+
+
Shares

भारतीय फिल्म उद्योगमा क्रान्ति ल्याउने बम्बे टकिज

सन् १९३४ मा स्थापना भएको बम्बे टकिज भारतको पहिलो कर्पोरेट फिल्म स्टुडियो थियो। अहिले यो इतिहासमा सीमित छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बम्बे टकिज भारतको पहिलो कर्पोरेट फिल्म स्टुडियो थियो, जुन १९३४ मा स्थापना भयो ।
  • यसले भारतीय फिल्म उद्योगमा नयाँ प्रवृत्तिहरू र स्टारहरू जन्माएको थियो ।
  • सन् १९५४ मा यसको अन्त्य भए तापनि यसको प्रभाव आजसम्म कायम छ ।

त्यस बेला भारतमा बम्बे टकिज नामक एक प्रसिद्ध फिल्म स्टुडियो थियो। सन् १९३० र ४० को दशकमा यसले केही ठूला हिन्दी फिल्महरू मात्र बनाएन, बरु अशोक कुमार, दिलीप कुमार र मधुबाला जस्ता स्टारहरूको करियरलाई पनि उचाइ दिएको थियो ।

ब्लकबस्टर, स्टार, मसाला फिल्म जस्ता शब्दहरू यो क्षेत्रमा प्रचलित गराउन यही स्टुडियोको ठूलो भूमिका रहेको मानिन्छ। हिन्दी सिनेमाको तत्वहरू भनेर चिनिने गीत, ड्रामा, रोमान्स, संघर्ष जस्ता कुराहरू यही बम्बे टकिजबाट सुरु भएको थियो ।

अर्को खास पक्ष भनेको सन् १९३४ मा स्थापना भएको बम्बे टकिज भारतको पहिलो कर्पोरेट फिल्म स्टुडियो थियो। त्यस समयमा यो एक सुसंगठित र आत्मनिर्भर स्टुडियो थियो । यसमा बोर्ड अफ डाइरेक्टरहरू थिए। स्टुडियोका शेयरहरू विधिवत् जारी गरिएको थियो । नाफा हुँदा डिभिडेन्ड र बोनस समेत दिइन्थ्यो। यतिसम्म कि स्टक एक्सचेन्जमा समेत यो स्टुडियो सूचीकृत थियो ।

तर त्यस्तो इतिहास भएको यो स्टुडियो आज इतिहासमा मात्र सीमित छ ।

बम्बे टकिजको सुरुआत

एक धनी बंगाली परिवारमा जन्मेका हिमांशु रायको सपनाको परिणाम थियो, बम्बे टकिज । यो स्टुडियो अघि उनीहरूको आफ्नै एक निजी थिएटर पनि थियो। तर यस स्टुडियोको कथा भने बेलायतसम्म पुग्छ ।

कलकत्ताबाट कानूनको डिग्री हासिल गरेपछि ब्यारिस्टर (एक प्रकारको कानुनी पेशेवर) बन्न हिमांशु लन्डन पुगेका थिए। तर उनलाई त्यहाँ थिएटरको शौक लाग्यो। उनी नाटकहरूमा अभिनय गर्न थाले। उनले रंगमञ्चका लागि प्रसिद्ध क्षेत्र वेस्टएन्डमा पनि काम गरे। त्यहीँ उनको भेट नाटककार निरञ्जन पालसँग भयो।

निरञ्जन प्रसिद्ध सैनिक अधिकृत बिपिन चन्द्र पालका छोरा थिए। उनले त्यस समयमा लन्डनमा थिएटरको दुनियाँमा राम्रो नाम कमाइरहेका थिए। त्यस समयमा उनले आफ्नो नाटक ‘द गडेस’ मा हिमांशु रायलाई पनि काम दिए। जुन भूमिका मुख्य नै थियो।

त्यसपछि सन् १९२२ मा हिमांशुले पढाइ छोडे। अनि ब्यारिस्टर बन्नुको सट्टा एक थिएटर ग्रुप बनाए। यसको नाम ‘द इन्डियन प्लेयर्स’ राखिएको थियो। यसले तत्कालीन समयमा बेलायतमा विभिन्न ठाउँमा शो प्रस्तुत गरेको थियो।

