+
+
WC Series
Nepal
60/3 (9.6)
VS
Qatar
0/0
Shares

मृतकको शव लिन रेडक्रसको टोली दक्षिणी गाजा प्रस्थान

हमासले विपिनको मृत्यु पुष्टि गरेकाले दक्षिणी गाजाबाट आजै रेडक्रसले इजरायल ल्याउने मृतकका शवहरूमध्ये उनको पनि हुनसक्ने अनुमान छ । तर, इजरायली सेनाले भने शव प्राप्त नभइसक्दासम्म मृतकबारे अड्कलबाजी नगर्न आग्रह गरेको छ  ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते २१:१३
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हमासले अपहरणमा परेका ४ जनाको शव आजै इजरायललाई बुझाउने बताएको छ र अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजातर्फ प्रस्थान गरेको छ।
  • सोमबार हमासले मृतकहरूको सूचीमा नेपालका विपिन जोशीको नाम समावेश गरेको छ र उनको मृत्यु पुष्टि गरेको छ।
  • हमासले २० जना जीवित बन्धकलाई मुक्त गरेको छ र मृतकहरूको संख्या २८ सम्म हुनसक्ने बताएको छ।

२७ असोज, काठमाडौं । हमासको अपहरणमा परेर मारिएकाहरूको शव लिन अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजातर्फ गएको छ  । हमासले ४ जनाको शव आजै इजरायललाई बुझाउनको बताएको छ ।

४ जनाको शव लिन रेडक्रसको टोली दक्षिणी गाजातर्फ प्रस्थान गरेको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सोमबार हमासले शव फिर्ता गर्ने ४ जना मृतकहरूको सूचीमा नेपालका विपिन जोशीको पनि नाम छ ।

हमासले विपिनको मृत्यु पुष्टि गरेकाले दक्षिणी गाजाबाट आजै रेडक्रसले इजरायल ल्याउने मृतकका शवहरूमध्ये उनको पनि हुनसक्ने अनुमान छ । तर, इजरायली सेनाले भने शव प्राप्त नभइसक्दासम्म मृतकबारे अड्कलबाजी नगर्न आग्रह गरेको छ  ।

इजरायली सेना र त्यहाँको गुप्तचर संस्था शिन बेट (शीन बेटले) ले संयुक्त विज्ञप्ति जारी गर्दै रेडक्रस प्रतिनिधि दक्षिणी गाजातर्फ प्रस्थान गरेको पुष्टि गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘रेड क्रसका प्रतिनिधि दक्षिण गाजातर्फ जाँदैछन्, जहाँ हमासले मृतकका शवहरू राखिएका कफिनहरू हस्तान्तरण गर्नेछ ।’

हमासले आजै जीवित २० जनालाई मुक्त गरेको थियो । मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जना सम्मको हुनसक्ने भनिएको छ ।

हमासले पछिल्लोपल्ट सन् ७ अक्टोबर २०२३ मा किबुज क्षेत्रमा आक्रमण गरेको थियो । उक्त आक्रमण सुरु गरेको दोस्रो दिन (७ अक्टोबर) भएको आक्रमणमा अध्ययनका लागि गएका १६ जना नेपाली विद्यार्थी पनि परेका थिए ।

इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका उनीहरू सबै गाजा क्षेत्र नजिकै पर्ने दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा बस्दै आएका थिए ।

आक्रमणको एक दिनपछि इजरायलस्थित नेपाली दूतावासले आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको थियो । मारिएका नेपालीसँगै रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो ।

जोशीको परिवारले गत वर्ष हमासले सार्वजनिक गरेको उनको भिडियो जारी गर्न इजरायली सेनालाई अनुमति दिएको थियो ।

सन् २०२३ को अन्त्यतिर रेकर्ड गरिएको उक्त भिडियोमा उनले भनेका थिए- ‘मेरो नाम विपिन जोशी हो । म नेपालबाट आएको हुँ । म २३ वर्षको छु। म २५ दिनअघि इजरायल आएको हुँ । म ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत यहाँ आएको विद्यार्थी हुँ ।’

सोमबार हमासले विपिन जोशीको मृत्यु पुष्टि गर्नु अघिसम्म उनको अवस्थाबारे कुनै जानकारी सार्वजनिक गरिएको थिएन ।

हमासले दिएको मृतकको सूचीमा रहेका बाँकी तीन जना को हुन् ?

योसी शाराबी

५३ वर्षीय योसी शाराबी अक्टोबर ७ मा इजरायलको बेएरीबाट अपहरणमा परेका थिए । हमासले छोरा ओरनसँगै शाराबीलाई अपहरण गरेर लगेको थियो । पत्नी नीरासहित तीन सन्तान- ओफिर, युभाल र ओरनका अभिभावक थिए शाराबी ।

गाइ इलुज

२६ वर्षीय गाइ इलुजलाई पनि २०२३ को अक्टोबर ७ मा नोभा सङ्गीत महोत्सवबाट हमासले अपहरण गरेको थियो । इजरायलकै रा’आनाना निवासी इलुज प्रतिभाशाली ध्वनि प्राविधिक र संगीतकार थिए । उनले इजरायली कलाकार शालोम हानोक, म्याटी कास्पी र हाययहुदिम ब्यान्डसँग काम गरेका थिए । सन् २०२३ मै  उनको मृत्यु भएको पुष्टि भएको थियो ।

ड्यानियल पेरेट्ज

२२ वर्षीय ड्यानियल पेरेट्ज इजरायली रक्षा सेनाकाअधिकृत थिए । उनी अक्टोबर ७ मा मारिएका थिए र त्यसपछि हमासले उनको शव गाजातर्फ लगेको थियो ।

इजरायलकै याड बिन्यामिन निवासी पेरेट्ज ७७औं बटालियनको ‘स्टोर्म फ्रॉम द गोलान’ फर्मेसनका डिभिजन कमाण्डर थिए । दक्षिण अफ्रिकामा जन्मिएका उनी सन् २०१४ मा परिवारसहित इजरायल बसाइँ सरेका थिए ।

उनका पिता रब्बी डोरोन पेरेट्जले सन् २०२४ मा दिएको अन्तर्वार्तामा भनेका थिए- ‘अक्टोबर ७ को बिहान (हमासले इजरायलतर्फ आक्रमण गरेको दिन) ड्यानियल तत्कालै आफ्नो ट्याङ्कतर्फ दौडिए, र थुप्रै सैनिक र सर्वसाधारणको ज्यान बचाए । अन्तत: उनी घेरिए र हामासद्वारा बन्धक बनाइए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?