+
+
Shares
इजरायलका नेपाली :

‘इजरायलमा पहिलेभन्दा आक्रमण तेज छ, तर स्वदेश फर्किन चाहन्नौं’

तेल अविभमा नेपाली केयरगिभरहरू तनावको बीचमा काम गरिरहेका छन् । त्यहाँ रहेका नेपालीहरूले हरेक केही मिनेटमा साइरन बज्ने र नजिकै विष्फोटको आवाज सुन्ने गरेको बताउँछन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ असार १ गते २२:०४
इजरायलमाथि इरानले गरेको आक्रमणपछि तेहरानको उत्तरपश्चिममा रहेको शहरानको तेल डिपोमा भएको आगलागी । तस्वीर : एपी

१ असार, काठमाडौं । करिब दुई दशकदेखि इजरायलमा बसोबास गर्दै आएका कृष्ण भण्डारीले यति शक्तिशाली आक्रमण यसअघि कहिल्यै अनुभव गरेका थिएनन् ।

‘पहिल्यैदेखि मिसाइल आक्रमण हुने गर्थ्यो, तर यहाँको अत्याधुनिक ‘आयरन डोम’ प्रणालीले अधिकांश आक्रमणहरू आकाशमै निस्तेज पार्थ्यो,’ भण्डारी भन्छन्, ‘तर, अहिले एकैचोटि ४ सयदेखि ५ सय मिसाइल आक्रमण हुँदा केही जमिनमा खसेर क्षति भएको छ ।’

गैरआवासी नेपाली संघ, इजरायलका अध्यक्षसमेत रहेका भण्डारीका अनुसार, शुक्रबार रातिबाट इजराइलको आकाशमा तनाव देखिन थालेको हो । मिसाइल आक्रमणका कारण राजधानी तेल अविभ आसपासको आकाश रातभर चम्किएको र साइरन बजिरहेको उनी बताउँछन् ।

‘मिसाइलले आकाश पूरै ढाकिएको देखिन्छ, केहीअघि नै साइरनबाट संकेत आएपनि यसपटक पहिले भन्दा फरक महसुस भइरहेको छ’, भण्डारीले अनलाइनखबरसँग भने, ‘हालसम्म कम्तिमा १३ जना मारिएका छन्, १०० भन्दा बढी घाइते भएका छन् ।’

इजरायलले इरानमाथि शुक्रबार हवाई हमला गरेको थियो, जसमा इरानका शीर्ष सैन्य कमाण्डर र आणविक वैज्ञानिकहरू मारिएका थिए । त्यसक्रममा इरानका सैन्य अड्डा, आणविक केन्द्रहरू र आवासीय क्षेत्रहरूमा आक्रमण भएको बीबीसीले जनाएको छ ।

इजरायलले इरान उच्चस्तरमा आणविक बम बनाउने तयारीमा रहेको भन्दै कारबाही सुरु गरेको जनाएको छ । इजरायलको कारबाहीपछि इरानले पनि मिसाइल आक्रमण सुरु गरेको हो । र, त्यसको सिधा असर इजरायलमा रहेका करिब ५ हजार ५ सय नेपालीहरूमाथि पनि परेको छ ।

तेल अविभमा नेपाली केयरगिभरहरू तनावको बीचमा काम गरिरहेका छन् । त्यहाँ रहेका नेपालीहरूले हरेक केही मिनेटमा साइरन बज्ने र नजिकै विष्फोटको आवाज सुन्ने गरेको बताउँछन् ।

भण्डारीका अनुसार, इरानको हवाई कारबाही तेल अबिब क्षेत्रमै केन्द्रित छ, जहाँ अधिकांश नेपालीहरू केयर गिभरका रुपमा कार्यरत छन् । ‘जेरुसलामभन्दा तेल अबिबमा तनावको स्थिति छ, त्यहाँका धेरै नेपालीले तनावपूर्ण अवस्थाबारे हामीलाई बताउनु भएको छ’, उनी भन्छन्, ‘आवश्यक परे कसरी सहयोग गर्ने भन्ने तयारी गरेर बसेका छौं ।’

तेल अविभमा रहेका मोरङका रमेश सुब्बा शुक्रबार यता निरन्तर आपतकालीन साइरन बजिरहेको बताउँछन् ।

‘नजिकैको क्षेत्रमा हिजो विष्फोट हुँदा मनमा कस्तो–कस्तो हुँदो रहेछ’, उनी भन्छन्, ‘तर, यहाँबाट जारी गरिएका निर्देशनहरू पालना गरिए त्यस्तो अफ्ठ्यारो स्थिति हो जस्तो पनि लाग्दैन ।’

उनका अनुसार, हवाई आक्रमण हुनुभन्दा झण्डै १५ मिनेट अगाडिदेखि साइरन बज्ने हुँदा बंकरमा जानलाई पर्याप्त समय हुन्छ ।

‘तर, कतिपय साथीहरु काममा जानलाई डराउनु भएको छ, नयाँ आउनु भएका साथीहरूमा अलि बढी तनाव छ’, उनले थपे, ‘केही नेपाली काम गरेको ठाउँबाट निस्किएर सडकमा रहेको बंकरमा जानुपर्ने स्थिति छ । त्यस्तो साथीहरू चिन्तामा हुनुहुन्छ ।’

इजरायलको किबुज अलुमिममा हमासको आक्रमणमा परेर २२ असोज २०८० मा १० नेपालीको मृत्यु भएको थियो । त्यसबेलामा हमासले नियन्त्रणमा लिएका नेपाली विद्यार्थी विपिन जोशीको अझै अत्तोपत्तो छैन ।

