News Summary
Generated by OK AI. Editorially reviewed.- दोस्रो महिनामा गर्भवती महिलाको शरीरमा परिवर्तनहरू स्पष्ट रूपमा महसुस हुन्छन्।
- यस समयमा स्वास्थ्य जटिलता र परीक्षणहरू आवश्यक हुन्छन्, साथै पोषिलो खानपान अनिवार्य छ।
- परिवारको साथ र चिकित्सकको नियमित परामर्शले जोखिम कम गर्न मद्दत गर्दछ।
गर्भावस्थाको दोस्रो महिनामा के के हुन्छ ? पहिलोपटक गर्भवती बन्दै गरेकी महिलाको मस्तिष्कमा आउने प्रश्न हो, यो ।
पाँचौंदेखि आठौं हप्ता बीचको यो चरणमा महिलालाई बल्ल गर्भ रह्यो भन्ने वास्तविक अनुभूति हुन्छ ।
यही समय हो, जब उनको शरीरमा परिवर्तनहरू स्पष्ट रूपमा महसुस हुन थाल्छन् । बिहान–बेलुका वाकवाकी, खानामा अरुचि, शरीर गलेजस्तो र कहिलेकाहीँ रिँगटा लाग्ने अवस्था देखिन्छ ।
अनुहार मलिन देखिन सक्छ, थकाइ अधिक महसुस हुन सक्छ । तर, यी सबै प्राकृतिक प्रक्रिया हुन्, जो मातृत्व आभास गराउने पहिलो कदमका संकेत हुन् ।
आमामा देखिने परिवर्तन
यो महिनामा प्रोजेस्टोरोन र टेस्टोस्टोरेन हर्मोन गडबड तीव्र मात्रामा हुन्छ । यो बेला कुनै पनि गन्धप्रति संवेदनशीलता बढ्न थाल्छ । जसले गर्दा कुनै खानेकुराको बास्ना पनि गन्हाउन थाल्छ ।
बिहानपख वाकवाक लाग्ने, पहिलेको भन्दा बढी थकान अनुभव हुने, सुतिराख्न मन लाग्ने, पिसाबमा हल्का रगत वा दाग देखिने हुनसक्छ । यो समय महिनावारी हुन लागेको बेला जस्तो स्तन भारी हुने, हिँड्दा दुख्ने र निप्पलको भाग गाढा हुने जस्तो लक्षण देखिन्छ ।
मानसिक स्थिति
यो समय महिलाहरूमा अत्यधिक कौतूहलता र भावनात्मक उतारचढाव देखिन सक्छ । कसैले धेरै समयदेखि सन्तानको चाहना गरेको हुन्छ भने कसैले अनायास गर्भधारण गरेका हुनसक्छन् ।
कारण जे होस्, मातृत्वको भावनाले ओतपोत हुन्छिन्, महिला । यो समयमा अचानक आउने प्रोजेस्टोरोन हर्मोन वृद्धि भएसँगै एकछिन भावुक हुने, खुसी हुने, उत्साहित हुने, एकछिन दुःखी हुने र रुन मन लाग्ने मिश्रित भावना आइरहन्छन् ।
यो समयमा थोरै रगत योनीबाट आउँदा पनि बच्चा खेर भएको हो कि भन्ने डरले सताउन सक्छ । कतिपयमा बच्चामा समस्या देखिने त होइन भन्ने किसिमको तर्कनाहरू आइरहन्छन् ।
योजनाबिना गर्भ बसेको अवस्थामा महिलामा करियरलाई लिएर पनि धेरैथोर चिन्ता हुने गर्छ ।
स्वास्थ्य समस्या र जटिलता
गर्भवती महिलाले अनुभव गर्ने लक्षणमा केही तलमाथि पनि हुनसक्छ । कुनै चिन्ता वा अन्योलमा परे चिकित्सकको परामर्श लिन ढिला गर्नु हुँदैन ।
यो महिनामा सामान्यदेखि गम्भीर जटिलताहरू देखिन सक्छन् । जसलाई पहिल्याउनु आवश्यक छ । तल्लो पेटमा दुखाइ, रगत बग्ने, पाठेघरको मुख खुल्ने, गर्भपातको जोखिम, रक्तचाप न्यून हुने, चक्कर लाग्न सक्ने, पाठेघरमा बस्नुपर्ने बच्चा नलीमा बसिदिने जस्ता जटिलता आउनसक्छ ।
