
News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थर क्लार्कको भविष्यवाणी अनुसार स्याटेलाइटहरूले मानव जीवनमा ठूलो प्रभाव पार्नेछ, जिटलम्यानले पुष्टि गरे।
- अन्तरिक्ष अर्थतन्त्र २०३५ सम्ममा १८ खर्ब डलर पुग्ने अनुमान गरिएको छ, निजी कम्पनीहरूको भूमिका बढ्दै गएको छ।
- अमेरिका र चीनले अन्तरिक्ष क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन्, तर युरोपले पछाडि परेको छ।
२७ जेठ, काठमाडौं । सन् १९७७ मा चर्चित साइन्स फिक्सन लेखक आर्थर क्लार्कले लेखेका थिए, ‘विकसित देशहरूको जनजीवनमा टेलिफोनको आविष्कारले जति प्रभाव पारेको छ, स्याटेलाइटहरूले समग्र मानव जातिमा त्यसभन्दा धेरै ठूलो प्रभाव पार्ने छ ।’
जर्मन इतिहासकार तथा समाजशास्त्री रेनर जिटलम्यानले गरेको एक अध्ययन ‘एक्सप्लोरिङ द स्पेस इकोनोमी’ ले क्लार्कको भविष्यवाणी सत्य सावित हुँदै गएको देखाएको छ ।
स्टारलिंक, क्वाइनफान, क्विपर तथा स्याटनेट जस्ता विशाल स्याटेलाइट अन्तरिक्षमा जडान भएकमा छन्, जसले अहिले इन्टरनेट पहुँचमा नभएका संसारका एक तिहाइ जनसंख्यालाई चाँडै नै त्यो पहुँच दिलाउने छ । यसको आर्थिक प्रभाव निकै गहिरो हुने जिटलमानको निष्कर्ष छ । ।
अहिले संसारका सबैभन्दा धनी व्यक्ति इलन मस्कको सम्पत्ति करिब ४ खर्ब अमेरिकी डलर बराबर छ । संसारमा अहिले बिलिनायर (अर्बपति) हरू मात्रै रहेकोमा चाँडै नै ट्रिलिनायर (१० खर्बपति) बन्ने र त्यो अन्तरिक्षमा आधारित व्यापार गर्ने व्यक्ति हुने प्रक्षेपण पनि जिटलम्यानले गरेका छन् ।
हुन पनि अन्तरिक्ष कम्पनी स्पेसएक्सका मालिक मस्कको सम्पत्ति ४ खर्ब डलर पुगिसकेको छ । अब ६ खर्ब डलर थपिँदा उनी ट्रिलिनायर बन्नेछन् । अन्तरिक्षमा लगानी गरिरहेका अमेजनका साहु जेफ बेजोस वा अन्य कुनै अन्तरिक्ष व्यवसायीले पनि त्यो ताज पहिरिन सक्नेछन् ।
जिटलम्यान भन्छन्, ‘अन्तरिक्ष अहिले संसारमा सबैभन्दा कम मूल्यांकन भएको उद्योग हो । विशेषगरी यो युरोपमा उपेक्षित छ । यो क्षेत्रलाई अहिले अमेरिका र चीनले निकै नै प्राथमिकता दिइरहेका छन् । यीभन्दा युरोप धेरै पछाडि परेको छ ।’
सन् २०२३ मा अमेरिकाले १ सय ५३ वटा भूउपग्रह प्रक्षेपण गरेको थियो भने चीनले ६८ वटा । तर, समग्र युरोप केवल ३ प्रक्षेपणमा सहभागी थियो ।
