News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा वायु प्रदूषणले रक्तनलीमा क्याल्सियम जम्मा गराएर मुटु रोगको जोखिम ४० प्रतिशतले बढाएको छ ।
- वायु प्रदूषणमा बस्नेहरूको रक्तनलीमा क्याल्सियम जम्मा हुने दर सामान्यभन्दा दोब्बर हुन सक्छ।
- चिकित्सकहरूले मास्क लगाउने, एन्टिअक्सिडेन्टयुक्त खाना खाने, प्रदूषणबाट बच्ने र औद्योगिक उत्सर्जन नियन्त्रण गर्न सरकारलाई सुझाव दिएका छन्।
वायु प्रदूषणले पुर्याउने हानि फोक्सोमा मात्र सीमित छैन । विज्ञहरू भन्छन्, ‘फोक्सो मात्र नभई यसले रक्तनलीमा गम्भीर असर गरी मुटुलाई समेत कमजोर पार्न सक्छ । रक्तनली उमेरभन्दा अघि नै बुढो हुन्छ ।
ग्लोबल बर्डेन अफ डिजिजले सन् २०१९ मा गरेको अध्ययनअनुसार, नेपालमा सन् १९९० देखि २०१९ सम्म हृदय रोगका कारण हुने मृत्युदर ४० प्रतिशतले बढेको छ, जसमा वायु प्रदूषण एक प्रमुख कारक हो ।
कसरी यस्तो हुनसक्छ ?
हावामा आँखाले देख्न नसक्ने पीएमः २.५ जस्ता सूक्ष्म कणहरू हुन्छन् । यी माइक्रोमिटरभन्दा साना हुन्छन् । श्वासमार्फत यी कणहरू फोक्सोमा पुग्छन् र रगतमा मिसिन्छन् । यी कणहरूका कारणले रक्तनलीको भित्री तहहरू सुनिन्छ । जसले रक्तनलीको लचकता र कार्यक्षमता घटाउँछ ।
द लान्सेट जर्नलमा प्रकाशित १०० भन्दा बढी अध्ययनहरूको विश्लेषणअनुसार, लामो समयसम्म पीएमः२.५ र नाइट्रोजन अक्साइडको सम्पर्कमा रहँदा रक्तनलीमा क्याल्सियम जम्मा हुन्छ, जसले धमनीलाई कडा बनाउँछ । यो अवस्थालाई एथेरोस्क्लेरोसिस भनिन्छ, जसले रगतको प्रवाहमा अवरोध ल्याउँछ ।
नेपाल पनि यो समस्याको उच्च जोखिममा रहेको मुटुरोग विशेषज्ञ डा. माधव विष्ट बताउँछन् । नेपालका काठमाडौं र विराटनगर जस्ता शहरमा सवारी साधनको धुवाँ, औद्योगिक उत्सर्जन र जंगलको डढेलोले हावाको स्तर खतरनाक रूपमा बढाइरहेकोले यस्ता ठाउँमा बसोबास गर्नेहरू धेरै खतरामा रहेको डा.विष्ठको भनाइ छ ।
यस्ता प्रदूषित ठाँउमा बसोबास गर्नेहरूको रक्तनलीमा क्याल्सियम जम्मा हुने दर सामान्यभन्दा दोब्बर हुनसक्ने उनले जानकारी दिए ।
क्याल्सियम जम्मा हुँदा रक्तनलीहरू संकुचित हुन्छन्, जसले मुटुमा रगत र अक्सिजनको आपूर्ति कम गर्छ । फलस्वरूप, हार्ट अट्याक, स्ट्रोक र अन्य मुटु रोगको जोखिम बढ्छ।
