
तुलसी !
‘प्रिय’ शब्दले सम्बोधन गरी पत्र शुरु गर्ने नैतिकता गुमाइसकेको छु । तैपनि म तिमीलाई सम्मानपूर्वक सम्बोधन गर्छु, किनभने तिमी प्रेम र निष्ठाको एक चम्किलो प्रतीक हौ । तिम्रो पत्रको फेहरिस्तले मेरो मन कुँडिएको छ ।
तिमीले पत्रमा गरेको सम्बोधनले मलाई लज्जित बनाएको छ । एउटा अपराधीलाई प्रश्न गर्दा पनि यति आदरका शब्द कसरी प्रयोग गर्न सक्यौ ? विद्रोहको ज्वालामा पनि तिमीले धर्म छोडिनौ, संयमता खोइनौ । तर, तिम्रा सबै प्रश्नको उत्तर दिने सामर्थ्य ममा छैन र रहेन पनि ।
तिमीले लेखेका प्रत्येक शब्दले मेरो मौन आत्मामाथि चोट दिए जस्तै लाग्यो । देवत्वको खोलभित्र लुकेको दोषी म, आज पहिलो पटक आफूसँग आँखा जुधाउँदैछु ।
सधैं धर्म, शान्ति र सत्यको पक्षमा उभिने म त्यो दिन कसरी असत्ती, अशान्ति र अधर्मी बन्न पुगेछु ? म सोच्न बाध्य भएको छु । त्यो पाप लुकाउन म सधैं आराध्य रहन खोजें, तर आराधनाको मूल्य तिमीले चुकाउनुपर्यो ।
आफ्नो बहिनीको सतीत्वमा आँच आउन नदिन आफ्नै भक्तको चीरहरण गरेको त्यो समय म आफ्नै लागि समेत घृणित भएको छु । तिम्रो सतीत्व नष्ट गरी तिम्रा पतिको हत्या गर्ने योजनाको प्रमुख अपराधी र नाइके कहलिएको छु ।
यो संसारमा पुरुषको मृत्युवरणको कारण महिलाको सौन्दर्य भएका अनेकौं घटना र परिघटना छन् । तर, यहाँ त एउटा पुरुषको पराक्रम निस्तेज पार्न एउटा महिलाको सतीत्व हरण भएको थियो ।
तिमी यतिका वर्ष मौन रहँदा पनि मेरो हृदय जलिरहेको, छाती चर्किरहेको थियो । कसैलाई भन्ने आँट आएन । हजारौं वर्षसँगै रहेकी अर्धाङ्गिनी लक्ष्मीलाई समेत मैले गरेको अपराध बारे खुलेर, आँखा जुधाएर कहिल्यै कुरा गर्न सकिनँ ।
तर, अनेक कथाहरू बुन्दै उनीलाई म सही छु भन्दै देवहरूले भनिरहे । ग्लानि भरिएको अनुहार, खुम्चिएको निधार र राल आँखा बनाएर उनी पनि मौन बसिरहिन् । आफ्नो रौद्ररुप कहिल्यै देखाइनन् ।
आज तिम्रा प्रश्नले, पीडाले, आक्रोशले, पीडाको सौन्दर्यकरण विरुद्धको विद्रोहीले मेरा मौन अपराधहरू सतहमा देखिंदा मलाई नराम्ररी झस्काएको छ ।
हजारौं वर्षदेखि पुजिंदै आएको म र मौन रहँदै आएको धर्मको एउटा पाटोलाई तिमीले आज उद्वेलित गरिदियौ, जुन पाटो सधैं पूजाको चन्दनसँगै फूलहरूले छोपिएको थियो, जसमा आत्मदाह र समर्पणका गाथाहरू कँुदिएका थिए, अपराध, पीडितका व्यथा र पीडाहरू लुकाइएका थिए ।
तुलसी !! तिमीले भने झैं, जब चतुर्मास शुरू हुन्छ, म योगनिद्रामा जान्छु । किन, तिमीलाई थाहा छ ? त्यसै समयमा तिम्रो पुनर्जन्म हुन्छ । आफ्नो पाप लुकाउन होइन तिमीसँग आँखा जुधाउन नसकेर नै हो, म योगनिद्रामा गएको ।
