+
+
Shares

भारत–पाकिस्तानको ड्रोन युद्धले निम्त्याएको नयाँ चिन्ता

एजेन्सी एजेन्सी
२०८२ जेठ १३ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारत र पाकिस्तानले ड्रोन हतियारको प्रयोग तीव्र बनाउने योजना बनाइरहेका छन्।
  • दुवै देशले स्वदेशी र विदेशी प्रविधि प्रयोग गरी ड्रोन क्षमतामा वृद्धि गरिरहेका छन्।
  • पाकिस्तानले चीन र टर्कीसँगको साझेदारीलाई विस्तार गर्दै स्वदेशी ड्रोन उत्पादनमा जोड दिएको छ।

१३ जेठ, काठमाडौं । मे ८ तारिखको राति ८ बजेतिर उत्तरी भारतको जम्मु कश्मीरमा पाकिस्तानी ड्रोनहरू विरुद्ध भारतको हवाई सुरक्षा प्रणाली सक्रिय हुँदा रातो फ्लेयरहरू आकाशमा चम्किए ।
लडाकु विमान, परम्परागत क्षेप्यास्त्र र तोपको बलमा दशकौंदेखि लड्दै आएका भारत–पाकिस्तानको द्वन्द्वमा यसपटक भने मानवरहित ड्रोन (यूएभी) को प्रयोग देखियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम गराएको दावी गरेपनि भारत–पाकिस्तान पक्षले युद्ध रोक्नुमा आ–आफ्नै तर्क गर्दै आएका छन् । गत वर्ष यी दुई राष्ट्रले कूल ९६ अर्ब डलर रक्षा बजेट खर्चेका थिए र उनीहरु ड्रोन हतियारको होडमा छन् । त्यसैको चरमरुपमा पहलगाम आक्रमणपछि देखिएको हो ।

बेलायती समाचार संस्था रोयटर्सले भारत र पाकिस्तानका सुरक्षा अधिकारी, उद्योगपति र विश्लेषक गरी १५ जनासँग अन्तर्वार्ता गरेको थियो । जसमध्ये दुई जनाले भारत–पाकिस्तानबीच भविष्यमा मानवरहित ड्रोनहरुको प्रयोग तीव्र हुने बताएका छन् । यी दुई देशबीचको संघर्षले भविष्यमा युद्धको स्वरुप कति भयावह हुनसक्छ भन्ने देखाएको छ । यसमा प्रविधिको ठूलो भूमिका रहने देखिएको छ ।

परमाणु हतियार देखाएर एकअर्कालाई तर्साउँदै आएका दुई देशले कम खर्चिलो हुने भएकाले ड्रोन हतियारको प्रयोग भविष्यमा झन् बढाउने अनुमान गरिएको छ । ड्रोन फेडेरेशन इन्डियाका स्मित शाहका अनुसार भारतले रक्षा बजेटको एउटा हिस्सा अब ड्रोन हतियार उत्पादनका लागि घरेलु बजारमा खर्चनसक्छ ।

भारतले आगामी दुई वर्षभित्र झण्डै ४७० मिलियन डलर ड्रोन हतियारको उत्पादनमा लगानी गर्नसक्छ । विगतका वर्षहरुमा र सामान्य अवस्थासँग दाँज्दा यो लगानी तीनदेखि पाँच गुणा बढि भएको विश्लेषकहरु बताउँछन् । ड्रोन फेडेरेसन इन्डिया नामक संगठनमा भारतका ५ सय ५० भन्दा बढी कम्पनीहरु आबद्ध छन् । यो संगठनले भारत सरकारसँग समेत मिलेर काम गर्दै आएको छ ।

भारतले हालै आकस्मिकरुपमा हतियार खरिदका लागि भन्दै ४ दशमलक ६ अर्ब डलर रक्षा बजेट स्वीकृत गरेकाले पनि निगरानी गर्न र आक्रमणका लागि ड्रोनमा लगानी बढाउन सक्ने अनुमान गरिएको स्रोतहरुका विवरण संश्लेषण गर्दै रोयटर्सले लेखेको छ । सामान्यतः भारतमा सैन्य खरिद प्रक्रिया ढिलो हुने गरेको भएपनि यसपटक भने सरकारले तदारुकता देखाएर ड्रोन निर्माता कम्पनीहरुलाई छिटोछिटो काम गर्न भनेको आइडिया फोर्ज टेक्नोलोजीका उपाध्यक्ष विशाल सक्सेनाले बताए ।

अर्कोतर्फ पाकिस्तानले पनि महंगा लडाकु विमानहरु जोखिममा पर्ने देखेर ड्रोन हतियारमा ठूलो बजेट खर्चने स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । भारतसँगको तुलनामा पाकिस्तानसँग थोरै मात्रामा आधुनिक लडाकु विमान छन् । पाकिस्तानसँग चीनमा बनेको जे–१० नामक २० वटा लडाकू विमान छन् । भारतसँग भने फ्रान्समा बनेका तीन दर्जन राफेल विमान छन् । पाकिस्तानी रक्षा विश्लेषक ओइशी मजुमदारका अनुसार पाकिस्तानले चीन र टर्कीसँगको साझेदारीलाई थप विस्तार गर्दै स्वदेशी ड्रोन अनुसन्धान र उत्पादनमा जोड दिन सक्छ ।

