
News Summary
Generated by OK AI. Editorially reviewed.- सार्वजनिक सेवामा कर्मचारीहरूको असन्तुष्टि र पलायनले देशको प्रगति प्रभावित हुन्छ।
- अधिकार र सम्मानको अभावले कर्मचारीहरूको मनोबल घट्दै गएको छ।
- राज्यले कर्मचारीको तलब, सुविधा र सम्मानमा ध्यान दिन आवश्यक छ।
एकातिर कर्मचारी सन्तुष्ट देखिंदैनन्, अर्कोतिर कर्मचारी प्रति आम मानिसमा सकारात्मक धारणा छैन । यस्तो विरोधाभासबीच देशले कसरी प्रगति गर्न सक्छ ?
कहिल्यै विचार गर्नुभएको छ, अस्पतालमा खटिएका स्वास्थ्यकर्मीले कहिलेदेखि समयमा खाना खाएका छैनन् ? विद्यालयमा पढाउने शिक्षकले कहिलेदेखि नयाँ कपडा किन्ने सपना देख्नै सकेका छैनन् ? सेतो कमिजमा चिटिक्क देखिने एक सरकारी कर्मचारीले कहिलेदेखि घरको भाडा तिर्न सकेको छैन ?
अस्पतालमा काम गर्ने नर्सको मन त्यतिबेला रुन्छ जब आफ्नो छोराको उपचार खर्च जुटाउन सक्दिनन् । सरकारी कार्यालयमा भएको बाबुको मन त्यतिबेला रुन्छ जब छोराको स्कुल फि समयमा तिर्न सक्दैनन् । एउटी शिक्षिकाको मन त्यतिबेला रुन्छ जब स्कुटरको किस्ता तिर्न दिउँसो विद्यालय पढाउँछिन् अनि साँझमा ट्युसन ।
विस्तारै यात्रामा विचलन आउँछ । एक देशप्रेमी शिक्षक जसले गाउँमै कैयौं योग्य नागरिक उत्पादन गर्ने कसम खाए, एकदिन थाकेर क्यानडाको लागि आवेदन दिन्छ ।
एक नर्स जसले दूधे बालक घरमा छोडेर कैयौं बालकलाई धर्ती देखाउन खटिरहन्छिन्, रातको सिफ्ट छाती चर्काएर बिताउँछिन्; थकित भएर एक दिन अमेरिकाको लागि आवेदन दिन्छिन् ।
एक कर्मठ कर्मचारी जसले देश सुदृढ बनाउने कसम खाएको थियो, एकदिन भन्छ मेरो इमानदारी यहाँ काम लागेन । अब त मैले विदेशिनुपर्छ, जहाँ श्रमको मूल्य र सम्मान दुवै हुन्छ । एक बैंक कर्मचारी दिनमा घर विरलै देख्छ । सार्वजनिक विदा के हो विस्तारै भुल्दै जान्छ । दिनहुँ पैसाको व्यापार गर्छ । मसान्तको दिन जब तलबको घण्टी बज्छ तब घर बनाउँदा लिएको किस्ता तिर्न नपुग रकम साथीसँग सापट माग्छ । काम र दामको दबाब थेग्न नसकी वैदेशिक रोजगारीको बाटो खोज्छ ।
यी सबै केवल व्यक्तिगत पीडा होइनन् । यी त राज्यका चीत्कार हुन् । राज्य तब बलियो हुन्छ, जब कर्मचारी गर्वका साथ भन्छन् म देशका लागि काम गर्छु । तर, जब त्यो कामको मूल्य नै हुँदैन तब त्यो गर्व तुहिन थाल्छ । जब कर्मचारीले मन मार्छ तब सेवाको गुणस्तर झर्छ । अनि सेवाग्राही भन्छन्, कर्मचारीले कामै गर्दैनन् । तर सबैले नजरअन्दाज गरेका तिनका पनि आफ्नै कथा छन् । आफ्नै व्यथा छन् । कर्मचारीका पनि परिवार छन् । जो यसै देशका नागरिक हुन्, उनीहरूले राम्रो शिक्षा र स्वास्थ्यका लागि संघर्ष गरिरहेका छन् ।
