News Summary
Generated by OK AI. Editorially reviewed.- शरीर स्वस्थ रहन हर्मोन सन्तुलनमा हुनु आवश्यक छ, जुन पर्याप्त निद्रा, स्वस्थ खानपान र सक्रिय दिनचर्याले हुन्छ।
- दैनिक कम्तीमा ७ घण्टा गहिरो निद्रा लिनु हर्मोनल सन्तुलनका लागि अत्यन्त जरुरी छ र यसले शरीरलाई मर्मत गर्छ।
शरीर स्वस्थ रहन हर्मोन सन्तुलनमा हुन आवश्यक छ । र, हर्मोन सन्तुलन पर्याप्त निद्रा, स्वस्थकर खानपान र सक्रिय दिनचर्याले हुन्छ । तर, अहिलेको भागदौड दिनचर्या, तनाव, अस्वस्थ खानपान, अनियमित दिनचर्या र निद्राको कमीले अधिकांशको स्वास्थ्यमा गम्भीर प्रभाव पार्न थालेको छ ।
यी समस्याहरू आउनासाथ हर्मोनल असन्तुलन हुन थाल्छ । जसले शारीरिक मात्र होइन मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्छ । हर्मोन भनेको शरीरमा विविध जैविक क्रियाकलापहरू समन्वय गर्न मद्दत गर्ने सन्देशवाहक रासायनिक तत्व हुन् ।
यी हर्मोनहरूले हाम्रो तौल, मूड, निद्रा, भोक, प्रजनन् क्षमता र ऊर्जा स्तर नियन्त्रण गर्छन् । अनि यी सबैकुरा नियन्त्रणमा बाधा पुर्याउने प्रमुख तत्व हो, अनिद्रा । जब निद्राको समय अस्तव्यस्त छ । हर्मोन असन्तुलित हुन्छन्, तब शरीरमा थाइराइड, अनियमित महिनावारी, तनाव, तौल बढ्नु, निद्रा समस्या र मूड स्विंगजस्ता समस्याहरू देखा पर्न सक्छन् ।
हर्मोनल सन्तुलन र निद्राको सम्बन्ध
दैनिक कम्तीमा ७ घण्टा गहिरो निद्रा लिनु हर्मोनल सन्तुलनका लागि अत्यन्त जरुरी छ । निद्राको समयमा हाम्रो शरीर आफूलाई मर्मत गर्छ र थकान हटाउँछ ।
यस क्रममा मेलाटोनिन, कोर्टीसोल, इन्सुलिन, ग्रोथ हार्मोन, लेप्टिन र घ्रेलिन जस्ता हार्मोनहरू सन्तुलित रहन्छन् । यी हार्मोनहरूको सही सन्तुलनले मात्र हाम्रो स्वास्थ्य राम्रो रहन्छ ।
मेलाटोनिन – यो हर्मोनले निद्रा नियमित राख्न मद्दत गर्छ । यसले हाम्रो शरीरलाई राति सुत्ने संकेत दिन्छ ।
ग्रोथ हर्मोन – बच्चाहरूको विकास र वयस्कमा कोष र तन्तुको मर्मत गर्ने कार्य यो हार्मोनले गर्छ ।
कोर्टीसोल – यो तनाव हर्मोन हो । निद्रा कम हुँदा यसको स्तर उच्च हुन्छ, जसले तनाव र अन्य समस्याहरू निम्त्याउँछ ।
लेप्टिन र घ्रेलिन – यी हर्मोनहरूले भोक र मेटाबोलिजमलाई नियन्त्रण गर्छन् । निद्रा नपुग्दा भोक बढ्ने र तौल बढ्ने सम्भावना बढी हुन्छ ।
निद्रा नपुग्दा हुने समस्या
यदि हामीले नियमित र पर्याप्त निद्रा नलिए हाम्रो शरीरमा हर्मोनहरूको असन्तुलन देखिन थाल्छ । यसकारण थकान, तौल बढ्नु, चिन्ता, अनियमित महिनावारी, पाचन समस्या र मानसिक रोगहरूजस्तै डिप्रेसन र एन्जाइटीका जोखिम बढ्छन् ।
महिलाहरूमा विशेषगरी पीसीओडी, पीसीओस, थाइराइड रोग र प्रजनन् समस्याहरू बढी देखिन्छन् ।
सात घण्टा निद्रा, किन त ?
