News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा भएको अनियमितताको छानविन गर्न गठित कार्यदलले थप अनुसन्धान गर्न सुझाव दिएको छ।
- छानविन कार्यदलले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई प्रतिवेदन बुझाएको छ ।
- मन्त्रीले अध्ययन गरी सम्बन्धित निकायमा पेश गरिएको जानकारी दिएका छन्।
३० असार, काठमाडौं । नेपाल प्रिमियर लिगको छानविन कार्यदलले एनपीएलको विषयमा थप अनुसन्धान गर्न सुझाव दिएको छ ।
एनपीएलको पहिलो संस्करणमा भएको अनियमितताको छानविन गर्न गठिन छानविन कार्यदलले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा बुझाएको प्रतिवेदनमा छानविनमा नेपाल क्रिकेट संघ (क्यान) ले असहयोग गरेको र यस विषयमा थप छानविन गर्न सुझाव दिएको हो ।
राखेपको बोर्ड सदस्य रन्जना प्रधान संयोजक रहेको छानविन कार्यदलमा राखेपअन्तर्गत आर्थिक प्रशासन शाखाका प्रमुख ऋषिराम पोखरेल र कानून शाखाका प्रमुख नारायण अर्याल थिए ।
क्यान अध्यक्ष चतुर बहादुर चन्दले छानविनमा सहयोग गर्ने बताउँदै आएपनि छानविन कार्यदलले भने आवश्यक सहयोग नपाएको गुनासो राखेको छ ।
‘२०८२ असार २२ गते क्यान र क्यान अध्यक्ष चतुर बहादुर चन्दलाई इमेलमार्फत नै तीन पाना पत्रसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी समेतका प्रतिलिपीहरु संलग्न गरी पठाइएकोमा र हुलाक मार्फत चिठि रजिष्टर गरी पत्र पठाइएकोमा पत्र प्राप्त भएको मितिले १२ घण्टा भित्र जवाफ पेश गर्नुपर्नेमा कुनै जवाफ प्राप्त नभएको कारण यस कार्यदल निष्कर्षमा पुग्न सकेन’ छानविन कार्यदलले बुझाएको प्रतिवेदनमा भनिएको छ ।
छानबिन कार्यदलले त्यसअघि पनि क्यानलाई दुईपटक पत्र पठाए पनि त्यसको आवश्यक कागजात सूचना र तथ्य प्रदान नगरी केवल झारा टार्ने उद्देश्यबाट अभिप्रेरित भई सतही जवाफ पठाएकोले तेस्रो पटक पत्र पठाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै क्यानले पहिलो पटक पठाएको जवाफमा अघिल्लो छानविन कार्यदलले दिएको जवाफको फोटोकपी संलग्न गरेर तथ्य फरक नभई भावानात्मक व्यहोरा पठाएको उल्लेख गरिएको छ ।
यसअघि राष्ट्रिय खेलकुद परिषदले राखेपकै बोर्ड सदस्य अन्जन धमलालको संयोजकत्वमा एनपीएल छानविन कार्यदल गठन गरेको थियो । त्यो समितिले छानविन पछि प्रतिवेदन तयार पारेपनि प्रतिवेदन बुझाउन नपाउँदै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अर्को छानबिन कार्यदल गठन गरेका थिए ।
पहिलो छानविन कार्यदलले राम्रोसँग काम नगरेको भन्दै अर्को छानविन कार्यदल गठन गर्नुपरेको मन्त्री चौधरीले बताएका थिए ।
एनपीएलको पहिलो संस्करण २०८१ मंसिर १६ देखि पुष ६ गतेसम्म आयोजना भएको थियो । एनपीएल सकिएको केही महिनापछि नै एनपीएलमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरिएको थियो ।
पहिलो कार्यदलले चित्तबुझ्दो काम नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले २०८२ जेठ ११ गते छानविन कार्यदल गठन गरेको थियो । उक्त छानविन कार्यदलले पटक–पटक क्यानलाई पत्र पठाएर एनपीएलको पहिलो संस्करणसम्बन्धी आवश्यक कागजातहरु माग गरेको थियो ।