राष्ट्रको मेरुदण्डको रूपमा रहेका कर्मचारीहरू सधैं सुन्दर र सुरक्षित भविष्यको आशा लिएर बाँचेका हुन्छन् । परिवार पाल्न कैयौं वर्षसम्म झोला बोकेर गाउँ जान्छन् । उनीहरू कहिल्यै चिच्याउँदैन । चुपचाप काम गरिरहन्छन् तर उनीहरूको मौनताभित्र पनि चिच्याहट हुन्छ । आफैंले आफैंलाई भनिरहेका हुन्छन्, हाम्रो श्रमको इज्जत गर, हाम्रो पनि पेट छ । हामीलाई पनि सम्मान चाहिएको छ । तर आधारभूत आवश्यकता धान्न नसक्ने न्यून तलब र महँगीको तुलनामा निकै कम सुविधा वृद्धि गरे जस्तो गरी पन्छिने राज्यको प्रवृत्ति देख्दा ती आशा एक–एक गरेर मर्न थाल्छन् ।
देश केवल नेताहरूले बनाउँदैनन् । देश बनाउन हजारौं कर्मचारीको पनि हात हुन्छ । जसले आफ्ना कार्यालयको जिम्मेवारी लिन्छन् । जो घामपानी नभनी फिल्डमा कुद्छन् । जो भित्रैदेखि चिरिएर पनि जनताको सेवामा हाजिर हुन्छन् । जीवनको रंगीन समय समर्पित गर्छन् । बिहान हतार–हतार आधा पेटमा सार्वजनिक सवारीमा धकेलिंदै होस् या निजी सवारीमा अफिस पुग्छन् । कोही सरकारी डेस्कमा, कोही सार्वजनिक तथा निजी संस्थानमा, कोही अस्पतालमा, कोहीे विद्यालयमा होलान् । ती सबैले एउटै सपना बोकेका हुन्छन्– सेवाग्राहीलाई सेवा दिने, परिवार पाल्ने र राष्ट्र निर्माणमा सहयोग गर्ने । तर जब तिनीहरूलाई आफ्नो श्रमको उचित मूल्य दिइँदैन तब त्यो सपना हराउँदै जान्छ ।
जीवन धान्न नसकेर जब कर्मचारीको धड्कन बढ्छ तब राज्यको मुटु कमजोर हुन्छ । राज्यका आधारशिला चर्कन थाल्छन् जब कर्मचारीको मन चर्किन्छ । राज्यका सबै सार्वजनिक क्षेत्र कर्मचारीमाथि टिकेका हुन्छन् । जब उनीहरूको न्यूनतम तलबमान र सुविधामा बेवास्ता हुन्छ भने असन्तुष्टि मनबाट राष्ट्र निर्माण कसरी सम्भव हुन्छ ? राज्यले अब बुझ्नुपर्छ, अब भन्नुपर्छ कि तिम्रोे श्रमको मूल्य हामी बुझ्छौं ।