दैनिक कम्तीमा ७ देखि ८ घण्टा निद्रा लिन सल्लाह दिइन्छ । किनकि, यो समय शरीरलाई पूर्णरूपमा आराम गर्न र मर्मत गर्न पर्याप्त हुन्छ । ७ घण्टा भन्दा कम निद्राले कोर्टीसोल र इन्सुलिनजस्ता हर्मोनको स्तर बिगार्न सक्छ, जसले तनाव, सुगर लेवल असन्तुलन र तौल नियन्त्रणमा समस्या ल्याउँछ ।
निद्राको गुणस्तर कसरी कायम राख्ने ?
-सुत्ने र उठ्ने समय निश्चित गर्ने
शरीर हाम्रो जैविक घडीअनुसार चल्छ, जसले खानपानदेखि उठ्ने र सुत्ने समयलाई नियन्त्रित गर्छ ।
त्यसैले, राम्रो निद्राका लागि सुत्ने र उठ्ने समय एउटै राख्नु जरूरी छ र सुत्नुअघि कम्तीमा १ घण्टा मोबाइल, ल्यापटप र टिभीजस्ता इलेक्ट्रोनिक उपकरणबाट दूरी राख्नु आवश्यक हुन्छ । यसले हाम्रो निद्रा गुणस्तर सुधार्न ठूलो सहयोग पुर्याउँछ ।
-क्याफिन र भारी खानेकुराबाट बच्ने
क्याफिन र भारी खानपानबाट बच्नुपर्छ । विशेष गरी राति ७ बजेपछि भारी खानपान गर्नुहुँदैन । पेट भरी भए पछि निद्रा लगाउने हर्मोनलाई बाधा गर्छ ।
-नियमित व्यायाम गर्ने
दिनभर हल्का व्यायामले थकान बढाउँछ र राति निद्रा राम्रो हुन्छ ।
-त्यस्तै, ध्यान र योग, वा हल्का गीतसंगीतले पनि तनाव कम गरी गहिरो निद्रा बढाउन मद्दत गर्छ ।
-यी सबै गरेर पनि निद्रामा समस्या आइरहेको छ भने विशेषज्ञको सल्लाह अनिवार्य छ ।
हर्मोनल सन्तुलनका लागि अन्य महत्वपूर्ण पक्षहरू
भिटामिन, मिनरल र एन्टिअक्सिडेन्टले भरिपूर्ण खानेकुराले हार्मोन उत्पादनमा मद्दत गर्छ । डिहाइड्रेसन हुन नदिने, पर्याप्त सूर्यको प्रकाशमा बस्ने र धूम्रपान र मदिरा सेवनबाट बच्नुपर्छ ।
हर्मोनल असन्तुलनबाट बच्न के गर्ने ?
-आफ्नो स्वास्थ्य अवस्था बुझ्न र समयमै समस्या पत्ता लगाउन नियमित रूपमा ब्लड टेस्ट र हर्मोन लेवल जाँच गराउनु अत्यावश्यक छ । यसले कुनै पनि असन्तुलन छिटो पहिचान गर्न मद्दत गर्छ।
-कुनै पनि सप्लिमेन्ट वा औषधि लिँदा चिकित्सकको सल्लाह अनुसार मात्र सेवन गर्नुपर्छ । बिनापरामर्श औषधि वा सप्लिमेन्ट सेवनले शरीरमा अनावश्यक असर पार्न सक्छ । चिकित्सकको निर्देशनबिना हार्मोनल औषधि नलिनु नै उचित हुन्छ ।
यसबाहेक जीवनशैली सन्तुलनमा राख्ने, तनाव कम गर्न हरेक दिन केही समय आफ्नो लागि दिने र पर्याप्त निद्रा पुर्याउने गर्दा हर्मोन सन्तुलित रहन्छ ।
प्रतिक्रिया 4