अमेरिकन हार्ट एसोसिएशनको प्रतिवेदनले पनि लामो समयसम्म प्रदूषित हावाको सम्पर्कमा रहने व्यक्तिहरूमा हृदय रोग र स्ट्रोकको जोखिम २०–३० प्रतिशतले बढ्ने देखाएको छ । नेपालमा सन् २०१९ को तथ्यांकले यो जोखिमलाई थप पुष्टि गर्छ, जसअनुसार मुटु रोग नेपालमा मृत्युको प्रमुख कारण बनेको छ ।
यो जोखिम शहरमा बस्नेलाई मात्रै नभई ग्रामीण क्षेत्रमा बसोबास गर्नेमा पनि रहेको मुटुरोग विश्षज्ञ डा. अशोक श्रेष्ठ बताउँछन् । ग्रामीण क्षेत्रमा इन्धनका रूपमा दाउराको प्रयोग गर्दा आउने धुँवाले पनि रक्तनलीमा उस्तै असर गर्ने उनको भनाइ छ । श्रेष्ठका अनुसार यस्ता क्षेत्रका महिलामा मुटु र फोक्सोको समस्या १५ देखि २५ प्रतिशत बढी हुनसक्छ ।
रक्तनली कमजोर हुने कारण
वायु प्रदूषणले शरीरमा अक्सिडेटिव स्ट्रेस उत्पन्न गर्छ, जुन फ्री र्याडिकल्स (हानिकारक अक्सिजन अणुहरू) को कारणले हुन्छ । यी फ्री र्याडिकल्सले कोषहरूलाई क्षति पुर्याउँछ र रक्तनलीको भित्री तहमा असर गर्ने डा. श्रेष्ठ बताउँछन ।
डा. श्रेष्ठका अनुसार यो अवस्थालाई एन्डोथिलियल डिस्फंक्शन भनिन्छ, जसमा रक्तनलीहरूले आफ्नो सामान्य कार्य गर्न सक्दैनन् । रक्तनलीको लचकता कम हुँदा रगतको प्रवाहमा बाधा पुग्छ, जसले उच्च रक्तचाप, धमनीमा लेउ बन्ने र मुटु रोगको जोखिम बढाउँछ ।
धुम्रपान जत्तिकै प्रदुषणले अप्रत्यक्षप्रत्यक्ष रूपमा मुटुको रक्तनलीको कार्यमा बाधा पार्ने उनी बताउँछन् । ‘अक्सिडेटिव स्ट्रेसले रक्तनलीलाई समयभन्दा पहिले बुढो बनाउँछ । हाम्रा धेरै बिरामीहरू ४० वर्षको उमेरमै ६० वर्षको जस्तो रक्तनलीको समस्या लिएर आउँछन् ’ डा. श्रेष्ठ सुनाउँछन् ।
प्रदूषणबाट निस्किएको ग्यासले पहिलाबाट नै मुटु रोग र कोलेस्टेरोल भएकोलाई थप कठिन पार्ने हुँदा प्रदूषणबाट बच्न उनको सुझाव छ ।
२०१७ को एक विश्लेषणले नेपालमा प्रदूषणलाई हृदय रोगको दोस्रो ठूलो जोखिम कारक मानेको डा.विष्ट बताउँछन् । ‘प्रदूषणले रक्तनलीमा लेउ बन्ने प्रक्रियालाई तीव्र बनाउँछ’ डा.विष्ट भन्छन्, ‘हामीले देखेका छौं, काठमाडौंका ट्राफिक पुलिस र सडक व्यापारीहरूमा यस्ता समस्याहरू धेरै छन् ।’
यो कुरालाई नेपालको नसर्ने रोगहरूको जोखिम कारकबारे गरिएको स्टेप्स सर्वेक्षण २०१९ ले पनि केही हदसम्म पुष्टि गरेको छ । यो सर्वेक्षणमा शहरका व्यस्त क्षेत्रमा बस्ने मानिसहरूमा उच्च रक्तचाप ३० प्रतिशतले बढी भएको देखाएको छ । एसटिइपियस भनेको विश्व स्वास्थ्य संगठनले नसर्ने रोगको जोखिक कारकहरूको निगरानी र अध्ययन गर्न प्रयोग गरिने मानककृति विधि हो।