तर आज तिमीले लेखेको यो पीडाको दस्तावेज/पत्रले मेरो निद्रा भङ्ग गरिदिएको छ । तिमीले भोगेको प्रताडनाको विरोध हजारौं वृन्दाहरूको मौनता चिरेको हुँकार जस्तो लाग्दैछ ।
तिमीले लगाएका सम्पूर्ण आरोप सत्य हुन्, जुन त्यतिबेला मेरो पुरुषार्थ र दम्भले छोपिदिएका थिए । म त्यो अपराधलाई शास्त्रले ढाक्न दिइरहें, श्रद्धाले फोहोरको पर्दा बनाएँ, र धर्मको भाषा बोल्दै मौनता ओढाएँ, आज म त्यो पर्दा हटाउन चाहन्छु ।
मेरो अनन्य भक्त तिमीलाई छलें, तिम्रो सतीत्व नष्ट गरें, तिम्रा पतिको बध भयो । तिमी सत्य थियौ, स्वाभिमानी थियौ र त तिमीले दिएका श्रापहरू वृक्ष, पत्थर, जनावर, झार आदि बनेर भोगिराखेको छु ।
तिमीलाई लाग्छ होला श्रापसित भएर पनि पुजिएकै छु । आवेगमा आएर गरिएको एउटा ठूलो गल्तीको पाप पखाल्न तिमीद्वारा श्रापसित जुनीहरूमा केही राम्रो गर्न खोजेको मात्र थिएँ, तर, फेरि पुजिन थालेछु । यसलाई तिमीले कसरी अर्थ्याउँछ्यौ, तिम्रो मर्जी ।
हो, हामीले जालन्धरलाई युद्धमा हराउन सकेनौं । तिम्रो पतिव्रता धर्मले उनलाई अजेय बनाएको थियो । तिम्रै निष्ठाका कारण जालन्धरका लागि देवताको अस्त्र पनि प्रभावहीन भए ।
म नियमको पालक भएकै कारण नियमको रक्षा गर्न मान्छेको विश्वास र श्रद्धालाई तोड्नुपर्ने परिस्थिति आउँदा, मैले ईश्वरको मर्यादा तोडे भनेर आफ्नो बचाउ गर्दिनँ ।
यसलाई लेखोट भनेर चित्त बुझाउ भनेर पनि भन्दिनँ । ब्रह्मा समेतले पनि तिम्रो पतिको आयुलाई तिम्रो निष्ठामा सुम्पिदिए । तिम्रो शरीरलाई युद्धभूमि बनाइदिए, जुन शरीरलाई निशाना बनाएर मैले युद्ध जितें भनेर कसरी भनूँ ? आज मलाई हीनताबोध भएको छ । त्यो रात तिमीप्रति मात्र होइन, सम्पूर्ण स्त्रीत्वप्रति अपराधको रात थियो जस्तो लाग्दैछ ।
तुलसी ! अब म माफीको हकदार त रहिनँ तर एक पाप बोधले भरिएको आत्माको हैसियतले माफी माग्दैछु । माफ गरिदिनु है ! जालन्धरको रूप धारण गरेर तिमीलाई भ्रममा पार्नु मेरो वीरता थिएन, त्यो मेरो दुर्बलता थियो ।
तिमीबाट सतीत्व खोस्नु, तिम्रो विश्वासमा घात गर्नु, तिमीलाई प्रेमको नाममा मूर्ख बनाउनु, यी सबैको दोषी म हो । म यी अपराधबाट कहिल्यै मुक्त हुन सक्दिनँ ।
तिमीले भन्यौ, ‘पूजाको नाममा मौन गराउने षड्यन्त्र भयो’ भनेर । म त्यो षड्यन्त्रमा सहभागी थिएँ र शायद आज पनि छु । पुरुषको अस्तित्वलाई बलियो बनाउने दाउमा मैले दोस्रो गल्ती गरेको रहेछु ।
बलात्कारबाट पीडितलाई मौन बनाउने युक्ति निकालेछु भन्ने भान भइरहेको छ । ‘मलाई पूजनीय तुलसी बनायौ, तर वृन्दाले कहिल्यै न्याय पाइनन्’ तिम्रो यो भनाइले पनि मलाई सोच्न बाध्य बनाएको छ ।