राज्यले आफ्ना कर्मचारीलाई केही दिन्छ भने त्यो केवल तलब मात्रै होइन त्यो विश्वास, सम्मान र योगदानको मूल्य छ भन्ने सन्देश पनि हो । यदि यसो गर्न सकिएन भने कर्मचारीले आफ्नो आत्मा मारेर काम गर्न थाल्छन् र त्यो बेला देशको आत्मा नै हराउँछ । जब ऊर्जाशील समय र उमेर खर्चेर काम गर्दा पनि महिनाको अन्तिममा खर्च चलाउन ऋण खोज्नुपर्छ, बिरामी पर्दा अस्पताल जान डराउनुपर्छ, सेवा गरेपछि पनि कदर हुँदैन; त्यतिबेला एक थकित आत्मा बाँच्नकै लागि बाँचिरहेको हुन्छ । कर्मचारीहरू विद्रोह गर्दैनन्, उनीहरूले तोडफोड गर्दैनन् उनीहरू केवल थाक्दै जान्छन् । अनि देश त्यतिबेला थाक्छ जतिबेला कर्मचारीहरू देशका लागि काम गर्न छाड्छन् । एक राष्ट्र जब असफल हुन्छ तब एक इमानदार कर्मचारी आफ्नो इमान बिक्रीमा राख्छ । जब स्वास्थ्यकर्मीहरू दिनको सिफ्टपछि रातमा निजी क्लिनिक धाउँछन् उनीहरू रोग लागे पनि विदा लिंदैनन् । तब देश थला पर्न थाल्छ ।
लोकसेवा आयोगको परीक्षा प्रणाली समयानुकूल परिमार्जित हुनसकेको छैन । तथापि, नेपालमा कर्मचारी भर्ना प्रणाली चित्तबुझ्दो नै देखिन्छ । त्यसपछिको वृत्ति–विकास, सरुवा–बढुवामा व्याप्त अनिश्चितता र अपारदर्शिताले कर्मचारीहरूमा निराशा बढेको देखिन्छ । काममा भन्दा चाकडी, चाप्लुसीमा अभ्यस्त कर्मचारीहरूको वृत्ति–विकासमा अवसर देखिन्छ जसको कारण कर्मलाई मूलमन्त्र मान्ने कर्मचारी निराश देखिन्छन् । राजनीतिक संरक्षणको आधारमा कम क्षमता भएका कर्मचारीको बोलवाला बढी हुँदा क्षमता भएर पनि अवसरबाट वञ्चित भएका कर्मचारीहरू हात बाँधेर बस्न थाल्छन् । यसबाट कार्यालय कामका लागि भन्दा पनि दिन कटाउने थलोका रूपमा परिणत हुन्छ ।
सार्वजनिक सेवा प्रवाहको मौजुदा स्थिति हेर्दा सार्वजनिक सेवाहरू जनताले अपेक्षा गरेअनुरूप सरल र सर्वसुलभ छैनन् । जनताको समान पहुँच र लक्षित वर्गमा सेवा पुग्न सकेको छैन । सार्वजनिक सेवा प्रवाह पारदर्शी छैन । सेवा प्रवाहमा प्रतिस्पर्धा छैन । सेवा प्रवाहमा हुने त्रुटिका सम्बन्धमा नागरिक सुनुवाइको कमी छ । यद्यपि, केही तथ्यहीन आलोचना र सेवाप्रतिको दृष्टिकोण बढी नै नकारात्मक भने छ । यसतर्फ पनि राज्य संयन्त्रको ध्यान जानु जरूरी छ ।
आजभोलि मान्छेलाई बुझ्ने भन्दा पनि बुझाउने मान्छे धेरै हुन थाले । त्यसैले समस्याहरू सुल्झिन भन्दा धेरै उल्झिन थालेका छन् । पद, पैसा र पावर (शक्ति) सबथोक हो भन्ने मनोविज्ञान समाजमा विकसित भएको छ । एकातिर कर्मचारी सन्तुष्ट देखिंदैनन्, अर्कोतिर कर्मचारी प्रति आम मानिसमा सकारात्मक धारणा देखिंदैन । यो विरोधाभासबीच देशले कसरी प्रगति गर्न सक्छ ?