तर स्पष्ट जवाफ नपाउँदा निर्धारित समयमा छानबिन कार्य नसकिएपछि कार्यदलको म्यान पुन: १५ दिन थप गरिएको थियो । त्यो समय पनि सकिएपछि शुक्रबार छानबिन कार्यदलले आफ्नो प्रतिवेदन युवा तथा खेलकुद मन्त्रीलाई बुझाएको हो ।
प्रतिवेदनमा क्यानबाट छानबिन कार्यदललाई पटक–पटक असहयोग भएको उल्लेख पनि गरिएको छ । ‘नेपाल क्रिकेट संघ र एनपीएल प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवार पदाधिकारीहरूको उदासीनता र असहयोगका कारण छानबिन कार्यमा निष्कर्षमा पुग्न सकिएन’ प्रतिवेदनमा भनिएको छ ।
यस्तै छानबिन कार्यलाई टुंगोमा पुर्याउन एनपीएलसम्बन्धी कुनै कार्य नगर्न भनी सकारात्मक दृष्टिकोणबाट पत्राचार गर्दा समेत क्यानका जिम्मेवार पदाधिकारीले भ्रामक रुपमा अभिव्यक्ति दिएको प्रतिवेदनमा जनाइएको छ ।
‘यस कार्यदलले म्याद समाप्त हुन केहि समय बाँकी रहेको अवधिमा छानविन कार्यलाई टुंगोमा पुऱ्याउनका निम्ति क्यानलाई एनपीएल सम्बन्धि कुनै कार्य नगर्न नगराउन हुन भनि सकारात्मक दृष्टिकोणबाट पत्राचार गर्दा समेत क्यानका पदाधिकारी एंव जिम्मेवार व्यक्तिहरुले समेत झुठ्ठा कपोकल्पीत भ्रामक विचार सञ्चारका माध्यमहरुमा अभिव्यक्त गरी छानविन कार्यलाई प्रभावित पार्दै छानविन कार्यमा पूर्ण असहयोग गरेको पाइयो’ प्रतिवेदनमा भनिएको छ ।
यसैगरी छानबिन कार्यदलले एनपीएल आयोजनाका क्रममा भएको भनिएको अनियमितताका विषयमा थप अनुसन्धान आवश्यक रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
‘छानविन कार्यदलको १५ दिन म्याद थप गरिएको समयमको पत्रको जवाफ प्राप्त नभएको हुँदा छानविन कार्यदलले यस अघि गरेको दुईवटा पत्रबाट प्राप्त संलग्न कागजात समेत समावेश गरी उल्लेखित विषयमा पुनः गहन एंव विस्तृत ढंगबाट क्यानबाट गत वर्ष आयोजित एनपीएलका सम्बन्धमा अख्तियारमा दर्ता भएको उजुरीको विषयमा थप अनुसन्धान हुन मनासिव देखिन्छ’ थप अनुसन्धानको सुझावसहित कार्यदलले पेश गरेको प्रतिवेदनमा भनिएको छ ।
क्यान अध्यक्ष चतुर बहादुर चन्दले आइतबार एक कार्यक्रममा एनपीएलको पहिलो संस्करणमा केही प्रक्रियागत त्रुटी भएको हुन सक्ने र कमी कमजोरी सच्याएर अघि बढ्ने बताएका थिए ।
‘पहिलो सिजन भएको हुनाले प्रक्रियामा अलि त्रुटी भएको हुन सक्छ । दुई दिन अगाडि, दुई दिन पछाडि काम भएको हुन सक्छ । तर एक किसिमको छानिबन चलिरहेको छ । सरकारले छानबिन गरिराखेको छ । अनियमितता गर्नका लागि एनपीएल सुरु भएको होइन’ अध्यक्ष चन्दले भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एनपीएलको छानविन विवादको विषयमा एनपीएल राष्ट्रिय गौरवको विषय भन्दै यसलाई भव्य रुपमा आयोजना गर्नुपर्ने एक कार्यक्रममा बताएका थिए ।
यस्तै पछिल्लो छानविन कार्यदलले राखेपको लेटरहेड प्रयोग गरेर क्यानलाई पत्र पठाएपछि नेपाली क्रिकेटमा तरंग फैलिएको थियो । राखेपले विज्ञप्ति नै जारी गर्दै छानविन कार्यदलले राखेपको लेटरहेड प्रयोग नगर्न समेत निर्देशन दिएको थियो ।
छानविन कार्यदलले युवा तथा खेलकुद मन्त्रीलाई प्रतिवेदन बुझाइसकेपछि अब यो विषय कसरी अघि बढ्छ हेर्नलायक हुनेछ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतिवेदनको विषयमा अध्ययन गरेर सम्बन्धित निकायम पेश गरिने जानकारी दिए ।
प्रतिक्रिया 4