमा हुनुको साथै विश्वभरका उत्पीडितहरूका लागि मार्क्सवाद मुक्तिको बाटो थियो तर पनि उनले साम्यवादी सिद्धान्तलाई अंगीकार गरेनन् ।
अम्बेडकरको बुझाइ रहेछ– मार्क्सवादले खान–लाउनमा मात्रै जोड दिएको तर आत्मसम्मान र स्वतन्त्रतालाई बेवास्ता गरेको छ ।
सो सम्बन्धमा केही दलित माओवादी नेताहरूले उनी कम्युनिष्ट भएको भए के–के हुन्थ्यो होला भनेर आलोचना गर्छन् । बौद्ध सम्मेलनमा एक जना बज्राचार्य भन्ने व्यक्तिलाई अम्बेडकरले आफ्नो फोन नम्बर पनि दिएका रहेछन् । तर उनले सो नम्बरमा अम्बेडकरलाई कहिल्यै फोन गर्न नसकेकोमा पछुतो मानेको कुरा नेपाल–भारत दलित मैत्री संघका अध्यक्ष ओमप्रकाश विश्वकर्माले बताएका थिए । राजा महेन्द्रले पशुपतिनाथको दर्शन गर्न अनुरोध गर्दा उनले अस्वीकार गरेका रहेछन् ।
नेपाल भ्रमणका साथै तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सकेर उनी २२ नोभेम्बरमा पटना हुँदै बुद्धले ज्ञान प्राप्त गरेको गया गए । त्यसपछि पहिलो दीक्षा दिएको सारनाथमा गएर केही पण्डितहरूलाई बौद्ध भिक्षु बनाएको र भाषण गरेको भन्ने चर्चा गरिन्छ तर त्यसको विस्तृत विवरण उपलब्ध नभएको बताइन्छ ।
त्यसपछि उनी दिल्लीको २६ अलिपुर रोडमा अवस्थित भाडाको घरमा पुगेका र अझ बिरामी भई ६ डिसेम्बर १९५६ अर्थात् नेपाल भ्रमण गरेको २० दिनपछि दिवंगत भएका रहेछन् ।
उनले नेपालको दलित आन्दोलनलाई धेरै सुझाव दिन त पाएका रहेनछन् तर सहर्षनाथ कपाली लगायत नेताहरूले प्रजातन्त्रको प्रादुर्भावदेखि पञ्चायतकालसम्म दलित आन्दोलनको नेतृत्व गरेका हुनाले अम्बेडकर निश्चय पनि नेपालका दलित नेताहरूको प्रेरणाका स्रोत थिए ।
संवभतः उनकै नीति र सिद्धान्तलाई पछ्याउँदै सधैं शान्तिपूर्ण माध्यमबाट दलित अधिकारको वकालत गरे । आशा छ– लोकतन्त्रमा विश्वास नगर्ने कम्युनिष्ट देश उत्तरकोरियाले समेत अम्बेडकरलाई सम्मान दिंदा हामी नेपालका आम दलितहरूले उनीबाट थप प्रेरणा लिने नै छन् ।
प्रतिक्रिया 4