बच्चाको विकासको गति
यतिबेला भ्रुण बल्ल बन्दै गरेको अवस्थामा हुन्छ । एकदेखि साढे दुई सेन्टिमिटरको साइजको मात्रै हुन्छ । अङ्गहरूले रुपरेखा लिइसकेको हुँदैनन् । बच्चाको हात, खुट्टा, नाक, मुख र कानको प्रारम्भिक संरचना देखा पर्न थाल्छ ।
आँखाको ढकनीले रुपरेखा लिन थाल्छ । केही महत्वपूर्ण अंगको बिस्तारै विकास हुन्छ । जस्तै, फोक्सो श्वासप्रश्वासको नलीसँग घाँटीमा गएर जोडिन्छ । यो बेला बच्चाको मुटुको धड्कन अल्ट्रासाउन्डमा देखिन थाल्छ भने बच्चाको मुटु चार हप्ता देखि पाँच हप्ता सम्म बनिसकेको अवस्था हुन्छ । मुटु १०५ बिट धड्किरहेको हुन्छ ।
यो समयमा आमाले खाएको खानेकुरा, बाहिरबाट सेवन गरेका औषधिहरू, मदिरापान, धुम्रपानले गर्दा बच्चाको मानसिक वा शारीरिक वृद्धिमा समस्या देख्न सक्ने समय हो ।
यात्रा गर्न मिल्छ ?
गर्भावस्थाको समयभर सबैभन्दा बढी जोखिम नै यहि बेला हो । यतिबेला गह्रौ काम गर्ने, लामो दूरीको यात्रा वा बाटो खाल्डाखुल्डी भएको ठाउँमा स्कुटर वा बाइकमा यात्रा गर्दा पाठेघरको मुख खुलेर बनिरहेको बच्चा स्थिर हुन नसकेर तुहिन सक्छ । जसकारणले सकेसम्म यो समयमा लामो दूरीको यात्रा गर्न हुँदैन ।
सामान्य छोटो दूरीको यात्राहरू अलि सजिलो बाटो छ भने गर्न सकिन्छ । तर, धक्का धक्की उफ्रिने सवारी साधनहरूबाट चाहिँ यतिबेला बच्न नै जरुरी हुन्छ ।
परीक्षण ?
यो महिनाबाट नियमित स्वास्थ्य जाँच र परीक्षणहरू गर्नु आवश्यक हुन्छ । यो समयमा स्वास्थ्य जटिलता बढी देखिने हुँदा फलोअप छुटाउनुहुँदैन । यो समयसम्म कुन चिकित्सकलाई देखाउने भनेर पहिले नै तय भइसकेको हुन्छ ।
बच्चाको पहिलो अल्ट्रासाउण्ड गरिन्छ । जसबाट बच्चा पाठेघर बाहिर वा भित्र छ भनेर पत्ता लाग्छ । बच्चाको धड्कन आइसकेको छ छैन पनि सुनिश्चित हुुन्छ । यो समयमा नै बच्चा जुम्ल्याहा वा एउटा मात्र छ भनेर देखिन्छ ।
नियमित रगत जाँच र अनुवांशिक जाँचका लागि चिकित्सकले आवश्यक परे सिफारिस गर्न पनि सक्छन् । पिसाब परीक्षण, हेमोग्लोबिन, प्लेटलेट, ब्लड ग्रुप, एचआईभी, एसबीएसएजी, भिडीआरएल र एससीभीको परीक्षण हुन्छ ।
भिडियो एक्स रेको रिपोर्ट पछि नै बच्चा कहिले जन्मन्छ भनेर चिकित्सकले मिति तय गर्छन् । पिसाब परीक्षण, हेमोग्लोबिन, प्लेटलेट, ब्लड ग्रुप, एचआईभी, एसबीएसएजी, भिडीआरएल र एससीभीको परीक्षण हुन्छ ।
थाइराइडको परीक्षण पनि आवश्यक छ । यो बेला थाइराइड देखिए चिन्ता लिनुपर्दैन । बेलैमा औषधि खाएर नियन्त्रण गर्न सकिन्छ ।
के खाने ?
यो गर्भावस्थाको सुरुवाती चरण हो । सबैभन्दा छुटाउन नहुने भनेको फोलिक एसिड सप्लिमेन्ट हो । यो औषधि बच्चाको मेरुदण्ड र मस्तिष्क विकासका लागि सुरु देखि नै आवश्यक पर्छ ।
खानेकुरामा फलफूलमा स्याउ, केरा, नासपाती वा मौसमी फलफूल, सागसब्जी, प्रोटिनयुक्त आहारहरू, दाल, अण्डा, माछा, मासु, गेडागुडी मात्रा मिलाएर खानुपर्छ ।
तरकारीहरू फलामको भाडामा पकाएर खानुपर्छ । जसले आइरन पर्याप्त मात्रामा पुग्छ ।
प्रशस्त पानी तीन देखि चार लिटरसम्म खानुपर्छ ।
यो बेला खानेकुरामा खासै रुचि नहुने हुँदा सानो अदुवाको टुक्रा मुखमा राख्ने या सुक्खा भुटेको चना भिजाको चना, भुटेको चनालाई दुई तीन पिस मुखमा राख्ने गर्ने हो भने र ग्यास्ट्राइटिस र वाकवाक आउने सम्भावना कम गर्छ । वाकवाक लागिरहेको वा कमजोरी अनुभव भए जीवनजल खान सकिन्छ ।
के नखाने ?
— अत्यधिक चिया, कफीको सेवन नगर्ने ।
— धुम्रपान र मदिरापानबाट टाढै रहने ।
— नुन बढी भएको फास्ट फुड, प्याकेटको खानेकुरा नखाने ।
— काँचो मासु, नपाकेको अण्डा सेवन नगर्ने ।
— जथाभावी औषधि नखाने ।
चिकित्सकलाई तत्काल भेट्नुपर्ने अवस्था
निम्न लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।
— यो महिनामा थोरै रगत देखिएमा पनि उच्च जोखिम रहेको मानिन्छ ।
— पानी समेत पचाउन नसक्ने, तीव्र पेट दुखाइ, ज्वरो आउनु र पिसाब पोल्नु ।
— योनीको पानी दही, चउलानीको छेक्रा जस्तो बग्ने, चिलाउने र गन्हाउने हुनु ।
— बेहोस् हुनु, चक्कर लाग्नु ।
परिवारको साथ र सहयोग
पहिलो नयाँ बन्दै गरेकी आमाका लागि श्रीमान् र परिवारको साथको एकदमै आवश्यकता पर्छ । यो बेला वाकवाक र चक्कर लाग्दा शरीर सन्चो नहुने हुँदा आराम गर्न लगाउने, कामहरू आफैँ गरिदिने, मनलागेको खानेकुरा बनाइदिने, उनले नभने पनि बुझेर उसले गरिरहेको कामहरू गरिदिने गर्नुपर्छ ।
त्यस्तै, तनावको कुरा नसुनाउने र चिकित्सकलाई भेट्न जाँदा एक्लै नपठाइकन जसको फुर्सद छ त्यही व्यक्ति जानुपर्छ । परिवारको सदस्यमा पनि श्रीमानले हरेक तवरबाट साथ, माया र हेरचाह दिनुपर्छ ।
(चिकित्सकको फलोअप कुनै पनि बेला छुटाउनु हुँदैन । किनकि, एउटा छुटेमा पनि जटिलता आएको थाहा नभई पछि समस्या हुनसक्छ ।)
ध्यान दिनुपर्ने कुरा
— पोषिलो खानेकुरामा मात्र जोड दिने ।
— निद्रा पर्याप्त पुर्याउने कोसिस गर्ने ।
— ढाड सिधा पारेर बस्ने ।
— हल्का संगीत सुन्ने, पढ्ने वा बाहिर घुम्ने ।
— हल्का फुल्का व्यायाम, जस्तै १५ देखि २० मिनेटको हिँडनुपर्छ ।
— भारी सामान नउठाउने, झट्ट उठ्ने बस्ने नगर्ने र बिस्तारै उठ्ने ।
— तोकिएको सप्लिमेन्ट र नियमित जाँचलाई निरन्तरता दिने ।
सावधानी
— भारी वस्तुहरू नउठाउने।
— पेटलाई टेकेर नसुत्ने ।
— तनाव नलिने र तनावपूर्ण वातावरणमा नबस्ने ।
— सडक अवरुद्ध भएको स्थानमा नजाने ।
— कुनै पनि औषधि लिनुपूर्व चिकित्सको परामर्श लिने ।
— लामो समयसम्म बसेर वा उभिएर काम नगर्ने ।
“]
प्रतिक्रिया 4