हिमांशु रायको पर्दामा आगमन

हिमांशु नाटकहरूसँगै फिल्महरू बनाउन चाहन्थे। त्यस समयका युरोपेली फिल्महरूमा औपनिवेशिक मानसिकता अन्तर्गत भारतीयहरूलाई एक अनौठो स्टेरियोटाइपको रूपमा देखाइन्थ्यो।

यता हिमांशु भने भारतीय समाजको यथार्थलाई देखाउने एक नयाँ भाष्य बनाउन चाहन्थे। जुन पूर्ण रूपमा भारतीय होस्। तर त्यसमा आधुनिकताको छाप होस् र प्राविधिक रूपमा युरोपेली फिल्महरूसँग टक्कर दिन सकोस्।

यही सपनाका साथ उनले मौन फिल्म (आवाज नभएको) ‘द लाइट अफ एसिया’ (हिन्दी नाम ‘प्रेम संन्यास’) बनाउने निर्णय गरे। जुन गौतम बुद्धको कथामा आधारित थियो।

यसको स्क्रिप्ट भने निरञ्जन पालले लेखेका थिए। सन् १९२४ मा हिमांशु पालसँग जर्मनीको म्युनिख गए। त्यहाँ जानुको कारण त्यही फिल्म थियो। र उनले एमेल्का स्टुडियोलाई फिल्म सह-निर्माता बन्न मनाए।

त्यसपछि प्राविधिक टोली र उपकरण एमेल्काका हुने र बजेट, कलाकार र लोकेशनको व्यवस्था हिमांशु रायले गर्नुपर्ने तय भयो। त्यसपछि हिमांशु र निरञ्जनले केही महिनामै पैसा जुटाए। गौतम बुद्धको भूमिका स्वयं हिमांशुले निभाए। त्यससँगै जर्मन चलचित्रकर्मी फ्राञ्ज अस्टेनसँग फिल्मको सह-निर्देशन पनि गरे।

यसरी तयार गरिएको यो फिल्म सन् १९२५ मा रिलिज भएको थियो। अन्तर्राष्ट्रिय स्तरमा रिलिज गरिने यो पहिलो भारतीय फिल्म समेत बन्यो। त्यसपछि हिमांशुले जर्मनीकै प्रसिद्ध युएफए स्टुडियोसँग मिलेर ताजमहलमा आधारित प्रेम कथा ‘शिराज’ (सन् १९२८) र महाभारतको एक प्रसंगमा आधारित ‘अ थ्रो अफ डाइस’ (सन् १९२९) फिल्म बनाए।

यी तीनवटै फिल्मको निर्देशन फ्राञ्ज अस्टेनले सम्हालेका थिए। र ती सबैमा नायक हिमांशु नै थिए। त्यस समयमा यी फिल्महरूको धेरैजसो आउटडोर सुटिङ भारतमै भएको थियो। अनि उनको अनुरोधमा धेरै राजाहरूले आफ्ना महल, किल्ला, हात्ती-घोडा र जनताहरू सुटिङका लागि उपलब्ध गराएका थिए।

यस्तो अनौठो अनुभवलाई निर्देशक फ्राञ्ज अस्टेनले आफ्नो डायरीमा समेत उल्लेख गरेका छन्। उनका अनुसार फिल्ममा देखिएका पुजारी, भिखारीहरू वास्तवमै हुन्थे।

यसरी गरिएको सुटिङपछि फिल्महरूको नेगेटिभ जर्मनी लगेर प्रोसेस र एडिट गरिएको थियो। भारतीय संस्कृतिलाई विदेशी नजरबाट देखाउने यी फिल्महरू बेलायत र जर्मनीमा त चर्चित भएका थिए। तर भारतमा सोचे जति चल्न सकेनन्। त्यो कुराले हिमांशुलाई निराशा दिएको थियो।