चर्चित बिजनेस टेलिभिजन सीएनबीसीले अन्तरिक्षलाई ‘वाल स्ट्रिटको अर्को ट्रिलियन डलरको उद्योग’ भनेको छ । वल्र्ड इकोनोमिक फोरमले २०२४ अप्रिलमा गरेको अध्ययनले अन्तरिक्ष अर्थतन्त्रको आकार सन् २०३५ सम्ममा १८ खर्ब डलर पुग्ने अनुमान गरेको छ । मोर्गन स्टेन्लीले पनि भनेको छ, ‘कुनै अन्तरिक्ष–आधारित कम्पनीबाट नै पहिलो ट्रिलिनायर जन्मिने छ ।’
आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) ले अन्तरिक्षको अन्वेषण, अनुसन्धान, बुझाइ, व्यवस्थापन र प्रयोग गरी मानव जातिका लाभका लागि अन्तरिक्षको स्रोतको उपयोग गर्ने क्रियाकलापलाई अन्तरिक्ष अर्थतन्त्र भनी परिभाषित गरेको छ ।
२०२० सुरुतिर अन्तरिक्ष अर्थतन्त्रको कुल आकार करिब ३ खर्ब ७० अर्बदेखि ४ खर्ब ७० अर्ब डलरसम्म रहेको जिटलम्यानले जनाएका छन् । यसमा स्याटेलाइट नेभिगेसन र सञ्चार प्रणालीले प्रमुख हिस्सा ओगटेका थिए । यस क्षेत्रमा करिब ४ लाख मानिसले रोजगारी पाएको उनको अध्ययनले देखाएको छ । यो संख्या तीव्र बढिरहेको छ ।
विगतमा अन्तरिक्षमा राज्यले मात्रै लगानी गरिरहेको थियो र अन्तरिक्ष अर्थतन्त्र मुख्य रूपमा सरकारी अनुसन्धान वा रक्षा परियोजनामा सीमित थियो । अब अन्तरिक्षमा निजी उद्यम र व्यावसायिक परियोजनाले ठूलो हिस्सा ओगट्न थालेका छन् ।
चन्द्रमामा मानव अवतरणपछि सुस्त अन्तरिक्ष परियोजना, निजी क्षेत्र आएपछि तीव्र
१९६० दशकको अन्त्य र १९७० दशकको सुरुवातमा चन्द्रमा अवतरणपछि अमेरिकाको मानव अन्तरिक्ष उडान लगभग स्थगित भएको थियो । राजनीतिक हस्तक्षेपका कारण त्यस्तो भएको थियो । हरेक नयाँ राष्ट्रपतिले नयाँ योजना ल्याउँथे, सम्झौता गर्थे तर प्राथमिकतामा नपर्दा ती रद्द हुन्थे ।
अमेरिकी अन्तरिक्ष प्रशासन (नासा) को स्पेस सटल कार्यक्रमले अपेक्षित नतिजा दिएको थिएन । उसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा ठूलो लगानी गरेको थियो । तर, त्यसमा भएको लगानीको औचित्यमाथि ठूलो प्रश्न छ । एक किलोको वस्तुलाई अन्तरिक्षमा पुर्याउन लाग्ने खर्च झन्डै ४ दशकसम्म घट्न सकेको थिएन ।
जब यस क्षेत्रमा निजी क्षेत्र प्रवेश गर्यो, तब यस क्षेत्रमा ठूलो ‘ब्रेक थ्रु’ भयो । अन्तरिक्षयान प्रक्षेपण लागत ८० प्रतिशतले घट्यो । ‘यो त सुरुवात मात्रै हो । अन्तरिक्ष अन्वेषणले फेरि एक पटक पूँजीवादको श्रेष्ठता प्रमाणित गरेको छ,’ जिटलम्यान भन्छन् ।
१९६० को दशकमा अमेरिका र तत्कालीन सोभियत युनियनबीच अन्तरिक्षको दौडमा प्रतिस्पर्धा थियो । त्यो प्रतिस्पर्धामा अहिले रुस छैन, अमेरिकासँगको दौडमा चीन मिसिएको छ ।
