News Summary
Generated by OK AI. Editorially reviewed.- साताको तीन पटकभन्दा बढी फ्रेन्च फ्राइज जस्ता आलुको परिकार खानेहरूमा टाइप २ मधुमेह हुने जोखिम २० प्रतिशतले बढ्ने अध्ययनले देखाएको छ।
- सन् २०२२ को मेटा–विश्लेषणले फ्रेन्च फ्राइजको अत्याधिक उपभोगले टाइप २ मधुमेहको जोखिम ३१ प्रतिशतसम्म बढाउने खुलाएको छ।
- अल्ट्रा–प्रोसेस्ड खानामा हुने ट्रान्स फ्याट र एडभान्स्ड ग्लाइकेशन इन्ड प्रोडक्ट्सले इन्सुलिन प्रतिरोध बढाएर मधुमेह जोखिम बढाउने विज्ञहरूले बताएका छन्।
फ्रेन्च फ्राइज कतिको खानुहुन्छ ? साताको ३ पटकभन्दा बढी फ्रेन्च फ्राइज जस्ता आलुको परिकार तारेको खानुहुन्छ भने यसको मात्रा आजैदेखि घटाउनुहोस् ।
किनकि, हालै भएका केही अध्ययनहरूले साताको तीन पटकसम्म फेन्च फ्राइज जस्ता आलुको परिकार तारेको खानेहरूमा टाइप २ मधुमेह हुने सम्भावना उच्च हुने देखाएको छ ।
अनुसन्धानकर्ताहरूले दशकौंसम्म लगाएर १ लाख ५० हजार बढी सहभागीमा अध्ययन गरेका हुन् ।
यो अध्ययनले सातामा धेरै मात्रामा फेन्च फ्राइज खानेहरूमा नखानेको तुलनामा टाइप २ मधुमेह हुने सम्भावना बढी देखियो ।
अगस्ट ६ मा द बीएमजेमा प्रकाशित अध्ययनको रिपोर्टमा जनाइएअनुसार हप्तामा तीन वा सोभन्दा बढी पटक फ्रेन्च फ्राइज खाँदा मधुमेहको जोखिम २० बढ्छ ।
यो नतिजाले अल्ट्रा–प्रोसेस्ड खानाको उपभोग र रगतमा ग्लुकोजको नियमन तथा दीर्घकालीन स्वास्थ्यमा असर गर्ने अध्ययनकर्ताले दर्शाएका छन् ।
कसरी पार्छ नकारात्मक असर ?
यो अध्ययनको निष्कर्षले अचम्मित नतुलाएको निकोला लुडलाम–रेन, एक आहार विशेषज्ञ बताउँछिन् ।
‘परिष्कृत कार्बोहाइड्रेट, अस्वस्थ तेलबाट बनाइने चिल्लो अति–प्रशोधित परिकार हो, फ्रेन्च फ्राइज’ उनी भन्छिन्, ‘किनकि, यो बनाउनका लागि एकपटक पकाइसकेको तेलमा पटक-पटक फ्राइ गर्दा क्यालोरी उच्च हुन्छ।’
आलुमा प्राकृतिक रूपमा फाइबर, पोटासियम, र भिटामिन सी र बी६ हुन्छ । जुन स्वास्थ्यका लागि फाइदाजनक हो । तर, यसका परिकार बनाउँदा भने पकाउने तरिकाअनुसार पोषण घटेर तयार हुने विज्ञहरू बताउँछन् ।
सन् २०२२ को एक मेटा–विश्लेषणले, जुन ११ लाख मानिसहरूमा गरिएको अध्ययनले फ्रेन्च फाइज हल्का खाँदा टाइप २ मधुमेहको जोखिम १२ प्रतिशत बढाउने र एकैपटक अत्याधिक खाँदा ३१ प्रतिशतसम्म जोखिम बढाउने देखायो ।