तर उनको तेस्रो फिल्म ‘अ थ्रो अफ डाइस’ को निर्माणको क्रममा त्यस्ता केही महत्त्वपूर्ण घटनाहरू घटे, जसले उनको जीवन र करियरको दिशा नै बदलिदियो।

देविका रानीसँग भेट

लन्डनको एक आर्ट स्टुडियोमा काम गरिरहेकी फेब्रिक डिजाइनर देविका रानीसँग हिमांशुको भेट भयो। पश्चिमी शैलीमा ढलेकी देविका रवीन्द्रनाथ ठाकुरको परिवारसँग नजिक थिइन्। तर नौ वर्षको उमेरदेखि नै उनी बेलायत बसिरहेकी थिइन्।

स्वतन्त्र, निडर र ग्ल्यामरस देविकालाई पहिलो नजरमै हिमांशुले मन पराए। अनि उनले ‘अ थ्रो अफ डाइस’ को सेट डिपार्टमेन्टमा काम गर्न बोलाए।

हिमांशु त्यसअघि नै विवाहित थिए। मेरी ह्यानलिन नामकी उनकी जर्मन पत्नी थिइन्। मेरी अभिनेत्री र नर्तकी थिइन्। तर त्यो फिल्ममा सँगै काम गर्दा हिमांशु र देविकाबिच प्रेम सम्बन्ध सुरु भयो। र उनीहरूले सन् १९२९ मा विवाह नै गरे।

देविका हिमांशुभन्दा करिब १५ वर्ष कान्छी थिइन्। यही फिल्मको निर्माणको क्रममा हिमांशुको निजी जीवनसँगै फिल्मको दुनियाँमा पनि एक ठूलो घटना घटिसकेको थियो। किनकि हलिउडमा संसारकै पहिलो आवाज सहितको फिल्म ‘द ज्याज सिङ्गर’ रिलिज भएको थियो।

कर्मार किसिङ सिन

आवाज सहितको फिल्महरूको जमाना आइसकेको थियो। त्यस्तैमा हिमांशुले आफ्नो नयाँ फिल्म ‘कर्मा’ लाई दुई भाषामा (हिन्दी र अंग्रेजी) बनाउने निर्णय गरे। युरोपमा नाम कमाइसकेका उनका फिल्महरूले त्यसबेला भारतमा सफलताको स्वाद पाइसकेको थिए।

‘कर्मा’ को माध्यमबाट उनी भारतीय कथामा बनेको फिल्म पनि हलिउडको स्तरको हुन सक्छ भनेर देखाउन खोजिरहेका थिए। त्यसैक्रमा ‘कर्मा’ मा हिरोइनको रूपमा उनले देविकालाई लिने विचार गरे। यसरी ‘कर्मा’ देविकाका लागि पहिलो फिल्म बन्न गयो भने हिरोको रूपमा हिमांशुको अन्तिम।

त्यस फिल्ममा दुवैले छिमेकी राज्यका शासकहरूको भूमिका निभाएका थिए। जो एकअर्काको प्रेमसँग पर्छन्। त्यससँगै यस फिल्मको एक दृश्य निकै चर्चित बन्न पुग्छ। त्यो एकअर्कालाई चुम्बन गरेको दृश्य थियो।

उक्त ‘किस’ सिनलाई प्रायः हिन्दी फिल्महरूको पहिलो ‘लिप लक’ र ‘सबैभन्दा लामो किस सिन’ भन्ने गरिएको छ। तर यी दुवै कुरा गलत हुन्। त्यस समयमा भारतमा अंग्रेजहरूको शासन थियो। त्यसले गर्दा केही अन्य भारतीय फिल्महरूमा पनि किस सिन आइसकेका थिए।

त्यसअघिका फिल्महरू जस्तै ‘कर्मा’ को धेरैजसो सुटिङ भारतमा भयो। तर यसलाई बनाउन दुई वर्षभन्दा बढी समय लागेको थियो। यसको कारण भनेको विश्वभर भएको आर्थिक संकट थियो।