मैले वृन्दालाई गरेको अन्यायको न्याय वृन्दालाई नै कसरी दिऊँ ? अपराधीले नै कसरी न्याय दिन सक्छ ? आफैंले गरेको षड्यन्त्रबाट मृत्युवरण गरेकी वृन्दालाई म कसरी न्याय दिनसक्छु ? पूजा गरेर, तिमीलाई श्रद्धाको प्रतीक बनाएर म र समाजले तिमीमाथि गरिएका अपराधलाई लुकायौं ।
जालन्धरलाई मेरो र तिमीलाई लक्ष्मीको अंश हो भनेर कथा रचायौं । जसरी नि तिमीलाई चुप पार्ने प्रयास भए । तिमीलाई चुप बनाउने सबै प्रयत्नमा म पनि संलग्न थिएँ ।
तर, भनिन्छ सहनशीलताले विद्रोह जन्माउँछ र पापको घडा भरिएपछि फुट्छ भनेर । आज तिम्रो मौनताले मैले गरेका अपराधलाई छताछुल्ल बनाएको छ । अब, माफी माग्नु बाहेक अर्काे विकल्प छैन, मसँग ।
आफू बच्नका लागि तिमीमाथि धर्मको नाममा गरिएको छललाई पूजा र सम्मानमा परिणत गरियो, त्यही छललाई परम्परा बनाइयो, त्यही परम्परा आज महिलाहरूले नै बोकेका छन् ।
तुलसीको रूपमा पनि तिमी आफैं पवित्र थियौ र छौ । वृन्दा हुँदाका सबै गुण यथावत् राखेकी छौ । त्यसलाई पनि धार्मिकीकरण गरियो । शालिग्रामको रूप मेरो लागि श्राप थियो । तर त्यो श्रापले तिमीलाई अझ पीडित बनायो । त्यही शालिग्राम रूपसँग तिम्रो इच्छाविपरीत विवाहमा बाँधियो, र त्यसलाई थिति बनाई पूजामा बदलिदियो ।
बलात्कार पीडितलाई बलात्कारीसँगै बिहे गरिदिने समाजले तिम्रो र मेरो यो विवाहलाई उदाहरणको रूपमा चित्रण गरेको चित्त बुझेको छैन । यसमा पनि मेरो दोष छैन भन्न मिल्दैन, त्यो ‘षड्यन्त्र’ केवल ब्रह्माले मात्र रचेका थिएनन्, हामी सबैको मिलेमतो थियो ।
ए वृन्दा ! आज म तिमीमाथि गरिएको छललाई स्वीकार गरेर आफ्नो अपराधको आत्मस्वीकृति गर्दै माफी माग्दैछु । माफ गर्नु–नगर्नु तिम्रो अधिकार हो ।
तिमीले लेखेकी छ्यौ– ‘म अब विद्रोहको रूप बनेकी छु ।’ त्यो विद्रोह आवश्यक छ, त्यो आवाजको विद्रोह जरूरी छ । हो वृन्दा, म अपराधी हुँ । हो, म दोषी हुँ । हो, म त्यो देव हुँ जसले धर्मका नाममा अधर्म गर्यो तर म आज त्यो देवत्व त्याग्न तयार छु ।
तिमीलाई सुन्न तयार छु । तिम्रो विद्रोहमा कुनै छल गर्ने छैन । सत्यको साथ दिन्छु भनेर तिमीलाई फेरि धोका दिने छैन । अब तिमीलाई, तुलसी होइन, वृन्दा भनेर चिन्न तयार छु ।
तिमीले लेखेको त्यो खुला पत्र, केवल म माथिको आरोप मात्र नभई धार्मिक मिथहरूमा लुकेका पितृसत्तात्मक सोचको भण्डाफोर पनि हो ।
म त्यसलाई विरोध नगरी उत्तरदायित्वका साथ ग्रहण गर्छु । तिमी अब ‘तुलसी’ मात्र होइनौ, तिमी क्रान्ति हौ, प्रश्न हौ, चेतना हौ । प्रत्येक महिलाको बिम्व हौ । तिमी आफ्नो न्यायका लागि कहिल्यै नथाक्नु, शुभकामना ।
अभियुक्त,
विष्णु
(जोशी, मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको आमसञ्चार तथा पत्रकारिता र सामाजिक कार्य विभागकी उप–प्राध्यापक हुन् ।)
प्रतिक्रिया 4