+

हाँसी, खेलिरहेको मान्छेको अचानक मृत्यु किन हुन्छ ?

२०८२ साउन  ४ गते २०:३४ २०८२ साउन ४ गते २०:३४
हाँसी, खेलिरहेको मान्छेको अचानक मृत्यु किन हुन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शनिबार काठमाडौँको जडीबुटीमा फुटसल खेल्दै गरेका दोलखाका २३ वर्षीय खिमराज वली बेहोस भई उपचारका क्रममा सिभल अस्पतालमा निधन भएका छन्।
  • इंटरनल मेडिसिन विशेषज्ञ डा. सतिश यादवले आकस्मिक मृत्युका कारणमा कार्डियाक एरिथमिया, हृदयाघात र पल्मोनरी एम्बोलिज्म रहेको बताए।
  • मुटुरोग विशेषज्ञ डा. रवि शाहले मुटुको विभिन्न समस्याले अचानक मृत्यु निम्त्याउन सक्ने र छाती दुख्ने, सास फेर्न गाह्रो हुने अवस्थामा चिकित्सकलाई देखाउन सुझाव दिनुभयो।

शनिबार काठमाडौँको जडीबुटीमा रहेको एक फुटसल मैदानमा फुटसल खेलेर आराम गरिरहेका दोलखाका २३ वर्षीय खिमराज वली बेहोस् भए । उनलाई तत्काल उपचारका लागि बानेश्वरस्थित सिभल अस्पताल लगिएको थियो । उपचारका क्रममा अस्पतालमा उनको निधन भयो

कम उमेरको, हेर्दा फुर्तिलो, शरीरमा कुनै रोग नदेखिएको व्यक्तिको अचानक मृत्यु भएका यस्ता थुप्रै घटना हामीले देख्ने, सुन्ने गरिरहेका हुन्छौँ ।

यसरी हाँसी खेली रहेको व्यक्तिको एक्कासी किन मृत्यु हुन्छ त ?

अप्रत्याशित मृत्यु हुने कारण एउटा मात्र नभएर, धेरै हुने इन्टरल मेडिसिन तथा क्लिनिकल रिसर्चर डा. सतिश यादव बताउँछन् । ‘ विशेष गरी मुटुको समस्या लगायत अन्य कारण मान्छेको आकस्मिक मृत्यु हुन्छ’ डा.यादव भन्छन् ।

उनका अनुसार अचानक मृत्यु हुने कारणमा कार्डियाक एरिथमिया हो। यसमा मुटुको चाल अचानक अनियमित हुन्छ । यो विना कुनै अग्रिम संकेत पनि हुनसक्छ । सामान्यतया मुटुको धड्कन प्रतिमिनेट ६० देखि १०० पटक धड्किन्छ । जब मुटुको धड्कन नियन्त्रण गर्ने मुटुको विद्युतीय संकेतमा समस्या हुन्छ अनि राम्रोसँग काम गर्दैन ।

यस्तोमा मुटुको कुनै भागमा वा रगत पम्प गर्न समस्या भएको हुनसक्छ । मुटुको धड्कन धेरै छिटो वा ढिलो धड्किन थाल्छ । यस्तो अवस्थामा एक्कासी टाउको दुख्ने, चक्कर लाग्ने, मुटु ढुकढुक गर्ने, पसिना आउने, छाती दुखेर सास फेर्न कठिनाइ हुने र बेहोस भई भुईँमा लडेर घटनास्थलमै मृत्यु हुनसक्ने डा.यादवले जानकारी दिए ।

एक्कासी मृत्यु हुने अर्को कारण हृदयाघात रहेको यादवले बताए । जब कोलेस्टेरोल, क्याल्सियम, बोसो र रगत जमी कोरोनरी धमनीहरूमा साँघुरिएपछि हृदयाघात हुने उनको भनाइ छ ।

‘जमेको रगतको थेग्लाले धमनी साँघुरिएर थुनिदिँदा वा थुनिएको भाग भन्दा अगाडिका अक्सिजन र पोषण तत्त्वको अभाव भई मुटुको मांसपेशीहरू मर्न थाल्छन्’ डा.यादव भन्छन्, ‘मृत र नेक्रोटिक मुटुको पर्खालले अक्सिजनयुक्त रगतलाई धमनीबाट शरीरका अन्य भागमा धकेल्न सक्दैन । यसले एरिथमिया, मुटु फेल, मुटुको मांसपेशी फुट्ने, गम्भीर रक्तस्राव निम्त्याउने जोखिम हुन्छ । जसकारण हृदयाघात र आकस्मिक मृत्युको जोखिम बढ्छ ।’

