News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले वेस्ट इन्डिजसँगको टेस्ट राष्ट्रविरुद्ध पहिलो द्विपक्षीय शृंखलामा लगातार दुई जित निकाल्दै शृंखला आफ्नो नाममा गरेको छ।
- सोमबारको खेलमा नेपालले ९० रनको फराकिलो जित निकाल्दै ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेको छ।
- कप्तान रोहित पौडेलले शृंखला जित्न पाउँदा खुसी लागेको बताए र फिल्डिङमा उत्कृष्टता नेपालकै विशेषता भएको उल्लेख गरे।
१४असोज, काठमाडौं । नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखलामा लगातार दुई जित निकाल्दै एक खेल अगावै शृंखला आफ्नो नाममा गरेको छ ।
२ दिनअघि शनिबार ऐतिहासिक जित हासिल गरेको नेपालले सोमबारको खेलमा प्रभावशाली जित निकालेर टेस्ट राष्ट्रविरुद्ध पहिलो शृंखलामै शानदार प्रदर्शन गरेर शृंखला नै जितेको हो ।
वेस्ट इन्डिजसँगको सोमबारको खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा गजबको प्रदर्शन गर्यो । विपक्षी खेलाडीलाई नै चकित पार्ने नेपालको फिल्डिङ जोशले मैदानभित्रदेखि संसारभर हेरिरहेका समर्थकहरूमाझ तरंग पैदा गरेको थियो ।
कप्तान रोहित पौडेलले सिरिजअघि बोलेको कुरा प्रमाणित गरेर देखाएका छन् । उनले वेस्ट इन्डिजविरुद्ध शृंखला जित्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आजको खेलपछि कप्तान रोहितले शृंखला जित्न पाउँदा धेरै खुसी लागेको बताए । ‘२ दिनमै शृंखला जित्न पाउँदा धेरै खुसी लागेको छ, महत्वपूर्ण सिरिज थियो हाम्रो लागि’ उनले भने, ‘विश्वलाई देखाउनका लागि पनि जित्नुपर्ने थियो, हामीमा धेरेको नजर छ । पछिल्ला वर्षमा राम्रो गर्दै आएका छौं , अझै राम्रो हुँदै जानेछ भन्ने आशा छ।’
शृंखलाको दुई खेल मात्र सकिँदा वेस्ट इन्डिजको टोली नेपालसामू निरिह देखिएको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।
दुई खेल, दुई नयाँ इतिहास
नेपाली क्रिकेट टोलीका लागि यस शृंखलामा इतिहास बनाउने दुई अवसर रहेकोमा दुवै पूरा भएको छ ।
आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई हराउने तथा द्विपक्षीय शृंखला जित्ने पनि नेपाललाई अवसर थियो । शृंखलाका तीनमध्ये दुई खेल मात्र सकिँदा यी दुवै रेकर्ड बनेको छ ।
नेपालले हालसम्म एसोसियट राष्ट्रसँग मात्र द्विपक्षीय शृंखला खेलेको थियो । टेस्ट राष्ट्रसँग खेलेको पहिलो द्विपक्षीय शृंखलामा नै जित निकाल्न सफल भएको हो ।
नेपालले हालसम्म हङकङ, मलेसिया, यूएई, अमेरिका, नेदरल्याण्ड्स, केन्यासँग द्विपक्षीय शृंखला खेलेको छ । जहाँ नेपालले ४ शृंखलामा जित निकालेको छ ।
सन् २०१४ मा श्रीलंकामा भएको शृंखलामा नेपाल हङकङसँग पराजित भएको थियो । त्यस्तै सन् २०१५ मा नेदरल्याण्ड्स गएर खेलेको नेपाली टोलि १ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको थियो ।
सन् २०१९ मा यूएईमा भएको शृंखलामा २ खेल जित्दा १ खेलमा पराजित भयो । २०१९ मै मलेसियामा भएको शृंखलामा नेपालले २ मध्ये २ खेल नै जितेको थियो ।
२०२२ मा केन्यामा गएर शृंखला खेलेको नेपालले ३ खेल जित्दा २ खेलमा पराजित भयो । २०२४ मा हङकङमा भएको एकमात्र खेलमा नेपाल पराजित भएको थियो ।
ब्याटिङ, बलिङ र फिल्डिङमा अब्बल प्रदर्शन
नेपालका लागि दोस्रो खेलको जित अझ विशेष रह्यो । यस खेलमा नेपालले ९० रनको फराकिलो जित निकाल्दै २ पटकको विश्वविजेता टोली वेस्ट इन्डिजलाई पूर्णरूपमा निरिह बनायो ।
