News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीको अविजित अर्धशतकीय साझेदारीमा मलेसियालाई ६ विकेटले हराएको छ।
- नेपालले मलेसियाले दिएको ११२ रनको लक्ष्य १५ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेको छ।
- योसँगै पाँच खेलको शृंखला २-२ को बराबरीमा आएको छ र अन्तिम खेल भोलि हुनेछ।
२१ असोज, काठमाडौं । कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीको अविजित अर्धशतकीय साझेदारीमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको चौथो खेलमा जित हासिल गरेको छ ।
मंगलबार विहान सम्पन्न खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
कप्तान इन्दु ३९ बलमा ४८ रनमा अविजित रहिन् । रुबिनाले २३ बलमा २३ रन बनाइन् । नेपालको ५४ रनमा ४ विकेट गुमेपछि इन्दु र रुबिनाले अविजित ६१ रनको साझेदारी गरे ।
मलेसियाकी नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले १-१ विकेट लिए । एकजना ब्याटर रनआउट भइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १११ रन बनाएको थियो । मास एलिसाले अविजित ५६ रन बनाइन् । माहिराले १८ तथा नुर दानियाले १५ रन बनाइन् ।
नेपालकी कविता कुँवरले ४ ओभरमा १० रन मात्र दिएर ३ विकेट लिइन् । पूजा महतो र कविता जोशीले १-१ विकेट लिए ।
नेपाल यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा १३ रनले पराजित भएको थियो ।
योसँगै ५ खेलको शृंखला २-२ को बराबरीमा आएको छ । शृंखलाको अन्तिम तथा निर्णायक खेल भोलि हुनेछ ।
प्रतिक्रिया 4