वायु प्रदूषणले अक्सिजनको शुद्धतामा पार्ने प्रभाव
सन् १९५० भन्दा पहिले वायु प्रदूषणबारे खासै चर्चा हुँदैनथ्यो । तर, इङ्ल्याण्डमा औद्योगिक कारखानाका कारण श्वास-प्रश्वास र यस सम्बन्धि संक्रमणका बिरामीहरू बढेपछि विश्वव्यापी रूपमा यो समस्याप्रति सचेतना बढ्यो ।
नेपालमा पनि शहरीकरण, जनसङ्ख्याको चाप, सवारी साधनको धुवाँ र औद्योगिक उत्सर्जनले वायुमण्डलमा गम्भीर प्रभाव पारेको छ । यी प्रदूषकहरूले हामीले श्वास फेर्ने हावामा अक्सिजनको शुद्धता घटाएका छन् ।
काठमाडौं जस्ता शहरका धूलोमा १० माइक्रोमिटरभन्दा साना कणहरू प्रचुर मात्रामा हुने छाती तथा फोक्सो रोग विशषेज्ञ डा. कमल थापा बताउँछन् । ‘यी कणहरू सिधै फोक्सोको भित्री भागमा पुग्छन्, जहाँ रगतमा अक्सिजन मिसिन्छ’ डा.थापा भन्छन्, ‘यस्ता कणहरूले फोक्सोको अक्सिजन अवशोषण क्षमता कम गर्छ ।’
उनका अनुसार सूक्ष्म कणहरू र विषाक्त ग्यासहरू (सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड) ले अक्सिजनको शुद्धता घटाएर फोक्सोका कोषिकाहरूलाई क्षति पुर्याउँछ ।
काठमाडौंमा सवारी साधनको धुवाँ र धूलोमा पीएम २.५ को स्तर विश्व स्वास्थ्य संगठनको मापदण्डको भन्दा ४–५ गुणा बढी हुने डा.थापा बताउँछन् । ‘यस्तो अवस्थामा फोक्सोले शुद्ध अक्सिजन लिन सक्दैन, जसले रगतमा अक्सिजनको स्तर कम हुन्छ’ डा.थापा भन्छन्, ‘यसो हुँदा मुटुमा अतिरिक्त दबाब पर्छ, किनभने मुटुले कम अक्सिजनसहित रगतलाई शरीरभर पम्प गर्नुपर्छ ।’
ग्रामीण क्षेत्रमा इन्धनका लागि प्रयोग गर्ने दाउरा, गोबर वा कोइलाको धुवाँले घरभित्रको हावालाई दूषित बनाउने र यो पनि खतरनाक नै हुने उनको भनाइ छ ।
अन्य अंगमा असर
वायु प्रदूषणको प्रभाव फोक्सो, रक्तनली र मुटुमा मात्र सीमित छैन । यी हानिकारक कणहरू रगतमार्फत मस्तिष्कमा पुग्दा स्नायु सम्बन्धी समस्याहरू जस्तै डिमेन्सिया र अल्जाइमरको जोखिम बढाउँछ ।
मिर्गौलामा रक्त प्रवाह कम हुँदा मिर्गौला रोगको खतरा पनि बढ्छ । त्यस्तै, प्रदूषणले प्रजनन स्वास्थ्यमा असर गर्छ, जसले पुरुष र महिलामा प्रजनन क्षमता कमजोर बनाउन सक्छ ।
जोखिममा को-को छन् ?
