+
+
Shares

बाढीपछि रसुवागढी : भीरमा डोरी, खोलामा फट्के (तस्वीरहरू)

बाटो भत्किएकाले मानिसबीच बाटोमै अलपत्र छन् । बालबच्चासहितका उनीहरूलाई सुरक्षाकर्मीले जोखिम मोलेर डोरी र काठको फड्केको सहायताले वारपार गराइरहेको दृष्य दर्दनाक देखिन्छ ।

विकास श्रेष्ठ, कमल प्रसाईं विकास श्रेष्ठ, कमल प्रसाईं
२०८२ असार २६ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमबाढीका कारण रसुवागढीको भूगोल क्षतविक्षत भएको छ र नेपाल–चीन व्यापारिक नाका तहसनहस भएको छ।
  • बाढीले मितेरी पुल, टिमुरे भन्सार कार्यालय, जलविद्युत् आयोजना र सडकहरू क्षति पुर्‍याएको छ भने कम्तीमा ९ जनाको मृत्यु र २० जना बेपत्ता छन्।
  • जिल्ला प्रशासन कार्यालय रसुवाले स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको र उद्धारमा सुरक्षाकर्मीहरूले जोखिम मोलेर नागरिकलाई सहायता गरिरहेको जनाएको छ।

२६ असार, काठमाडौं । हिमबाढीका कारण नेपाल–चीन व्यापारिक नाका रसुवागढीको रौनक क्षणभरमै तहसनहस भयो । तिब्बत क्षेत्रबाट बगएर आएको गेग्रानसहितको बाढीले रसुवाको सुन्दर पहाडी क्षेत्रको भूगोल क्षतविक्षत बनायो ।

तिब्बत हुँदै बगेर आउने केरुङ र ल्हेन्दे खोलाको बाढी असार २४ गते बिहान भोटेकोशी नदीमा मिसिँदा भयानक बनेको थियो । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, टिमुरे भन्सार कार्यालय, जलविद्युत् आयोजना, विद्युतीय चार्जिङ स्टेसन, सडक लगायतका संरचना तहसनहस पारेको छ ।

बाढीमा परी कम्तीमा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २० जना बेपत्ता छन् । भन्सार जाँचपासका लागि राखिएका मालबाहक गाडी र विद्युतीय कारहरू बगेका छन् ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार करिब १२० किलोमिटर बाटो क्षतविक्षत हुँदा स्याफ्रुबेसी–रसुवागढी खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

बाटो भत्किएकाले मानिसबीच बाटोमै अलपत्र छन् । बालबच्चासहितका उनीहरूलाई सुरक्षाकर्मीले जोखिम मोलेर डोरी र काठको फड्केको सहायताले वारपार गराइरहेको दृष्य दर्दनाक देखिन्छ । न घर फर्किन सक्ने अवस्था छ, न अघि बढ्न सकिने ।

कतिपय ठाउँमा मुस्किलले खुट्टा अड्याउन सकिने बाटा छन् । त्यहाँ पहरामा टाँसिएर यात्रा गर्नुपर्ने बाध्यता छ ।

तर पनि उद्धारमा खटिएका सुरक्षाकर्मीहरू डोरी, काठको फड्के र मानवीय सहायताबाट नागरिकलाई एकातिरबाट अर्कोतर्फ पार गराइरहेका छन् । तिनको आँखामा त्रास छ, मनमा आशा र हिम्मत पनि ।

राज्यको कठोर परीक्षा

मानव क्षतिको अवस्था हृदयविदारक छ । ठाउँ–ठाउँमा मानव अंग भेटिएका छन्, जसको पहिचान गर्न डीएनए परीक्षण गर्नुपर्ने स्थिति छ ।

यो भीषण विपत्तिको पीडा शब्दमा वर्णन गर्न सकिँदैन । रसुवागढीको अहिलेको अवस्था प्राकृतिक विपत्ति मात्र होइन, यो हाम्रो राज्य संरचनाको, विपद् व्यवस्थापन क्षमताको र जनसुरक्षाको कठोर परीक्षा पनि हो । बाढीले संरचना मात्र बगेका छैनन्, थुप्रै परिवारका सपना, पसिनाको कमाइ अनि जिन्दगीको आधार पनि बगेको छ ।

शोकको यो घडीमा राज्य, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदाय सबै मिलेर पीडितहरूलाई राहत, पुन:स्थापनाका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणतर्फ अग्रसर हुन जरुरी छ ।

             

रसुवा बाढी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?