News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिवि क्रिकेट रंगशालामा जडान गरिने ६ वटा फ्लडलाइटमध्ये एउटाको टावर उठाउने काम सुरु भएको छ र दशैंपछि बाँकी टावरको काम सकिने छ।
- नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एनपीएलका खेलहरू रातिमा फ्लडलाइटमा खेलिने सम्भावना रहेको बताएका छन्।
- एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा आयोजना हुने तय भएको छ।
१३ असोज, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित निर्माणाधीन त्रिवि क्रिकेट रंगशालामा जडान गरिने ६ वटा फ्लडलाइटमध्ये एउटाको टावर उठाउने काम सुरु गरिएको छ ।
सोमबार एउटा टावरमा फ्रेमिङ र वायरिङको काम गरेर त्यसलाई उठाइने अन्तिम चरणमा रहेको प्रोजेक्ट म्यानेजर सौरभ साहले अनलाइनखबरलाई जानकारी दिएका छन् ।
‘६ वटा मध्ये एउटाको काम लगभग अन्तिम चरणमा पुगिसकेको छ, आज मौसमले साथ दियो भने केही घण्टामै एउटा लाइटको टावर उठ्ने छ’ साहले भने । उनका अनुसार लाइट पछि जोडिनेछ ।
‘पहिले लाइट जोडेर टावर उठाउँदा अलि रिस्की हुन्छ कि भनेर हाल लाइट नजोडी उठाउँदै छौं, अब पछि सबै लाइट एकैपटक जोड्न पनि सकिन्छ’ उनले भने ।
उनका अनुसार दशैं र तिहारको बीचमा बाँकी ५ वटा टावरको काम पनि पूरा भइसक्ने छ । ‘दशैंको टीकाभन्दा अगाडि यही एउटा हुने हो, बाँकी काम चाहिँ तिहार अगाडि नै सबै सक्ने योजना छ’ उनले भने । उक्त काम पूरा भएपछि लाइट टेस्टिङको काम हुनेछ र टेस्टिङ सम्पन्न भएपछि रातिको समयमा खेल खेलाउन योग्य हुनेबारे निष्कर्ष आउनेछ ।
त्रिवि क्रिकेट मैदानमा जडान गरिने ६ वटा फ्लडलाइटका लागि जडान गरिने कूल ४२० वटा लाइटमध्ये १४० वटा लाइटहरू आइपुगिसकेका छन् । लाइट यूरोपेली मुलुक इटलीबाट आएको हो ।
‘बाँकी लाइटहरू आउने क्रममा नै छ, भन्सार क्लियर भएर कहिले आइपुग्छ भन्ने कुरा हो’ साहले भने ।
रंगशालाको पारापिटमा सिट जडान गर्ने काम सकिइसकेको छ । अब फ्लडलाइटको काम समयमै सकिएमा नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण रातिमा पनि गराउन सकिने अवस्था बन्ने छ ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एनपीएलका खेलहरू रातिमा पनि गर्न सकिने कुरा उल्लेख गरेका थिए ।
हाल स्तरोन्नतिको काम भइरहेको मैदानमा पहिलो चरणमा १५ हजार क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान कार्य भइरहेको हो ।
मैदान स्तरोन्नतिको काम असार मसान्तमा नसकिएपछि त्यसबेलादेखि हालसम्म निर्माण कम्पनीहरूले दैनिक हर्जना तिरेर काम गरिरहेका छन् ।
त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको हालसम्मको समग्र प्रगतिबारे बुझ्न आयोजना प्रमुखसँग सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन ।
एनपीएल रातिमा होला ?
एनपीएल यसपटक नयाँ स्वरुपको त्रिवि क्रिकेट रंगशालामा हुने कुरा पक्कापक्की जस्तै रहँदा रातिमा खेलाइने वा नखेलाइने भन्ने सबैको चासोको विषय छ ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्ससँगको पोडकास्टमा एनपीएल त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा खेलिने कुरा गरेका थिए ।
क्यानले पनि उक्त सम्भावनालाई नकारेको छैन । ‘अब अहिले त्रिवि क्रिकेट मैदान बनिरहेको छ, समयमै काम सम्पन्न भएर खेल सञ्चालन गर्न मिल्ने अवस्था भएपछि फ्लडलाइटमा खेल खेलाउने योजना नै हो’ क्यानका प्रवक्ता छुम्बी लामाले अनलाइनखबरसँग भनेका छन् ।
प्रोजेक्ट म्यानेजर साहले पनि एनपीएलअघि फ्लडलाइटको काम सम्पन्न हुने बताएका छन् । ‘तिहारअघि सबै टावर उठाएर सकिन्छ, त्यसपछि लाइट टेस्टिङको काम हुने हो, एनपीएल आयोजना हुने मिति (मंसिर)सम्म त तयार भइसक्ने छ, हामी त्यसैअनुसार काम गरिरहेका छौं’ उनले भने ।
एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म गर्ने तय छ । त्यसका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको छ भने विदेशी खेलाडीहरू पनि घोषणा हुने क्रममा छन् ।
प्रतिक्रिया 4