+
+
Shares

जो जेनजी आन्दोलनका दिन सडकमा थिएनन्

ढुंगाना सर्वसाधारणलाई ‘इन्फ्लूयन्स’ गर्ने भइसकेका छन् । यतिसम्म कि, उनका नाममा विभिन्न छद्म आइडी बनिरहेका छन् ।जो भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका दिन सडकमा थिएनन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असोज २८ गते २१:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिराज ढुंगाना भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागी नभए पनि आफूलाई आन्दोलनको अगुवा भन्दै सामाजिक सञ्जालमा सक्रिय छन्।
  • ढुंगानाले आन्दोलनमा नआएको कारण सुरक्षा थ्रेट भएको र पृष्ठभूमिमा रहेर आन्दोलनलाई सघाएको बताएका छन्।
  • ढुंगाना अहिले राष्ट्रपतिसँग वार्तामा सहभागी छन् र प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै फेरि आन्दोलनको चेतावनी दिइरहेका छन्।

२७ असोज, काठमाडौं । अग्लो कद, गोरो वर्ण । खासै चर्किएर बोलिरहेका देखिँदैनन् । जति बोल्छन्, सामाजिक सञ्जाल वा मिडियामा भद्रताका साथ प्रस्तुत हुने प्रयत्न गर्छन् । प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा बोक्छन् । त्यसकै लागि संघर्ष गर्ने चेतावनी दिइरहेका छन् ।

अब कसो गर्ने ? के गर्ने ? के मान्ने/नमान्ने आफ्नै हातमा रहेको जस्तो आत्मविश्वास देखाउँछन् । मानौँ, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मुख्य हर्ताकर्ता नै हुन्, मिराज ढुंगाना ।

आन्दोलनपछि सामाजिक सञ्जालले ढुंगानालाई साथ दिएको छ । अहिले राष्ट्रपतिसँग छलफल गर्ने सूचीमा उनको नाम छ ।

पछिल्लो समय धेरै सर्वसाधारणलाई ‘इन्फ्लूयन्स’ गर्ने भइसकेका छन् । यतिसम्म कि, उनका नाममा विभिन्न छद्‌म आइडी बनिरहेका छन् । सामाजिक सञ्जालमा उनको नाम खोज्दा अनेक ह्यान्डल ठोकिन आइपुग्छन् ।

यसरी जेनजी अगुवाको नाममा चर्चा बटुलिरहेका ढुंगाना उनै व्यक्ति हुन्, जो भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सडकमा थिएनन् ।

स्रोतकाअनुसार उनी आन्दोलनको अघिल्लो दिन बिहान साढे एघार बजे आसपास भिमसेनगोलामा बसेको जेनजीहरूको भेलाबाटै असहमत भएर उठेका थिए । ‘मेरो आन्दोलन छुट्टै हुन्छ । तपाईंहरूसँग मिल्दिनँ । भोलि बिहान आन्दोलनमा सहभागी हुन्नँ,’ ढुंगानालाई उद्धृत गर्दै उक्त छलफलमा सहभागी एक सदस्यले अनलाइनखबरलाई बताए ।

चियाघरमा बसेको जेनजीको उक्त छलफलमा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी आन्दोलनको माग हुनुपर्ने बताएका थिए । तर, त्यहाँ रहेका अन्य अगुवा सहमत भएनन् । त्यसपछि उनी ‘भोलि साँझ म छुट्टै आन्दोलन गर्छु’ भनेर उठेर हिँडे । उनको एजेन्डा भने स्पष्ट थियो- प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने ।

तर, भदौ २३ मा बिहानबाटै जेनजीहरूले मुख्यगरी दुई माग राखेर प्रदर्शन गरे । तत्कालीन समयमा राज्यले प्रतिबन्ध लगाएर सामाजिक सञ्जाल खोल्नुपर्ने, अनि भ्रष्टाचारविरुद्ध लाग्नुपर्ने भन्दै नाराबाजी भएको थियो ।

त्यही आन्दोलन साँझको समयसम्म पुग्दा भड्किइसकेको थियो । संसद् भवनमै पुगेर जेनजीहरूले ढुंगामुढा गर्न थालेपछि राज्य पक्षबाट गोली चल्यो ।

सोही दिन बेलुका १९ जनाको मृत्यु भएको समाचार आयो, अहिलेसम्म मृतकको संख्या ७६ जना पुगिसकेको छ । घाइते सयौं छन् ।

यसरी दिनभर माइतीघर–बानेश्वर सडकखण्ड र आसपासका गल्लीहरू तनावग्रस्त हुँदा ढुंगाना कतै देखिएनन् । त्यसको भोलिपल्ट भदौ २४ गते झन् ठूलो प्रदर्शन भयो । देशभरका अधिकांश सरकारी र निजी संरचना जलेर ध्वस्त भए । तत्कालको लागि मुलुक नै अभिभावकविहीन बन्ने अवस्थामा पुग्यो । तर, त्यसबेला पनि कतै देखिएनन् ढुंगाना ।

‘उहाँ भिमसेनगोलाबाट हामीलाई तिमीहरूको आन्दोलनमा आउँदिन भनेर हिँड्नुभयो । भोलिपल्ट आउनु पनि भएन । अनि अहिले कुन हैसियतले जेनजी अगुवा भन्दै हिँड्नु भएको छ बुझ्न सक्दिनँ,’ एक अगुवाले प्रश्न गरे, ‘फेरि उहाँको माग त व्यवस्था परिवर्तन गरेर प्रत्यक्ष कार्यकारी माग्ने थियो । तर, जुन आन्दोलनले सत्तापलट गरायो त्यसको म्यान्डेट त्यो हैन । अनि अहिले आफैँ उपस्थित नभएको त्यही आन्दोलनको जगमा किन मान्छे भड्काउँदै हुनुहुन्छ बुझ्दिनँ ।’

यसरी जेनजी अगुवाहरू नै ढुंगानाप्रति सशंकित देखिन्छन् । यसरी आन्दोलनको म्यान्डेटभन्दा फरक विषय उचालिरहेकोमा चिन्तित सुनिन्छन्, उनीहरू ।

तर, ढुंगानाले भने यो विषय पुरानो भइसकेकाले आफूले अहिले कुरा नगर्ने बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘यी विषयहरू पुराना हुन् । म यसबारे अहिले केही बोल्न चाहन्न ।’

सामाजिक सञ्जालदेखि अन्यत्र भने ढुंगानाले आफूलाई सुरक्षा थ्रेट आएका कारण आन्दोलनमा उपस्थित नभएको बताइरहेका छन् ।

म भगौडा होइन । आन्दोलनमै बसेको हो । मेरो ज्यानमाथि धेरै धम्की आयो । मेरो एउटा मात्रै समूह थिएन,’ आइतबारमात्र पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘मैले पृष्ठभूमिमा रहेर आन्दोलनलाई सघाइरहेको थिएँ ।’

जेनजी अगुवाहरू भने उनले कसरी सघाए बुझ्दैनन् । ‘आन्दोलन आह्वान गर्ने क्रममा सामाजिक सञ्जालमा सक्रिय देखिनुभयो । तर, भिमसेनगोलाबाट उठेपछि उहाँ हामीसँग कतै देखिनुभएन । पछि सबै परिवर्तन भएपछि एकाएक मिडियामा छाउन थाल्नुभयो । फेरि फुटेज खान थाल्नुभयो,’ अर्का एक जेनजी अगुवाले भने ।

भिमसेनगोलाबाट आन्दोलनमा नआउने भनेर हिंडेका उनी भक्तपुरस्थित विवादित दुर्गा प्रसाईंलाई भेट्न पुगे । प्रसाईंले नै ढुंगानालाई जेनजी अगुवा ठोकुवा गर्दै भेटको तस्वीर सार्वजनिक गरे ।

‘आज कार्यक्रमको पूर्वसन्ध्यामा जेन-जीका संयोजक भाइबहिनीहरूलाई मेरो निजी निवासमा स्वागत गर्ने सौभाग्य पाएँ । छोटो तर सार्थक संवादले अझ प्रष्ट पारिदियो कि हामीले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्वका रहेछन्,’ प्रसाईंले ढुंगानासँग खिचाएको सामूहिक तस्वीर राख्दै लेखेका थिए, ‘चैत १५ गतेजस्तो दमन नहोस्, विशेषतः २८ वर्षमुनिका भाइबहिनीमाथि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यसरी एकाएक ढुंगानालाई सञ्जालमा अगुवाको रुपमा देखाउन थालिएपछि अन्य जेनजी अगुवा, जो भोलिपल्टको आन्दोलनमा सहभागी पनि भएका थिए, उनीहरुले ढुंगाना जेनजी अगुवा नभएको भन्दै सामाजिक सञ्जालमा लेखे । अहिले नेतृत्व नै यो भन्ने नभएकोले कसैलाई आन्दोलनको नेतृत्व भनेर नतोक्न उनीहरुको माग थियो ।

दुर्गा प्रसाईंसँग भेटेपछि ढुंगानामाथि थप प्रश्न बन्यो । यद्यपि, उनले पछि आफूले प्रसाईंलाई आन्दोलनमा नआउन भन्न गएको दाबी गरे । ‘हामीले उहाँलाई (दुर्गा प्रसाईं) आन्दोलनमा नआउनु भन्न गएका हौँ,’ उनले भनेका थिए ।

त्यसपछि ढुंगाना डिस्कर्डको एउटा ग्रुपको छलफलमा सहभागी भए । त्यहाँ उनले यसबारे स्पष्टीकरण दिने प्रयास पनि गरेका थिए । तर, उनलाई अन्य जेनजी सहभागीले झपारे ।

धेरैले ‘अब भोलि आन्दोलनमा नआउन र आन्दोलन नगर्न’ चेतावनी दिए । उक्त छलफलमा सहभागी एक साक्षीकाअनुसार त्यो ग्रुपमा उनीमाथि गालीका वर्षा भए । त्यसपछि त्यहाँ भदौ २३ गतेको आन्दोलनको चर्चा हुन थाल्यो ।

तयारीस्वरुप भदौ २३ गते अधिकांश जेनजी माइतीघरमा बिहानैबाट देखिन थाले । तर, अहिले जेनजीको नेता दाबी गरिरहेका उनी कतै देखिएनन् ।

यसरी आन्दोलनमा सहभागी नभएका उनी अहिले राष्ट्रपति कार्यालय शितलनिवासमा वार्ताको लागि पुग्न थालेका छन् । राष्ट्रपतिसँग गरिने छलफलमा जेनजीका प्रतिनिधि बनेका छन् ।

सुरक्षा थ्रेटका कारण आन्दोलनमा आफू नगएको बताउने ढुंगानाले अन्य जेनजी अगुवासँग पनि सम्पर्क गरेनन् । न उनलाई त्यसबेला कसैले सम्झिए, न उनले अरूलाई । करिब एकहप्ता गुमनाम रहे । पछि मिडिया र टिकटकमा एकाएक खोजी हुनथाल्यो । ‘आन्दोलन आह्वान गर्ने ढुंगाना किन गायब भए’ भन्दै पोस्ट आउन थाले ।

यसरी सञ्जालले आन्दोलनमा आउनुस् भन्ने ढुंगाना नै त्यहाँ नभएको र पछि पनि कतै नदेखिएपछि खोजी गर्‍यो । यसले उनी एकाएक रहस्यको पात्र बने । ‘अरूलाई त उहाँले आन्दोलनमा आउँदिन भनेर रिसाएर हिँडेको थाहा थिएन, खोज्नु स्वाभाविक थियो । मिडियाले पनि उनलाई रहस्यको पात्र जसरी टिप्यो । अनि एकाएक आन्दोलनमा सहभागी नभएका पात्र हिरो बने,’ अर्का एक अगुवाले भने ।

ती जेनजी अगुवाकाअनुसार ढुंगानासँग उनीहरूको भेट एकैपटक शनिबार शीतलनिवासमा भएको थियो । त्यसअघि उनले अरू जेनजी अगुवाका फोनसमेत उठाएनन् । यतिसम्म कि, जेनजीका नेता बताउने उनले शहीद र घाइते परिवारको फोन पनि उठाएनन् । यसबारे शीतलनिवासमा जम्काभेट भएका शहीद परिवारका सदस्यले ढुंगानालाई प्रश्न गरिहाले ।

‘मिराज जी, तपाईं जेनजीका नेता हुँ भन्नुहुन्छ । अनि हाम्रै फोन उठाउनुहुँदैन । यसरी कसरी हुन्छ ? हाम्रै आफन्त मरेका छन् आन्दोलनमा, अनि हामीसँगै सम्पर्क नगरी कसरी हुन्छ ?,’ ढुंगानालाई शहीद परिवारका सदस्यले सोधेका थिए ।

जवाफमा ढुंगानाले ‘सरी’ भन्दै अब छिट्टै आफूले सम्पर्क गर्ने बताएको त्यहाँ सहभागी एक साक्षीले अनलाइनखबरले बताए । ‘विशेष कारण सम्पर्कमा आउन सकिनँ, सरी । अब म तपाईंहरूसँग सम्पर्क गर्छु,’ ढुंगानालाई उद्धृत गर्दै ती सहभागीले बताए ।

यसरी शहीद परिवारदेखि सबैसँग सम्पर्कविहीन भएर आन्दोलनमै नपुगेका ढुंगानामाथि प्रश्न छ, ‘उनी आजसम्म कहाँ थिए ? आन्दोलनकै दिन कहाँ थिए ? सुरक्षा थ्रेट भएपनि अरूसँग समन्वय र सम्पर्क गर्ने किन गरेनन् ? र, अहिले वार्ताको टेबलमा जेनजी नेताको हैसियतमा बस्दैछन् ?’

यी प्रश्नको जवाफ दिन ढुंगानाले आनाकानी गरे । तत्काल आफूले यसबारे नबोल्ने उनले बताए । ‘म अहिले यसबारे तपाईंसँग कुरा गर्न सक्दिनँ । पछि गरौँला,’ उनले भने ।

तर, ढुंगानाको रफ्तार रोकिएको छैन । उनी प्रत्यक्ष निर्वाचित कार्यकारी मागिरहेका छन् । त्यसको लागि फेरि एकपटक आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी दिइरहेका छन् ।

केही दिनअघि मात्र प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि मात्र निर्वाचनमा आफूहरु जाने उनले बताएका थिए । नत्र निर्वाचन नै हुन नदिने चेतावनी उनको थियो । आइतबारको पत्रकार सम्मेलनमा पनि उनले आफूले जीवनभर प्रत्यक्ष कार्यकारीको एजेन्डा नछाड्ने बताए ।

यसरी आन्दोलनबाट भागेर अहिले त्यही आन्दोलनको उपलब्धिमा खेल्न खोजेको आरोप लागेका मिराज व्यावसायिक पृष्ठभूमिका हुन् ।

उनले ‘दले दाइ’ भन्ने स्टार्टअप कम्पनी चलाएका थिए । यसले रियल स्टेट व्यवसायलाई डिजिटल प्रणालीमा जोडेर किनबेच सहज बनाउने काम गर्‍यो ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?