
News Summary
Generated by OK AI. Editorially reviewed.- महिलाहरूले आइब्रो थ्रेडिङ गर्न १५ दिनको अन्तरालमा गर्न सुझाव दिइन्छ।
- बारम्बार थ्रेडिङले छालामा पोल्ने, डण्डीफोर र खुकुलोपनको जोखिम बढ्छ।
- सावधानीपूर्वक र अनुभवी सौन्दर्यकर्मीबाट मात्र थ्रेडिङ गराउन र सनस्क्रिन प्रयोग गर्न सल्लाह दिइन्छ।
जसरी हात र खुट्टाको अनावश्यक रौं हटाउन वाक्सिङ र रेजर प्रयोग गरिन्छ, त्यसरी नै महिलाहरूले आइब्रो वरिपरिको अतिरिक्त रौं हटाउन थ्रेडिङको सहारा लिन्छन् । यद्यपि केही महिलाहरूले आइब्रो सेट गर्न रेजर पनि प्रयोग गर्छन् ।
प्राय: महिलाहरू प्रत्येक १५ दिनमा पार्लर गएर आइब्रो थ्रेडिङ गराउँछन्। तर, यसरी छोटो अवधिमा गरिने थ्रेडिङ जोखिमपूर्ण हुन सक्छ ।
छाला पोल्ने समस्या
यदि बारम्बार आइब्रो थ्रेडिङ गरियो भने छालामा पोल्न सक्छ । त्यसैले, आइब्रो थ्रेडिङ गर्दा समयको अन्तर राख्न जरुरी छ । यो समस्या प्रायः ती व्यक्तिहरूलाई हुन्छ जसको छाला संवेदनशील हुन्छ । त्यसैले, संवेदनशील छाला भएकाहरूले १५ दिनमै थ्रेडिङ गराउन हुँदैन ।
डण्डीफोर आउने जोखिम
बारम्बार आइब्रो थ्रेडिङ गर्दा छालामा डण्डीफोरको समस्या पनि हुन सक्छ । किनभने थ्रेडिङ गरेर र्रौँ निकालेपछि, छिद्रहरू खुला रहन्छन्, जसले गर्दा ब्याक्टेरिया सहजैभित्र पस्न सक्छन् ।
यही कारणले गर्दा डण्डीफोर वा स-साना फोकाहरू देखा पर्न सक्छन् । त्यसैले, यदि थ्रेडिङ गराउँदै हुनुहुन्छ भने तुरुन्तै धुलो र फोहोरमा बाहिर निस्कनु हुँदैन ।
छाला खुकुलो हुँदै जान्छ
बारम्बार आइब्रो थ्रेडिङ गर्दा छालामा खुकुलोपन आउन सक्छ ।विशेष गरी किशोरावस्थाबाट नै आइब्रो थ्रेडिङ गर्ने गरेका व्यक्तिमा यो समस्या हुन सक्छ । जस कारण सानै उमेरमा उनीहरूको छालामा चाउरी पर्न थाल्छ । त्यसैले, सानै उमेरमा आइब्रो थ्रेडिङ गर्नबाट जोगिनुपर्छ ।
घामले डढ्ने जोखिम
बारम्बार आइब्रो थ्रेडिङ गर्दा छालाको छिद्रहरू खोलिन्छ । यस्तो अवस्थामा, यदि कतै यसरी बाहिर जानुभयो भने, घामले डढ्ने जोखिम बढ्छ । त्यसैले, आइब्रो थ्रेडिङ पछि सनस्क्रिन प्रयोग गरेर मात्र घरबाट बाहिर निस्कनु उचित हुन्छ ।
कति दिनमा थ्रेडिङ गर्ने ?
आइब्रो थ्रेडिङ कति दिनमा गर्नुपर्छ भन्ने कुरा व्यक्तिको कपालको वृद्धि गति, छालाको प्रकार र व्यक्तिगत प्राथमिकतामा निर्भर गर्छ । त्यसैले, आफ्नो आवश्यकता र छालाको अवस्था हेरेर सावधानीपूर्वक निर्णय लिनु उचित हुन्छ।
सामान्यतया धेरैजसो २ देखि ४ हप्ता (१५–३० दिन) को अन्तरमा थ्रेडिङ गर्छन् । यो अवधिमा कपाल सामान्य लम्बाइमा बढ्छ र आँखीभौंको आकार कायम राख्न सजिलो हुन्छ ।
१० देखि १५ दिनको बीचमै थ्रेडिङ गर्दा भने छालामा समस्या हुनसक्ने हुँदा १५ दिनपछि मात्र थ्रेडिङ गराउनु उचित हुन्छ । सकेसम्म ब्लेड र रेजर भन्दा धाँगोको प्रयोग गर्नु उचित हुन्छ ।
कस्तो कुरामा ध्यान दिने ?
यदि तपाईंलाई पनि आइब्रो थ्रेडिङ गराउन मनपर्छ भने सबैभन्दा पहिले दक्ष सौन्दर्यकर्मीबाट मात्र गराउनु उचित हुन्छ । थ्रेडिङ गर्नुअघि अनुहार र आँखीभौं वरपरको छाला राम्रोसँग सफा गर्नुपर्छ । यसले ब्याक्टेरियाको जोखिम कम गर्छ र छाला चिल्लो बनाएर थ्रेडिङ सजिलो हुन्छ ।
राम्रो गुणस्तरको बलियो र सफा धागो प्रयोग गर्नुपर्छ । आफूले पनि आइब्रो थ्रेडिङका लागि प्रयोग भइरहेको थ्रेड सही छ कि छैन भनेर पनि संकोच नमानी जाँच गर्नुपर्छ ।
आँखीभौंको प्राकृतिक आकार र अनुहारको बनावटअनुसार थ्रेडिङ गर्नुपर्छ । दुवै भौंको आकार समान र सन्तुलित राख्न विशेष ध्यान दिनुपर्छ । अनुभवी सौन्दर्यकर्मीले सही तरिकाले थ्रेडिङ गर्दा दुखाइ कम हुन्छ र भौं को आकार सुन्दर बन्छ ।
थ्रेडिङ गर्नुअघि विशेषगरी एलर्जी वा रातो हुने समस्या छ भने छालाको संवेदनशीलता जाँच्नुपर्छ । संवेदनशील छालाका लागि हल्का दबाब र सही प्रविधि प्रयोग गर्नुपर्छ । कहिलेकाहीँ छाला काट्ने समस्या पनि हुन्छ । यस्तो अवस्थामा एलोभेरा जेलले यी समस्याहरूबाट राहत दिन सक्छ ।
थ्रेडिङ पछि
थ्रेडिङपछि छालालाई सुख्खा राख्न र रातो हुनबाट जोगाउन एलोभेरा वा नरम पार्ने क्रिम लगाउनुपर्छ । सूर्यको किरण र कठोर रसायनबाट छालालाई जोगाउनुपर्छ ।
प्रतिक्रिया 4