+
+
Shares

मन्त्रिपरिषद् तेस्रो चरणमा विस्तार, अझै पूर्णता पाएन     

प्रधानमन्त्री कार्कीले सुरुमा आइतबार राष्ट्रपति पौडेलसमक्ष चार जनाको नाम सिफारिस गरेकी थिइन् । तर खगेन्द्र सुनारको नाम विवादमा आएपछि काटियो । गणपतिलाल श्रेष्ठको पनि आइतबार शपथ भएन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १९:४१

९ कार्तिक, काठमाडौं । जेनजी आन्दोलनको करिब डेढ महिनापछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकार आइतबार तेस्रोपटक पुनर्गठन भएको छ ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दुई मन्त्री डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको शपथ गराए ।

प्रधानमन्त्री कार्कीले सुरुमा आइतबार राष्ट्रपति पौडेलसमक्ष चार जनाको नाम सिफारिस गरेकी थिइन् । तर खगेन्द्र सुनारको नाम विवादमा आएपछि काटियो । गणपतिलाल श्रेष्ठको पनि आइतबार शपथ भएन ।

प्रधानमन्त्री कार्की सहित अब मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । ‘एकाध महत्वपूर्ण मन्त्रालयमा मन्त्री थपिन सक्छन्’ प्रधानमन्त्री कार्कीको सचिवालय सम्वद्ध स्रोतले भन्यो, ‘अब प्रधानमन्त्रीको नेतृत्वमा यही टिमले नै निर्वाचनसम्म काम गर्नेछ ।’

दोस्रो संविधानसभा निर्वाचन गराउने प्रयोजनका लागि १२ वर्षअघि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्‌मा १२ जना मन्त्री थिए ।

त्यतिबेला सबैजसो व्यक्तिहरु पूर्व–प्रशासन पृष्ठभूमिका थिए भने अहिले पनि १२ जनासम्म मन्त्री बनाउने तयारी छ ।

वरिष्ठताक्रममा रहेका अर्थमन्त्री रामेश्वर खनाल त्यही मन्त्रालयबाट अवकाश पाएका सचिव हुन् । पेशाले इञ्जिनियर कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी–निर्देशक हुन् ।

अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् भने नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्मा त्यही मन्त्रालयबाट १४ वर्षअघि अवकाश पाएकी सचिव हुन् । त्यतिबेला मन्त्रीहरूसँग वैचारिक असहमतिका कारण राजीनामा दिएकी उनी केही समय राष्ट्रसंघीय नियोगहरूमा कार्यरत थिइन् ।

गृहमन्त्री ओमप्रकाश अर्याल पेशाले अधिवक्ता हुन् भने सञ्चारमन्त्री जगदीश खरेल पत्रकार हुन् ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर यन्त्र उपकरणको प्रयोगमा जोड दिइरहेका महावीर पुन नेपालको ग्रामीण भेगमा सूचना–प्रविधिको विस्तारबाट सामाजिक सेवामा प्रवेश गरेका र चर्चामा आएका व्यक्ति हुन् । कृषिमन्त्री मदन परियार विभिन्न अध्ययन र सामाजिक क्रियाकलापमा सक्रिय थिए ।

युवा तथा  खेलकूदमन्त्री बनेका बब्लु गुप्ता सामाजिक काममा सक्रिय थिए । कोरोना महामारीका बेलामा विपतमा परेकाहरूलाई निःशुल्क खाना बाँड्नदेखि आर्थिक अभाव भएका व्यक्तिहरूलाई उनले कपडा बैंक अभियान चलाएका थिए । उनले ‘हण्ड्रेड ग्रुप’ स्थापना गरेर त्यसैमार्फत् विभिन्न कार्यक्रम गरिरहेका थिए ।

अहिलेसम्मको उपस्थिती हेर्दा सरकारमा महिला, आदिवासी, दलित एवं मधेशी समूदायको प्रतिनिधित्व भएको देखिन्छ । बब्लु गुप्तालाई मन्त्री बनाएपछि जेन–जी आन्दोलनकर्मी र मधेशी समूदायको प्रतिनिधित्व भएको देखिन्छ । यसअघि मधेशी दलित समूदायबाट रामजी रामको नाम चर्चामा रहेपनि अहिले भने नाम समावेश छैन ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?