
१० भदौ, काठमाडौं । झाडापखला र हैजाको प्रकोप देखिएपछि वीरगञ्ज महानगरपालिकाले आफ्नै प्रयोगशालामार्फत खानेपानीको परीक्षण सुरु गरेको छ ।
झाडापखला र हैजा संक्रमणको प्रमुख कारण दूषित पिउने पानी हुनसक्ने आशंकामा महानगरले नमुना संकलन गरी परीक्षण प्रक्रिया अघि बढाएको हो ।
महानगरले वडा नम्बर १०, ११ र १२ भित्रका विभिन्न पाँच स्थानका धाराबाट पानीको नमुना संकलन गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।
उनका अनुसार माइक्रोबायोलोजिस्ट अजय मण्डल, वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले संकास्पद क्षेत्रमा पुगेर धाराको पानी संकलन गरी प्रयोगशालामा परीक्षण गर्ने कार्यलाई तीव्रता दिएका छन् ।
सोमबारदेखि महानगरले पानीको नमुना संकलन गरी आफैंले परीक्षण गर्न सुरु गरेको उनले जानकारी दिए ।
खानेपानी परीक्षणका लागि महानगरले वडा नम्बर १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै आधुनिक प्रयोगशाला स्थापना गरेको छ ।
प्रयोगशालामा हाल इकोली परीक्षण सहजै हुने व्यवस्था मिलाइएको छ । युनिसेफले उपलब्ध गराएको विशेष किट प्रयोग गरेर कोलिफर्म परीक्षण समेत सुरु गरिएको महानगरले जनाएको छ ।
माइक्रोबायोलोजिस्ट मण्डलका अनुसार इकोली परीक्षणको प्रारम्भिक नतिजा २४ घण्टाभित्र आउँछ भने कोलिफर्म परीक्षणको विस्तृत रिपोर्ट आउन करिब ७२ घण्टा लाग्ने छ ।
मण्डलले भने, ‘समयमै नतिजा प्राप्त भएपछि कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्ने तत्काल थाहा हुन्छ र त्यसअनुसार आवश्यक कदम चाल्न सजिलो हुन्छ ।’
संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिँदै महानगर प्रमुख सिंहले सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता रहेको बताए ।
उनका अनुसार, महानगरपालिकाले आफ्नै स्तरबाट परीक्षण सुरु गर्नुको उद्देश्य बासिन्दालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु हो ।
हाल महानगरले अत्यधिक प्रभावित क्षेत्रमा प्रयोग हुने धाराको पानीमा प्राथमिकता दिँदै परीक्षण कार्य अघि बढाइरहेको छ ।
प्रतिक्रिया 4