वायु प्रदूषणको असर सबैमा पर्छ, तर केही समूहहरूमा यो जोखिम बढी हुन्छ । बालबालिकाको फोक्सो र रक्तनली विकासको क्रममा हुने भएकाले उनीहरू बढी संवेदनशील हुन्छन ।
वृद्धवृद्धामा उमेरसँगै रक्तनली कमजोर हुन्छ, र प्रदूषणले यो प्रक्रियालाई तीव्र बनाउँछ। मधुमेह, उच्च रक्तचाप वा मुटु रोग भएका व्यक्तिहरूमा प्रदूषणको असर गम्भीर हुन्छ ।
शहरका व्यस्त सडक, औद्योगिक क्षेत्र वा धुलोधुवाँ बढी हुने ठाउँमा बस्नेहरूमा जोखिम उच्च हुन्छ । नेपालका ग्रामीण र शहरी दुवै क्षेत्रमा यो जोखिम भए पनि स्वास्थ्य सुविधाको कमीले र समयमै उचपारका लागि नपुग्ने हुँदा ग्रामीण क्षेत्रमा रहनेमा समस्या गम्भीर हुने बुझाइ डा. विष्टको छ ।
कसरी बच्ने ?
वायु प्रदूषणबाट पूर्ण रूपमा बच्न गाह्रो भए पनि केही उपाय अपनाएर यसको असर कम गर्न सकिने चिकित्सकहरूको सुझाव छ ।
-मास्कको प्रयोग गर्ने : काठमाडौं जस्ता धुवाँ धुलो धेरै उड्ने शहरमा अनिवार्य मास्क लगाउने ।
-स्वस्थ खानेकुरा खाने : एन्टिअक्सिडेन्टयुक्त खानेकुराहरू (स्याउ, अमला, सुन्तला, हरियो सागसब्जी, ड्राईफ्रुटले अक्सिडेटिव स्ट्रेस कम गर्छ । ओमेगा–३ फ्याटी एसिड (माछा, आलसले) जस्ता खानेकुराले रक्तनलीको स्वास्थ्य सुधार गर्छ ।
-बाहिरी प्रदूषणबाट जोगिने : धुलो, धुवाँ र सवारी चाप भएको क्षेत्रमा आवश्यक परे मात्र निस्किने । बिहान र बेलुका प्रदूषण कम हुने समयमा व्यायाम गर्ने ।
-घरभित्रको हावा स्वच्छ राख्नुपर्छ : दाउराको सट्टा धुवाँ नआउने इन्धनको प्रयोग गर्ने । यस्ता इन्धन प्रयोग गर्नु पर्दा धुँवा बाहिर जाने खालको चुलो प्रयोग गर्ने ।
-नियमित स्वास्थ्य जाँच जरुरी छ : रक्तचाप, कोलेस्टेरोल र मुटुको स्वास्थ्य जाँचले समस्यालाई समयमै पहिचान गर्न सकिन्छ ।
-व्यायाम र तनाव व्यवस्थापन गर्ने : नियमित व्यायाम र योगले रक्तनलीको लचकता कायम राख्छ ।
-सम्भव भए हरियाली बढाउने : घर र वरपर रुख–बिरुवा रोप्नाले हावालाई स्वच्छ बनाउन मद्दत गर्छ । इन्डोर प्लान्ट राख्न सकिन्छ, जसले हावालाई शुद्धिकरणमा मद्दत गर्छ।
दीर्घकालीन समाधान
‘वायु प्रदूषणको समाधान व्यक्तिगत स्तरमा मात्र होइन, नीतिगत स्तरमा पनि आवश्यक भएको डा. श्रेष्ठ बताउँछन् । उनका अनुसार सरकारले औद्योगिक उत्सर्जन नियन्त्रण र हरियाली नीति लागू गर्नुपर्छ । सरकारले सवारी साधनको धुवाँ कम गर्ने नियम, हरियाली प्रवर्द्धन र औद्योगिक उत्सर्जन नियन्त्रण गर्नुपर्छ ।
व्यक्तिगत रूपमा साइकलको प्रयोग, सार्वजनिक यातायात र इन्धनको कम खपतले प्रदूषण घटाउन योगदान गर्छ ।
प्रतिक्रिया 4