तर अन्ततः सन् १९३३ मे महिनामा अंग्रेजीमा फिल्म कर्माको प्रिमियर लन्डनमा भयो। फिल्म त्यति चलेन। तर देविकाको सुन्दरता र उनको अंग्रेजी उच्चारणको निकै प्रशंसा भयो।

फेरि त्यही वर्ष नाजी पार्टी सत्तामा आएपछि हिमांशुको जर्मनीमा बनेको फिल्मी नेटवर्कमा असर पर्यो। त्यसले गर्दा अन्तर्राष्ट्रिय फिल्म निर्माणको सट्टा भारतको घरेलु फिल्म बजारमा उनले ध्यान केन्द्रित गर्ने निर्णय गरे।

त्यही निर्णयपछि सन् १९३३ को अन्त्यमा हिमांशु र देविका भारत फर्के। उनीहरूले आफ्नो साथमा ‘कर्मा’ को हिन्दी संस्करण पनि लिएर आएका थिए। यो फिल्म सन् १९३४ जनवरी २७ मा ‘कर्मा’ बम्बईमा रिलिज भयो। तर सफलता भने पाएन।

हलिउड स्टाइलको बम्बे टकिजको जग

उनीहरू भारत फर्कदासम्ममा पुणेमा प्रभात फिल्म कम्पनी र कोलकाता न्यू थिएटर्स जस्ता स्टुडियोहरू सञ्चालनमा आइसकेका थिए। यता हिमांशु भने बम्बईमा हलिउड स्तरको ठूलो स्टुडियो बनाउन चाहन्थे। तर तत्कालै स्टुडियो खोल्न पैसा बाधक बनिरहेको थियो।

तर फिल्म निर्माणलाई व्यावसायिक बनाउने सोचेका उनले स्टुडियोका लागि जग्गा हेर्न पनि थाले। र बम्बईभन्दा अलि बाहिर मलाडमा जग्गा पनि भेटे। पैसाको पनि व्यवस्थापन भयो। त्यस समयमा बम्बईका ठूला व्यवसायी राजनारायण दुबेले लगानी गरेका थिए।

त्यसपछि साउन्डप्रूफ सुटिङ फ्लोर, एडिटिङ रूम र प्रिभ्यू थिएटर भएको आधुनिक स्टुडियो बनेर तयार भयो। र त्यही स्टुडियोको नाम थियो ‘बम्बे टकिज लिमिटेड’।

यस स्टुडियोका लागि जर्मनीबाट आधुनिक उपकरणहरू किनिएको थियो। जर्मनी र बेलायतबाट दक्ष जनशक्तिहरू पनि ल्याइएको थिए। तिनमा सिनेम्याटोग्राफर जोसेफ विर्शिंग, आर्ट डाइरेक्टर कार्ल वन स्प्रेट्टी र निर्देशक फ्राञ्ज अस्टेन थिए।

स्टुडियोमा हिमांशु र देविकाले रचनात्मक काममा हेर्ने र वित्त र व्यवसाय राजनारायण दुबेले हेर्ने सहमत भएको थियो। त्यसैगरी बम्बे टकिजका फिल्महरूमा हिरोइन देविका हुने तय भएको थियो। तर यस स्टुडियोको पहिलो फिल्ममै विवाद उत्पन्न भयो।

जवानी की हवा

‘जवानी की हवा’ बम्बे टकिजको पहिलो फिल्म थियो। यो एक थ्रिलर मर्डर मिस्ट्री विधाको थियो। यसका नायक नजमुल हसन थिए, उनलाई स्वयं हिमांशुले छानेका थिए।

नयाँ स्टुडियो, ठूलो लगानी, पूरा हुँदै गरेको सपना – यसकारण पनि हिमांशु हर समय काममा व्यस्त भइरहेका थिए। तर उता स्टुडियोमा हल्ला फैलिएको थियो कि देविकाको अफेयर चलिरहेको छ।