तर, त्यसबेला र अहिलेको प्रतिद्वन्द्वितामा आधारभूत फरक छ । त्यसबेला अमेरिका र रुस दुवैका अन्तरिक्ष परियोजना सरकारले सञ्चालन गरेका थिए ।
अमेरिकाको अपोलो कार्यक्रमका लागि निजी कम्पनीहरूले रकेट बनाउँथे, तर तिनले कस्तो रकेट बनाउने भनेर सरकारी संस्था नासाले अत्यन्तै कडा निर्देशन दिन्थ्यो, जसका कारण लागत उच्च हुन्थ्यो । त्यसबेला निजी कम्पनीसँग रकेट किन्दा ‘कस्ट–प्लस’ भन्ने मोडेल अपानाउने गरिन्थ्यो ।
रकेट बनाउँदा लागेको लागतमा नाफा जोडेर रकेट बनाउने कम्पनीलाई नासाले भुक्तानी गथ्र्यो । यो मोडेलमा कम्पनीलाई रकेटको लागत कम गर्दा भन्दा बढाउँदा चाहिँ फाइदा हुन्थ्यो ।
पछिल्ला दिनमा नासा र निजी कम्पनीबीचको सम्बन्धमा आमूल परिवर्तन आएको छ । स्पेसएक्सका मालिक मस्कले पहिले नै मूल्य निर्धारण गर्ने विधिमा जोड दिए । नासाले स्पेसएक्सलाई कस्तो रकेट बनाउने भनेर निर्देशन दिने होइन कि उसले आफूलाई कस्तो सामान चाहिने हो पहिले भन्ने र त्यसअनुसार स्पेसएक्सले सेवा दिने मोडेलमा उनी गए ।
यसको नतिजा के निस्कियो भने २०२४ मा २ सय ६१ अन्तरिक्ष मिसन सञ्चालन भएकामा १ सय ३४ स्पेसएक्सले प्रक्षेपण गर्यो । स्पेसएक्स कुनै देश हुन्थ्यो भने ऊ त्यो साल प्रक्षेपण गर्ने दोस्रो देश बन्थ्यो, ६८ प्रक्षेपण गरेको चीन तेस्रोमा पुग्थ्यो ।
जसले निजी क्षेत्रलाई अघि बढाउँछ, उसैले जित्ने छ अन्तरिक्ष दौड
आज पनि निजी अन्तरिक्ष यात्रा अनावश्यक नियमहरू र सरकारी हस्तक्षेपले प्रभावित भइरहेको छ । यस्तो समस्या विशेषगरी युरोपमा छ, तर अमेरिका पनि अछुतो छैन ।
‘अमेरिकामा निजी अन्तरिक्ष कम्पनीलाई बढ्दो सरकारी झन्झटबाट कसरी मुक्त गराउन सकिन्छ भन्ने उपाय खोज्न इलन मस्क राजनीतिमा लागेका हुन् कि भन्ने मलाई लाग्छ,’ इतिहासकार जिटलम्यान भन्छन् ।
अहिले अन्तरिक्षको दौडमा सबैभन्दा अघि रहेका चीन र अमेरिकामध्ये कसले यो दौड जित्ला भन्ने अनुमान गर्न सजिलो छ । जुन देशले निजी कम्पनीलाई बढी अन्तरिक्ष सम्बन्धी अनुन्धान गर्न बढी स्वतन्त्रता दिन्छ, उसैले यसमा बाजी मार्ने जिटलम्यानको तर्क छ ।
हालका दिनमा यो मामलामा अमेरिका अघि छ । तर, चीन पनि पछाडि छैन । ‘चीनमा पछिल्ला दिनमा भइरहेका विकासलाई अवमूल्यन गर्न मिल्दैन, किनभने उसले सरकारी अन्तरिक्ष कार्यक्रममाथिको निर्भरता घटाउँदै लगेको छ भने यस काममा निजी कम्पनीलाई सहभागी गराइरहेको छ ।’
प्रतिक्रिया 4