यो घटनापछि ८ कात्तिक २०८० मा सरकारले नेपाली श्रमिकलाई इजरायल पठाउन स्थगित गरेको थियो । इजरायल र अन्य देशबीच युद्धको स्थिति साम्य नभएसम्मका लागि भन्दै वैदेशिक रोजगार विभागले यो निर्णय लिएको थियो ।

तर, एनआरएनएका अध्यक्ष भण्डारीका अनुसार, रोक लगाएको समयमा समेत नेपालीहरू भिजिट भिसामा इजरायल पुगेका थिए ।

‘हमाससँगको युद्ध कम हुँदै गएपछि कृषि क्षेत्रमा काम गर्ने मानिसहरूको खाँचो भयो, त्यसपछि पहिले ‘लर्न एण्ड अर्न’ कार्यक्रममा गएकाहरुलाई समेत सम्पर्क गरिएको थियो’, उनी भन्छन्, ‘त्यसक्रममा अन्य भिसामा इजरायल आएका थुप्रैले भिसा परिवर्तन गरेको सूचना छ ।’

झापाको सुरुङ्गाका रमेश (नाम परिवर्तन) इजरायल र हमासबीच तनाव चलिरहेकै बेला एक कृषि कार्यक्रमका लागि तेल अविभ पुगेका थिए ।

‘सीमा क्षेत्रमा समस्या थियो, तेलअविभ, जेरुसलाममा केही समस्या थिएन’, नाम उल्लेख नगर्ने शर्तमा उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि यहीँ काम गर्न थालेको थिएँ, अर्को ठाउँमा गएर कृषि फर्ममा काम गर्न थालेँ ।’

शुक्रबारदेखि तनाव सुरु भएपछि चाहिँ उनी चिन्तामा छन् । ‘अहिले निरन्तर जसो साइरनहरू बजिरहेका छन्, आकाशमै विष्फोट भएको आवाजहरू पनि सुनिरहेको छु’, उनले भने, ‘यस्तोमा त्रास त हुने नै भयो ।’

उनले खतरा सूचित गर्ने ‘Tzofar’ र ‘Red Alert’ एप्स प्रयोग गर्दै आइरहेका छन् । ‘साइरन बज्नेबित्तिकै बंकरतिर लाग्छु । तर मृत्यु र मानिसहरू घाइते भएको खबर सुन्दा मन दुख्छ,’ उनी भन्छन् ।

इजरायलका लागि नेपाली राजदूत डा. धनप्रसाद पण्डित भने इजरायलमा रहेका ९९ प्रतिशत नेपालीले उद्धार गर्नु पर्दैन भनेको बताउँछन् । परराष्ट्र मन्त्रालयका अनुसार, इजरायलमा करिब ५ हजार ५ सय नेपाली नागरिक छन् ।

‘हामीले नेपालीहरूसँग कुरा गरेर उद्धार गर्नुपर्ने भए भन्नु होला भनेका थियौं’, राजदूत भण्डारीले अनलाइनखबरसँग भने, ‘तर, अधिकांशले जे पर्छ व्यहोरौंला तर, उद्धार नगर्नु होला भन्नुभएको छ ।’
विगतमा १० नेपाली विद्यार्थीको मृत्यु भएको बेला चाटर्ड विमान नै पठाएर नेपालीको उद्दार गरिएको थियो । ‘त्यसबेला फर्किएकाहरूले पछि राम्रो काम पाएनन्, त्यहीँ कारण पनि उनीहरूले राम्रो काम भइरहेको छ भन्ने सोचेर फर्किन नचाहेको हुनसक्छ’, उनी थप्छन् ।

एनआरएनएका अध्यक्ष भण्डारी भने इजरायल सरकारले जारी गरेको एड्भाइजरी मात्र पालना गर्ने हो भने सुरक्षित रहन सकिने बताउँछन् ।

‘संकटकालीन अवस्थामा के गर्ने भनेर अहिले ५/६ बुँदाको एड्भाइजरी जारी भएको छ, आपतकालीन अवस्थामा त्यसको पालना गर्नु एकदमै महत्त्वपूर्ण छ’, उनी भन्छन्, ‘साइरन नै निकैबेर अघि बज्ने हुँदा सुरक्षित ठाउँमा जानलाई पर्याप्त समय हुन्छ ।’

पहिलेभन्दा आक्रमण शक्तिशाली देखिएकाले सकभर भुइँतलाको बंकरमा गएर बस्नुपर्ने समेत उनले बताए ।

‘साइरन बजेका बेलामा सुरक्षित स्थानमा गएर बस्नुपर्नेमा कतिपय भिडियो खिचेर, लाइभ गरेर पनि बस्छन्, त्यसले चुनौति बढाउँछ’, उनी भन्छन्, ‘खासमा हाम्रै गतिविधिले पनि खतरा निम्त्याउँछन् ।’
कतिपय राति साइरन बजेका बेला पनि सुतेको सुत्यै हुने गरेको भन्दै उनी थप्छन्, ‘यस्ता कुराहरूमा ध्यान दिनुपर्छ ।’

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले बिहीबार इरानले उच्चस्तरमा आणविक बम बनाउन थालेको भन्दै त्यसविरुद्ध सैनिक कारबाही थालिएको घोषणा गरेका थिए । इरानको कदमले आणविक अप्रसार सन्धि अन्तर्गतको दायित्वको उल्लंघनमा भएको नेतन्याहूको जिकिर छ ।

ओमानमा अमेरिका र इरानबीच आणविक कार्यक्रमसम्बन्धी नयाँ कूटनीतिक वार्ता हुने तय भएका बेला इजरायलले आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार, सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट अमेरिका फिर्ता गरेपछि इरानको आणविक कार्यक्रम तीव्र गतिमा बढेको थियो ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?