जे जस्तो भए पनि त्यो फिल्म तयार भयो। र सन् १९३५ मा रिलिज नै भयो। यसमा देविका-नजमुलको जोडी निकै हिट रह्यो। यही जोडीसँग अर्को फिल्म ‘जीवन नैया’ को सुटिङ पनि स्टुडियोले सुरु गर्यो।

तर त्यो फिल्मको सुटिङको क्रममा अचानक देविका र नजमुल गायब भए। पछि उनीहरू कलकत्तामा रहेको थाहा भयो। र उनीहरू दुवै कलकत्ताको ग्रान्ड होटलमा फेला परे।

देविका स्टुडियोकी हिरोइन थिइन्। त्यसैले हिमांशुका नजिकका साथी शशाधर मुखर्जीले देविकालाई मनाएर फिर्ता ल्याए।

तर त्यस घटनापछि हिमांशु र देविकाको सम्बन्ध पहिले जस्तो हुन सकेन। नजमुल हसनलाई पनि स्टुडियोले कामबाट निकालिदियो। त्यतिमात्र होइन उनीसँग खिचिएका रीलहरू नष्ट गरिदियो। र ‘जीवन नैया’ का लागि फेरि नयाँ हिरोको खोजी सुरु भयो।

किस्मतबाट मिल्यो हिन्दी सिनेमाको पहिलो स्टार

त्यस घटनापछि बम्बे टकिजका ल्याब टेक्निसियन कुमुदलाल कुञ्जीलाल गांगुलीको भाग्यले अचानक मोड लियो। किनकि हिमांशुले उनलाई अबको फिल्ममा हिरो बनाउने निर्णय गरे। तर कुञ्जीलालको नाम भने परिवर्तन गर्नु पर्ने भयो।

कुमुदलाल अहिलेका अशोक कुमार हुन्। हिमांशुको त्यो निर्णय यति ऐतिहासिक बन्न पुग्यो कि अशोक कुमार हिन्दी सिनेमाको पहिलो ‘स्टार’ र महान् अभिनेता बन्न पुगे।

यसरी ‘जीवन नैया’ मा अशोक कुमार जोडिए। सन् १९३६ मा आएको यो फिल्म निकै चल्यो। तर त्यो भन्दा पनि ‘अछूत कन्या’ अझ बढी हिट भयो। दलित केटी र एक ब्राह्मण केटाको दुःखद प्रेम कथाले अशोक कुमारलाई हिरोको रूपमा स्थापित गर्यो।

त्यसपछि पनि देविका-अशोकको जोडीले सँगै धेरै फिल्महरू गरे। त्यो ‘अछूत कन्या’ उनीहरूलाई सम्झिरहने फिल्म मानिन्छ।

यसरी सफलता पाउँदै गएपछि बम्बे टकिजले हरेक वर्ष करिब तीन फिल्म बनाउने योजना बनायो। त्यस समयमा यस स्टुडियोमा करिब ४०० जनाको स्टाफ थियो। उत्कृष्ट प्राविधिक उपकरण थियो। तत्कालका अन्य भारतीय स्टुडियोहरूको तुलनामा उनीहरूका फिल्महरू प्राविधिक रूपमा उत्कृष्ट हुन्थे। तर समय सधैं एकै नासको हुँदैन।

बम्बे टकिजलाई लागेका ठूला धक्काहरू

सन् १९३९ मा बम्बे टकिजमा अचानक ठूलो धक्का लाग्यो। दोस्रो विश्व युद्ध सुरु भएकाले ब्रिटिश सरकारले जर्मन टेक्निसियनहरूलाई कडाइ गर्न थाले। त्यसमा निर्देशक फ्राञ्ज अस्टेनलाई पनि परेका थिए। धेरै जर्मन स्टाफलाई त गिरफ्तार गरेर अंग्रेजहरूले कैद नै गर्न थाले। यसले फिल्मको प्राविधिक गुणस्तरमा नराम्ररी प्रभाव पार्यो।

त्यसको बढी तनाव हिमांशुलाई पर्न गयो। त्यसैकारण हिमांशु रायलाई नर्भस ब्रेकडाउन भयो। यसरी सन् १९४० मे १६ मा मात्र ४८ वर्षको उमेरमा हिमांशुको निधन भयो।