‘आलुलाई तार्दा यसको ऊर्जा घनत्व (प्रति ग्राम क्यालोरी) बढ्छ । आलुमा हुने प्राकृतिक फाइबर पनि नष्ट हुन्छ’ ’लुडलाम–रेनले भनिन्, ‘त्यसमाथि एउटै तेलमा पटक पटक पकाउँदा ट्रान्स फ्याट वा एडभान्स्ड ग्लाइकेशन इन्ड प्रोडक्ट्स जस्ता हानिकारक यौगिकहरू उत्पन्न हुन्छ ।’
त्यस्तै, अर्को पोषणविद क्यारोलिन रोर्बट्सले मुखका लागि मात्र मिठो हुने तर भविष्यमा भने घात गर्ने हुँदा यस्ता खानेकुराबाट बच्नु पर्ने उल्लेख गरे ।
‘ठूला फास्ट फूड चेन र सुपरमार्केटमा किनिने फ्रोजन फ्रेन्च फ्राइजमा आलुको बोक्रा हटाइन्छ, जसले फाइबरको मात्रा हटाउँछ र ग्लाइसेमिक इन्डेक्स तुरुन्तै बढाउँछ, ’उनी भन्छिन् ।
‘काटेर धोएपछि, तयारी प्रक्रियामा ग्लुकोज थपिन्छ, जसले खैरो रङ सुनिश्चित गर्छ, तर फ्राइजको ग्लाइसेमिक इन्डेक्स थप बढाउँछ।’
रोबर्ट्सका अनुसार आंशिक उमाल्ने र आंशिक तार्ने प्रक्रियाले चिल्लोको मात्रा बढाउँछ । स्टार्चका अणुहरूले पानी सोस्छन् र फुल्छन्, जसले गर्दा स्टार्च जेलजस्तो, चिल्लो र बाक्लो बनावटमा परिणत हुन्छ । त्यसकारण रगतमा ग्लुकोजको स्तर तीव्र रूपमा बढाउन सक्छ ।
‘फ्रेन्च फ्राइज जस्ता अल्ट्रा–प्रोसेस्ड खानामा प्रायः एडिटिभ्स, प्रिजर्भेटिभ्स, इमल्सिफायरहरू, र परिष्कृत तेलहरू हुन्छन्, जो घरको खानामा सामान्यतया प्रयोग हुँदैनन्, ’लुडलाम–रेनले उल्लेख गरिन् ।
यी तत्वले आन्द्राको माइक्रोबायोममा नकारात्मक प्रभाव पार्ने र समयसँगै इन्सुलिन प्रतिरोधमा योगदान गरी मधुमेह बढाउने उनी बताउछिन् ।
लगभग १ करोड सहभागीहरू समावेश भएको समीक्षाले यसरी खाँदा टाइप २ मधुमेह, मुटु रोग, मोटोपना, मानसिक स्वास्थ्य समस्या देखिन्छ । यस अध्ययन अनुसार यस्ता खानाले कम्तीमा ३२ प्रतिकूल स्वास्थ्य परिणामको जोखिम बढाउँछ ।
थोरे खाँदा त्यति हानि नगर्न सक्छ
यदि तपाईंलाई फ्रेन्च फ्राइज मन पर्छ भने, यो अध्ययनको निष्कर्षले खान चटक्कै छाड्नुपर्छ भन्दैन ।
किनकी, मधुमेहको जोखिम मूल्यांकन गर्दा समग्र आहार ढाँचा महत्त्वपूर्ण हुने रोबर्टस् बताउछिन् ।
प्रोटिन, फाइबर र स्वस्थ चिल्लो पर्याप्त मात्रामा समावेश भएको सन्तुलित आहारले टाइप २ मधुमेहको जोखिम कम गर्न मद्दत गर्छ।
बेलाबेलामा अन्य सुन्तुलित खानेकुरासँग फ्राइजको थोरै मात्रा मिलाएर खान सकिने रोबर्टस्को भनाइ छ । लुडलाम–रेनले पनि फ्रेन्च फ्राइज मध्यम रूपमा खान सकिनेमा सहमति जनाइन् ।