नेपालले टस जितेर सुरुवाती ब्याटिङको निर्णय गरेको थियो । सुरुवात राम्रो नभएपनि नेपालको मध्यक्रम फेरि आज सुदृढ देखियो । ४३ रनमा ३ विकेट गुमेको अवस्थाबाट आसिफ शेख र सन्दीप जोराले शतकीय साझेदारी गरे ।
यस क्रममा आसिफले ४७ बलमा अविजित ६८ रन बनाए भने जोराले ३९ बलमा ६३ रनको विस्फोटक पारी खेले । जोराले ३ चौका र ५ छक्का प्रहार गरेका थिए ।
खेलपछि कप्तान रोहितले आसिफ र जोराको इनिङको प्रशंसा गरे । ‘स्ट्राइक रोटेटदेखि शट सेलेक्सनमा राम्रो भयो, राम्रो पार्टनरशिप बनेपछि जित्छौं भन्ने थियो’ उनले भने ।
त्यसपछि जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिजविरुद्ध नेपाल सुरुदेखि नै हावी बन्यो । खेलको तेस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले पहिलो सफलता हात पारे भने चौथो ओभरमा कुशल भुर्तेलले शानदार क्याच लिएपछि वेस्ट इन्डिजले ५ रन जोड्दा २ विकेट गुमायो । पावरप्ले सकिँदा वेस्ट इन्डिजले २ विकेट गुमाएर १६ रन मात्र बनाएको थियो ।
रोहितले पावरप्लेमा सोचेभन्दा राम्रो बलिङ भएको बताए । ‘पावरप्लेमा शानदार बलिङ रह्यो । करण र दीपेन्द्रले शानदार गरे त्यसपछि सबै राम्रो भइहाल्यो, उनिहरू प्रेसरमा आइसकेको थियो’ रोहितले थपे ।
नवौं ओभरमा गुल्शनले शानदार क्याच लिएपछि वेस्ट इन्डिजले तेस्रो विकेट गुमायो । त्यसपछि आदिलले ३ ओभरको स्पेलमा ३ विकेट निकाले । यसबीचमा कुशल भुर्तेलले पनि १ विकेट लिए ।
गुल्शनले बाउन्ड्रीमा अर्को शानदार डाइभिङ क्याच लिँदा वेस्ट इन्डिजको नवौं विकेट गुमिसकेको थियो । त्यसपछि अन्तिम विकेटका रूपमा भुर्तेलले सफलता प्राप्त गर्दा करणले राम्रो क्याच लिए ।
आदिलले ४ तथा भुर्तेलले ३ विकेट लिएपछि वेस्ट इन्डिजको इनिङ धराशायी बनेको थियो । त्यसमाथि फिल्डिङमा उत्कृष्ट प्रदर्शन हुँदा सुनमा सुगन्ध थपिएको थियो ।
रोहितले फिल्डिङमा नेपाल राम्रो भएको र धेरै मेहेनत पनि गरेको उल्लेख गरे । ‘हाम्रो विशेषता भनेकै उत्कृष्ट फिल्डिङ हो, धेरै मेहेनत पनि गरेका छौं’ उनले भने ।
सन्दीप र आदिलको उत्कृष्ट कमब्याक
राष्ट्रिय टोलीमा ३ वर्षपछि फर्किएका मोहम्मद आदिल आलमले सोमबारको खेल खेल्ने मौका पाए । ब्याटिङमा एक छक्का र एक चौकासहित ११ रन बनाएका आदिलले बलिङमा शानदार प्रदर्शन गरे ।
कप्तान रोहितले आदिललाई एकै स्पेलमा तीन ओभर र त्यसपछि अर्को स्पेलमा एक ओभर गराए । आदिलले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । फिल्डिङमा पनि एक क्याच लिए । आदिलले पुनरागमनमार्फत पाएको मौकालाई सदुपयोग गरेका छन् ।
३ वर्षअघि स्पट फिक्सिङ प्रकरणमा परेर प्रतिबन्धमा परेका आदिल प्रतिबन्ध फुकुवापछि नेपाली टोलीको क्याम्पमा बोलाइएका थिए भने त्यसपछि आसामसँग खेल्ने नेपाल ए को टोलीमा परेका थिए । आसामसँगको शृंखलामा आदिलको प्रदर्शन शानदार रह्यो । त्यहीँको प्रदर्शनबाट उनलाई राष्ट्रिय टोलीमा बोलाइएको थियो ।
यस्तै सन्दीप जोराले पनि आसामसँगको शृंखलामा देखाएको लयलाई निरन्तरता दिए । उनले पहिलो खेलमा धेरै रन बनाउन नसकेपनि आजको खेलमा मध्यक्रममा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुनरागमन गरेसँगै आफूलाई प्रमाणित पनि गरेर देखाएका छन् ।
***
शृंखलाको अन्तिम खेल मंगलबार हुँदैछ । भोलिको खेलमा पनि जित निकाले अर्को इतिहास फेरि बन्नेछ । नेपालले हालसम्म खेलेका ३ वा सोभन्दा बढी खेलको द्विपक्षीय शृंखलामा क्लिनस्वीप गरेको छैन ।
मंगलबारको खेल जितेमा नेपालले आफ्नो इतिहासको पानामा सन् २०२५ मा हासिल गरेको यो उपलब्धि सुनौलो अक्षरले लेख्नेछ ।
प्रतिक्रिया 4