यता उनको मृत्युले देविकालाई पनि असर गर्यो। तर उनलाई स्टुडियोलाई सम्हाल्नु थियो।

हिन्दी सिनेमाको ट्रेन्डसेटर

त्यतिबेला एउटी महिलाले फिल्म स्टुडियो सम्हाल्नु साहसिक सुरुवात थियो। तर हिमांशुको मृत्युपछि स्टुडियोमा दुई गुट बनिसकेको थियो। त्यसले गर्दा कम्पनी सम्हाल्ने विषयमा संघर्ष पनि सुरु भइसकेको थियो। यद्यपि देविकाले निष्ठापूर्वक त्यस संघर्षको सामना गरिन् र ‘बसन्त’ र ‘किस्मत’ जस्ता निकै हिट फिल्महरू निर्माण गरिन्।

देविकाकै पालामा बम्बे टकिजको सबैभन्दा ठूलो हिट र भारतको पहिलो ‘ब्लकबस्टर’ फिल्म ‘किस्मत’ (१९४३) बनेको थियो। ज्ञान मुखर्जीको निर्देशनमा बनेको यो फिल्म कोलकाताको रोक्सी सिनेमा हलमा तीन वर्षभन्दा बढी चलेको थियो। यस फिल्मले बलिउडमा धेरै नयाँ प्रवृत्तिहरू स्थापना गर्न पनि सफल भयो।

देविकाको विरुद्धमा अशोक कुमार

त्यही वर्ष देविकाले आफ्नो अन्तिम फिल्म ‘हमारी बात’ (१९४३) मा अभिनय गरिन्। यस फिल्ममा नयाँ अभिनेता राज कपूरले एउटा सानो भूमिका निभाएका थिए।

बम्बे टकिजले अशोक कुमार मात्र नभएर दिलीप कुमार र मधुबाला जस्ता कलाकारहरूलाई पनि अवसर दिइरहेको थियो। तर त्यसले समस्याहरू पनि निम्त्याइरहेको थियो।

यी विषयहरूलाई लिएर अशोक कुमारले देविकाविरुद्ध विद्रोह गर्न थाले। त्यसमा ज्ञान मुखर्जी र शशधर मुखर्जी पनि सामेल भएका थिए। त्यसपछि अशोक कुमारले बम्बे टकिज छोडेर ‘फिल्मिस्तान’ नामक एउटा नयाँ स्टुडियो सुरु गरे।

सो घटनाका कारण देविका उठ्न सकिनन्। त्यसपछि सन् १९४५ मा उनले बम्बे टकिजका आफ्ना शेयरहरू बेचिन्। र रुसी चित्रकार स्वेतोस्लाव रोएरिखसँग विवाह गरिन्। त्यसपछि उनले फिल्म उद्योगलाई नै अलविदा गरिन्। उनले अन्तिम सास बैंगलोरमा सन् १९९४ मार्च ९ मा लिइन्।

बम्बे टकिजको अन्त्य

देविकाले स्टुडियो छोडेपछि अशोक कुमार र अरू केही जना बम्बे टकिज नै फर्केका थिए। त्यसपछि पनि ‘मजबूर’ (१९४८), ‘जिद्दी’ (१९४८), ‘महल’ (१९४९) जस्ता सफल फिल्महरू बनाएका थिए। तर स्टुडियोले आफ्नो पुरानो गौरव फर्काउन सकेन।

सन् १९५४ को फिल्म ‘बादबान’ नै बम्बे टकिजको अन्तिम फिल्म बन्न पुग्यो। यसरी बम्बे टकिज २० वर्षको यात्रामै समाप्त भयो। यस अवधिमा यो स्टुडियोले ४० फिल्महरूको निर्माण गरेर स्टारहरू जन्माएको थियो। त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा, प्राविधिक सुधार र कथा भन्ने शैलीको जग नै राख्यो। जुन आज पनि हिन्दी चलचित्रको आत्मामा बाँचिरहेको छ।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?