‘बेलाबेलामा एक दुई पिस खाँदैमा मधुमेहको जोखिम बढिहाल्छ भन्ने होइन’ उनी भन्छिन्, ‘तर नियमित उपभोगले फरक पार्छ । म तारेको परिकार र यस्तै खानालाई हरेक दुई हप्तामा एकपटकभन्दा बढी नखान र रगतमा चिनी स्थिर राख्न सन्तुलित खाना सुनिश्चित गर्न सिफारिस गर्छु ।’
तर, अन्य अल्ट्रा–प्रोसेस्ड खानाहरू जस्तै, फ्रेन्च फ्राइज अत्यधिक स्वादिष्ट हुने गरी डिजाइन गरिएको हुन्छ, जसले त्यसप्रतिको आकर्षण बढाउँछ र धेरै खान प्रेरित गर्छ । यो अवस्थाबाट भने सजग हुनुपर्ने उनको भनाइ छ ।
परिष्कृत कार्बोहाइड्रेटले बढाउँछ रगतमा चिनीको मात्रा
नयाँ अध्ययनले सेतो चामललाई पनि टाइप २ मधुमेहको सम्भावित कारकको रूपमा उल्लेख गरेको छ । फ्रेन्च फ्राइज जस्तै, सेतो चामल छिट्टै पच्छ र रगतमा चिनीको स्तर बढाउन सक्छ ।
‘सेतो चामलको बाहिरी तहको फाइबर हटाइएको हुन्छ,’ रोबर्टस्ले भनिन्, ‘फाइबरबिना, सेतो चामल छिट्टै पच्छ र केही मानिसहरूमा रगतमा चिनीको स्तर उल्लेखनीय रूपमा बढाउन सक्छ ।‘
लुडलाम–रेनका अनुसार परिष्कृत कार्बोहाइड्रेट छिट्टै ग्लुकोजमा परिणत हुन्छ, जसले रगतमा चिनी र इन्सुलिनको स्तर तीव्र रूपमा बढाउँछ । यी खानामा साबुत अन्नमा पाइने फाइबर, भिटामिन र खनिजहरू हुँदैनन्, जसले पाचनलाई सुस्त बनाउँछ ।
यसको मतलब सेतो चामल पूर्णरूपमा छोड्नुपर्छ भन्ने होइन । यसलाई प्रोटिन र स्वस्थ चिल्लोसँग जोडेर खाँदा रगतमा चिनीको तीव्र वृद्धि रोक्न सकिन्छ ।
सन्तुलित आहारले मधुमेहको जोखिम कम गर्छ
यदि तपाईं टाइप २ मधुमेहको जोखिमबारे चिन्तित हुनुहुन्छ वा फ्रेन्च फ्राइजको उपभोग कम गर्न चाहनुहुन्छ भने, स्वस्थ विकल्पहरू धेरै छन् ।
घरमा फ्रेन्च फ्राइज जस्तै केही बनाउन चाहनुहुन्छ भने, आलुलाई बोक्रासहित काटेर, फाइबरको मात्रा कायम राख्न र तेलबिना पकाउन रोबर्ट्स सुझाव दिन्छिन् ।
‘पकाएर चिसो पारिएको र पुनः तताइएको आलुको ग्लाइसेमिक इन्डेक्स धेरै कम हुन्छ । किनभने चिसो र पुनः तताउने प्रक्रियाले तिनको प्रतिरोधी स्टार्च सामग्री सक्रिय गर्छ, ’उनी भन्छिन् ।
रगतमा ग्लुकोजको मात्र सन्तुलनमा राख्न कस्तो खाना खाने ?
– हरेक खानामा तरकारी, साबुत अन्न, दाल, नट्स र फाइबर समावेश गर्ने ।
– अन्डा, माछा, तोफु वा सिमी जस्ता प्रोटिनयुक्त खानेकुरालाई प्राथमिकता दिने ।
– जैतुनको तेल, एभोकाडो र तैलीय माछा जस्ता स्वस्थ चिल्लो छनोट गर्ने ।
– कम पौष्टिक अल्ट्रा–प्रोसेस्ड खाना र चिनीयुक्त पेय पदार्थहरू सीमित गर्ने ।
हेल्थलाइनबाट
प्रतिक्रिया 4