पाकिस्तानको राष्ट्रिय एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी पार्क र टर्कीको बेएकार कम्पनीबीच सहकार्य YIHA–III ड्रोन अहिले स्थानीय रूपमै निर्माण भइरहेको छ । एउटा ड्रोन दुई–तीन दिनमै निर्माण गर्न सकिने देखिएको बताइएको छ । किंग्स कलेज लन्डनका राजनीतिक वैज्ञानिक वाल्टर लाडविग थ्रीले भारत र पाकिस्तानले ड्रोन हतियारको प्रयोग उच्चतम् शक्ति प्रदर्शनका लागि रोज्ने देखिएको बताए । परम्परागत युद्धभन्दा मानवरहित यस्ता ड्रोनहरूलाई सीमित तनाव उत्पन्न गरेर सशक्त सन्देश दिन र आन्तरिक जनमत व्यवस्थापन गर्न भारत–पाकिस्तानले रणनीतिक युद्धनीति लिएको उनको भनाइ छ ।

अप्रिल २२ मा कश्मीरमा भएको बन्दुकधारीले २६ जना पर्यटकको गोली हानी हत्या गरेका थिए । त्यस घटनामा पाकिस्तान समर्थित आतंकवादी संगठनको संलग्नता रहेको भन्दै ७ मे मा भारतले जवाफी आक्रमण थालेको थियो । पाकिस्तानमा रहेको आतंकवादी पूर्वाधारमा भारतले हवाई आक्रमण गरेको थियो । त्यसको भोलिपल्ट पाकिस्तानले भारतमाथि झण्डै ४ सय ड्रोन आक्रमण गरेको थियो । यो आक्रमणलाई भारतको सुरक्षा प्रणाली परीक्षण गर्ने पाकिस्तानी रणनीतिको रुपमा समेत हेरिएको छ ।

पाकिस्तानले भारतविरुद्ध टर्कीको YIHA–III , Asisguard Songar र स्वदेशी Shahpar–II ड्रोन प्रयोग गरेको थियो । तर, भारतले शीतयुद्धकालीन तोपहरूलाई आधुनिक रडार र सञ्चार प्रणालीसँग जडान गरी ती ड्रोनहरूलाई प्रभावकारी रूपमा रोक्न सफल भयो । पूर्व भारतीय ब्रिगेडियर अंशुमान नरङले भने, ‘अपेक्षाभन्दा दश गुणा बढी प्रभावकारी भयो ।’

भारतले इज्रायली हारोप, पोल्याण्डको वारमेट र स्वदेशी ड्रोनहरू प्रयोग गरेको थियो, जसले पाकिस्तानभित्रका सैन्य तथा आतंकवादी संरचनाहरूमा लक्षित आक्रमण गरेको दावी गरिएको छ ।
पाकिस्तानले केही हारोप ड्रोनहरूलाई भ्रममा पार्न नक्कली रडार स्थापना गरेको थियो । वा तिनीहरूको उडान अवधि समाप्त हुने समय पर्खेर तल झारी गोली प्रहार गरेको बताइन्छ ।
युद्धका क्रममा दुबै पक्षले धेरै ड्रोनहरू गुमाए पनि उनीहरू यसको प्रयोगमा अझ केन्द्रित छन् ।

‘यो तुलनात्मक रूपमा सस्तो प्रविधि हो’, वाशिंगटनस्थित विश्लेषक माइकल कुगेलम्यानले भन्छन्, ‘ड्रोनहरूले पारम्परिक मिसाइल वा लडाकु विमानको जस्तो प्रभाव नपार्न सक्छ, तर यसले शक्ति र उद्देश्य देखाउने माध्यमको रूपमा काम गर्छ ।’ भारतमा ड्रोन उद्योगमा लगानी बढ्दो छ । सरकारको आग्रहअनुसार कम्पनीहरुले लक्षित क्षेत्रमा घुमेर सटीक निसाना लगाउन सक्ने यूएभी ड्रोन निर्माण ध्यान केन्द्रीत गर्नसक्छन् ।

लिथियम र म्याग्नेट लगायतका पार्ट्समा अझै पनि चिनियाँ बजारमै निर्भर रहेको भारतका लागि यो चुनौतिपूर्ण भने छ । चीनले युक्रेनमा ड्रोन र कम्पोनेन्टको बिक्रीमा लगाएको प्रतिबन्धले त्यहाँको उत्पादन क्षमतामा ठूलो असर पारेको छ । त्यसैले भारतमा पनि चीनमाथिको निर्भरताले प्रतिबन्धहरु लाग्नसक्ने अवस्थामा भविष्यमा ड्रोन हतियारको विकासमा अवरोध पुग्न सक्छ ।

अन्तर्राष्ट्रिय कानूनअनुसार दोहोरो प्रयोजन भएका वस्तुहरूको निर्यातमाथि चीनले प्रतिबन्ध लगाउने गरेको त्यहाँको विदेश मन्त्रालयले प्रष्टिकरण दिने गरेको छ । ड्रोन फेडेरेशन इन्डियाका शाहका अनुसार ड्रोन हतियारको विकासमा कम्पोनेन्ट्सहरुमा परनिर्भरता मध्यम र दिर्घकालीन समस्या भएपनि तत्कालै समाधान गर्न भने भारतलाई कठिन पर्नेछ । -रोयटर्स

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?