गलत काम गर्नेलाई आवश्यक दण्ड–सजाय र सही व्यक्ति पुरस्कृत नहुने प्रवृत्तिले सबैलाई एउटै बास्केटमा राखेर कर्मचारीको मनोबल खस्काउने कामले प्रश्रय पाएको देखिन्छ । जसले मिहिनेत गर्दैन उसलाई प्रतिफल चाहिएको छ र उसैले नकारात्मक टिप्पणी बढी गर्छ । त्यति मात्रै होइन, उसकै पछाडि हुल देखिन्छ जसले सर्वसाधारणमा अन्योल र विचलन ल्याएको छ ।
कर्मचारी संख्याका आधारमा ठूला संगठन समूहमा पर्ने सरकारी निकाय तथा सरकारी अर्धसरकारी संस्थानहरूमा हालसम्म कर्मचारीलाई उत्प्रेरित गरी संगठनको उत्पादन वृद्धि गर्न सकिन्छ वा गर्नुपर्छ भन्ने सोचले ठोस कदम चालिएको पाइँदैन । नेपालको पारिवारिक संरचनाभित्र सामान्यतया ६ जनाको परिवार सदस्य हुन्छन्— बुबा–आमा, श्रीमान्, श्रीमती र दुई छोरा–छोरी । हरेक कर्मचारीले आफ्नो जिम्मेवारीभित्र रहेको परिवारलाई उसको पद अनुसारको निर्वाह गर्ने तलब दिइयो भने इमानदार कर्मचारीले अन्यत्र ध्यान दिंदैन ।
सार्क मुलुक तथा अझ भारतकै तुलना गर्ने हो भने पनि नेपालका कर्मचारीको तलबमान निकै न्यून देखिन्छ । जसका कारण कर्मचारीहरूलाई आफ्नो जीवन गुणस्तरीय बनाउन पनि समस्या परिरहेको छ । समस्यामै रुमल्लिनुपर्दा उत्साह पैदा हुँदैन ।
कर्मचारीको सेवा–सुविधा हात्तीको देखाउने दाँत झैं समाजमा आफूलाई विकाउने माध्यम मात्रै बनेको छ । सुन्दर भविष्यको कल्पना गरेर सरकारी सेवामा प्रवेश गरेकाहरू किन जागिरबाट सन्तुष्ट छैनन् ? किन बीचमै जागिर छोड्छन् ? कार्य सम्पादन मूल्याङ्कन कत्तिको पारदर्शी छ ? पछिल्लो समय युवा जनशक्तिमा देखिएको नैराश्यताको कारण के अथवा समाधान के ? किन युवाहरूले नेपालमा भविष्य देखिरहेका छैनन् ? उत्तर खोज्नुपर्ने बेला भएको छ ।
सपना देख्ने आँखा थकित भएपछि विकासको सपना कसरी देख्ने ? आम देशप्रेमीले अब बोल्नुपर्छ । अब ढिलो गर्नुहुन्न राज्य सञ्चालकले समयमै बुझ्नुपर्छ । कर्मचारीलाई जीवन धान्ने तलब सुविधा सहित सम्मान हुनुपर्छ । अब सरकारी जागिर छ त अझै के पुगेन र ? भन्न छोड्नुपर्छ । जब राज्यले आफ्ना कर्मचारीप्रति प्रेम देखाउँछ, तलबले पेट भरिन्छ र आत्मा बलियो हुन्छ तब देशले समृद्धिको काँचुली फेर्छ ।
मानिसहरू आफ्नो आवश्यकताले डोर्याइरहेका हुन्छन् । तसर्थ, कामको निमित्त उत्प्रेरित गर्न उनीहरूको आवश्यकता पूरा भएको हुनुपर्छ । सरकारले कर्मचारीको तलब–भत्ता, सेवा–सुविधा वृत्ति–विकास लगायतमा समयानुकूल ध्यान दिएको छैन । यस्तो बेवास्ताले सक्षम र इमानदार कर्मचारी पलायन भइरहेका छन् । सेवालाई जनमुखी एवम् नतिजामुखी बनाउन कर्मचारीको योगदानलाई नजरअन्दाज गर्न सकिंदैन । सेवाग्राहीलाई सुशासनको प्रत्याभूति दिन कर्मचारीको पेशाप्रतिको निष्ठा र समर्पणले महत्वपूर्ण भूमिका खेल्छ । तसर्थ, कर्मचारीका आवश्यकता, इच्छा, चाहना समेतलाई मध्यनजर गरेर उत्प्रेरणा जगाउन सके सहजतापूर्वक उद्देश्यमा पुग्न सकिन्छ । समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार पार्न समयमै यसतर्फ पनि सम्बोधन हुनु जरूरी छ ।
प्रतिक्रिया 4