‘पल्मोनरी एम्बोलिज्म’ पनि अचानक मृत्युको कारण हुन सक्ने यादव बताउँछन् । ‘पल्मोनरी एम्बोलिज्म एक गम्भीर अवस्था हो, जसमा जमेको रगत फोक्सोमा पुग्छ र पल्मोनरी धमनीहरूमा अवरोध गर्छ’ यादव भन्छन्, ‘यो अवरोधले फोक्सोमा रगत प्रवाहलाई रोक्छ, जसले अचानक मृत्यु निम्त्याउँछ ।’

डा.यदवका अनुसार स्ट्रोकमध्ये इस्केमिक स्ट्रोक अचानक मृत्यु गराउनेमध्ये एक प्रमुख कारण हो । तर माथि उल्लेखित अन्य समस्यामा जस्तो अप्रत्याशित रुपमा देखिने भए पनि द्रुत रूपमा विकास हुँदैन । तर उपचारमा ढिला भए ज्यान जोखिममा पार्न सक्छ ।

मुटुको समस्याले अचानक मृत्युको जोखिम किन धेरै ?

मुटु शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग हो, जुन केही मिनेट मात्रै बन्द भए पनि मस्तिष्क र अङ्गहरूमा अक्सिजन पुग्दैन र मृत्युको जोखिम हुने मुटुरोग विशेषज्ञ डा. रवि शाह बताउँछन् ।

मुटुको समस्यामा ‘हाइपरट्रोफिक कार्डियोमायोप्याथी’ अचानक मृत्युको कारण भएको डा. शाहीले बताए । ‘हाइपरट्रोफिक कार्डियोमायोप्याथीले मुटुको मांसपेशी बाक्लो हुँदा रक्त प्रवाहमा अवरोध हुन्छ, जसले मुटुको चालमा गडबडी निम्त्याउछ’ डा.शाह भन्छन्, ‘यो गडबडीले मुटुको पम्पिङ प्रभावकारी नहुँदा अचानक मृत्यु हुन सक्छ, विशेष गरी तीव्र शारीरिक गतिविधिको समयमा ।’

भेन्ट्रिकुलर फाइब्रिलेसनमा हृदयको तल्लो कोठा भेन्ट्रिकल अनियन्त्रित र अव्यवस्थित तरिकाले कम्पन गर्छ, जसले रक्तसञ्चार प्रभावकारी रूपमा हुन सक्दैन । यसले मस्तिष्क र अन्य अङ्गहरूमा अक्सिजन आपूर्ति बन्द हुन्छ, जसले गर्दा केही मिनेटमै अचानक मृत्यु हुन सक्ने डा. शाहले जानकारी दिए ।

डा.शाहका अनुसार कार्डियाक च्यानलोप्याथी’को कारण पनि अचानक मृत्यु हुन सक्छ । ‘कार्डियाक च्यानलोप्याथी’ भन्नाले हाम्रो हृदयको विद्युत् प्रणालीसँग सम्बन्धित समस्या हो। कार्डियाक च्यानलोप्याथीले हृदयको विद्युतीय गतिविधिमा गडबडी निम्त्याउछ । जसले हृदयको प्रभावकारी रक्तसञ्चारमा अवरोध पुर्‍याउँछ । यसले गम्भीर अवस्थामा हृदयाघात वा अचानक मृत्यु निम्त्याउन सक्छ ।’

मुटुको धेरै समस्या पहिले खासै लक्षण नदेखाइकन पनि रहन सक्छन् । जब समस्या चरम अवस्थामा पुग्छ, तब मुटुले तुरुन्त काम गर्न छाड्छ । त्यसैले नै यो अचानक र खतरनाक हुने डा.शाहले बताए ।

कस्तो अवस्थामा सचेत हुनुपर्छ ?

छाती दुख्नु, सास फेर्न गाह्रो हुनु, एक्कासी बेस्सरी थकान महसुस हुनु, चक्कर आउनु वा बेहोस हुनु यस्ता स‌ंकेतहरू देखा परेमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ । पहिले नै मुटुको समस्या भएको व्यक्तिले नियमित जाँच गराउन मुटुरोग विशेषज्ञ डा. शाहको सुझाव छ ।

अचानक मृत्यु
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय