News Summary
Generated by OK AI. Editorially reviewed.- रक्सीको इतिहास मानवजातिको भन्दा पुरानो छ र फर्मेन्टेसन प्रक्रियाबाट बियर, वाइन, टडी, साइडर जस्ता पेय पदार्थ बनाइन्छ।
- डिस्टिलेसन प्रक्रियाले ह्विस्की, रम, भोड्का जस्ता हार्ड लिकर उत्पादन गर्छ जसमा ३० देखि ६० प्रतिशत रक्सी हुन्छ।
- विश्व स्वास्थ्य संगठनले भन्यो, 'कुनै पनि मात्रामा रक्सी सुरक्षित हुँदैन' र सबै प्रकारका रक्सीले जैविक हानि गर्छ।
बियर, वाइन, ह्विस्की र भोड्का जस्ता पेय पदार्थहरूको फरक के हो ? के यी मध्ये कुन रक्सीले चाहिँ हानि गर्दैन ? कति मात्रामा रक्सी पिउनु उपयुक्त हुन्छ ?
यी प्रश्नहरूको सिलसिलाबद्ध जवाफ खोज्नुअघि पृष्टभूमितर्फ फर्कौं ।
रक्सीको इतिहास मानवजातिको भन्दा पुरानो छ । जब फलहरू धेरै पाक्छन्, तिनमा चिनीको मात्रा बढ्छ, जसले यिस्ट (एक प्रकारको सूक्ष्मजीव) लाई आकर्षित गर्छ । यिस्टले चिनी खाएर रासायनिक प्रतिक्रियामार्फत कार्बनडाइअक्साइड र रक्सी उत्पादन गर्छ । यो प्रक्रियालाई फर्मेन्टेसन भनिन्छ । कार्बनडाइअक्साइड हावामा उड्छ, तर रक्सी फलमा रहन्छ ।
वैज्ञानिकहरूको विश्वास छ कि- लाखौँ वर्ष पहिले हाम्रा पुर्खाहरू(बानर)ले यस्ता फर्मेन्टेड फलहरू खान्थे । यसलाई ‘ड्रंकन मंकी हाइपोथेसिस’ भनिन्छ । यद्यपि, जंगली फलहरूमा फर्मेन्टेसनबाट बन्ने रक्सीको मात्रा २ प्रतिशत भन्दा कम हुन्छ ।
मानव सभ्यताको विकासपछि फर्मेन्टेसनको प्राकृतिक प्रक्रियाबाट रक्सी बनाउन थालियो । पुरातत्वविद्हरूले चीनको हेनान प्रान्तको जियाहु गाउँमा ईसापूर्व ७००० तिरको एक अवशेष फेला पारे । जसमा भाँडोमा चामल, अंगूर र महबाट बनेको पेय पदार्थको अवशेष थियो । त्यस्तै, इजरायलको हाइफामा १३,००० वर्ष पुरानो बियरको प्रमाण भेटिएको छ ।
गहुँ, जौ, वा अंगूर जस्ता खाद्य पदार्थहरू पानीमा भिजाएर राख्दा, हावामा भएको यिस्टले फर्मेन्टेसन सुरु गर्छ । यही प्रक्रियाबाट बियर, वाइन, राइस वाइन, साइडर, केराको बियर र टडी जस्ता पेयहरू बन्छन् ।
उदाहरणका लागिः
बियर : गहुँ वा जौको फर्मेन्टेसनबाट ।
वाइन : अंगूरको फर्मेन्टेसनबाट ।
टडी : नरिवलको रसबाट ।
साइडर : स्याउको फर्मेन्टेसनबाट ।
फर्मेन्टेसनबाट बनेको रक्सीमा १८-१९ प्रतिशत भन्दा बढी रक्सी हुँदैन, किनभने त्यसभन्दा बढी रक्सी यिस्टका लागि विषाक्त हुन्छ र फर्मेन्टेसन रोकिन्छ । तर मानिसहरूले डिस्टिलेसन प्रक्रिया आविष्कार गरे, जसमा रक्सीलाई तताएर बाफ बनाई, त्यसलाई चिस्याएर मदिराको मात्रा उच्च भएको पेय बनाइयो । यसरी ह्विस्की, रम, भोड्का र ब्रान्डी जस्ता ‘हार्ड लिकर’ बन्छन्, जसमा ३० देखि ६० प्रतिशतसम्म रक्सी हुन्छ।
रक्सीमा हुने मुख्य रसायन इथानोल हो, तर कहिलेकाहीँ मिथानोल पनि बन्छ, जुन अत्यन्तै विषाक्त हुन्छ र तुरुन्तै मृत्यु वा अन्धोपन निम्त्याउन सक्छ ।
रक्सीले शरीरमा कसरी असर गर्छ ?
जब तपाईं रक्सी पिउनुहुन्छ, यो मुख, घाँटी र पेट हुँदै सानो आन्द्रामा पुग्छ । सानो आन्द्राबाट रक्सी छिट्टै रगतमा मिसिन्छ । यदि पेट खाली छ भने, रक्सी छिट्टै रगतमा मिसिन्छ र नसा चढ्छ । कार्बनडाइअक्साइड भएको पेय (जस्तै:- ह्विस्की–सोडा वा शैम्पेन) ले झन् छिट्टै नसा लाग्छ ।
रक्सी रगतमा मिसिएपछि, यो मस्तिष्क र कलेजोमा बढी केन्द्रित हुन्छ ।
कलेजोले रक्सीलाई दुई चरणमा तोड्छ:
एडिएच इन्जाइमले रक्सीलाई एसिटाल्डिहाइडमा परिणत गर्छ, जुन विषाक्त रसायन हो र यो ह्याङ्गोभरको कारण बन्छ ।
अर्को एलडिएच इन्जाइमले एसिटाल्डिहाइडलाई एसिटेटमा परिणत गर्छ, जुन हानिरहित हुन्छ । पानी र कार्बन डाइअक्साइडमा बदलिन्छ ।
कलेजोले रक्सीलाई एक निश्चित गतिमा मात्र हटाउन सक्छ । यदि धेरै रक्सी पिइयो भने रगतमा रक्सीको मात्रा (ब्लड अल्कोहल कन्सन्ट्रेसन) बढ्छ, जसले नसा बढाउँछ ।
मस्तिष्कमा पार्ने प्रभाव
रक्सीले मस्तिष्कका नसाहरूमा असर गर्छ । यसले दुई न्यूरोट्रान्समिटरलाई प्रभावित गर्छः
-मस्तिष्कको ‘ब्रेक पेडल’, जसले दिमागलाई शान्त गर्छ । रक्सीले ‘गाबा’ को मात्रा बढाउँछ ।
-मस्तिष्कको ‘रेस पेडल’, जसले दिमागलाई सक्रिय राख्छ । रक्सीले ग्लुटामेटलाई घटाउँछ ।
यसले मस्तिष्कको गति सुस्त बनाउँछ, जसले शान्त बनाउने र निद्रा ल्याउँछ । तर धेरै रक्सीले सास फेर्ने जस्ता महत्त्वपूर्ण कार्यहरू पनि रोकिन सक्छ, जुन घातक हुन्छ । रक्सीले डोपामिन र इन्डोरफिन पनि निस्कन्छ, जसले खुसी र दु:ख कम गर्ने अनुभव गराउँछ ।
दीर्घकालीन प्रभाव
रक्सीको धेरै सेवनले मस्तिष्कका साना नसाहरू मर्दै जाने हुन्छ । यसले निर्णय लिने, ध्यान केन्द्रित गर्ने र भावनात्मक नियन्त्रण गर्ने क्षमता कम हुन्छ । स्मरणशक्ति र तर्क गर्ने क्षमता पनि प्रभावित हुन्छ ।
कलेजोमा प्रभाव
रक्सीले कलेजोको चार चरणमा क्षति हुन्छ:
१.फ्याटी लिभर : कलेजोमा बोसो जम्मा हुन्छ । यो चरणमा रक्सी छोडेमा रिकभर हुन सक्छ ।
२. हेपाटाइटिस : कलेजो सुन्निन्छ र दुख्छ ।
३.फाइब्रोसिस : कलेजोमा घाउ बन्छ ।
४.सिरोसिस : कलेजो कडा र निष्क्रिय हुन्छ । जुन अपरिवर्तनीय हुन्छ र मृत्यु निम्त्याउन सक्छ ।
मुटुमा प्रभाव
अनियमित धड्कन, उच्च रक्तचाप, हृदयाघात, र स्ट्रोकको जोखिम ।
पाचन प्रणालीमा प्रभाव
प्यांक्रियाजले आफैँलाई पचाउन थाल्छ । अल्सर र आन्तरिक रक्तस्राव हुन सक्छ ।
रोग प्रतिरोधक क्षमतामा कमी
एक गिलास रक्सीले २४ घण्टासम्म रोग प्रतिरोधक क्षमता कमजोर बनाउँछ ।
रक्सीसम्बन्धी मिथकहरू
‘एक गिलासले केही हुँदैन’
विश्व स्वास्थ्य संगठन भन्छ, ‘कुनै पनि मात्रामा रक्सी सुरक्षित हुँदैन । यसका हरेक घुट्कोले जैविक हानि गर्छ ।
‘रातो वाइन स्वस्थ हुन्छ’
रातो वाइनमा एन्टिअक्सिडेन्ट हुन्छ, तर ती अंगूरमा पनि पाइन्छ । रक्सीको हानिकारक प्रभाव एन्टिअक्सिडेन्टभन्दा धेरै हुन्छ ।
‘बियर र वाइन हल्का हुन्छ’
बियर, वाइन, र हार्ड लिकरमा इथानोलको मात्रा फरक हुन्छ, तर सबैले उस्तै हानि गर्छ ।
सामाजिक प्रभाव
घरेलु हिंसा : रक्सी पिउने पुरुषहरूबाट घरेलु हिंसाको सम्भावना तीन गुणा बढी हुन्छ ।
बालबालिकामा प्रभाव : रक्सी पिउने अभिभावकका बच्चाहरूमा चिन्ता, डिप्रेसन र लतको समस्या बढी हुन्छ ।
आर्थिक बोझ : गरिबी र रक्सीको लत एक दुष्चक्र हो । मजदुरहरूले आफ्नो कमाइको ठूलो हिस्सा रक्सीमा खर्च गर्छन् । नक्कली र विषाक्त रक्सीले हरेक वर्ष हजारौँको ज्यान लिन्छ ।
(चर्चित युट्युबर ध्रुब राठीको भिडियो सामाग्रीको सम्पादित अंश)
प्रतिक्रिया 4