+
+
Shares

कांग्रेसमा महाधिवेशन मितिबारे प्रस्तावै प्रस्ताव

३० असोजदेखि एजेन्डागत छलफलमा प्रवेश गरेको केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबारसम्म महाधिवेशनबारे तीनवटा प्रस्ताव पेस भएका छन् ।

केशव सावद केशव सावद
२०८२ कात्तिक २१ गते २२:०८

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूबीच महाधिवेशनका लागि मिति प्रस्ताव गर्ने होडबाजी नै चलेको छ ।

३० असोजदेखि एजेन्डागत छलफलमा प्रवेश गरेको केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबारसम्म महाधिवेशनबारे तीनवटा प्रस्ताव पेस भएका छन् ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनको मिति प्रस्ताव गरेका छन् । उनले आगामी २४ मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव बैठकमा राखेका हुन् ।

आचार्यले बैठकमा शुक्रबार २१ कात्तिक भइसकेको भन्दै छोटो समयमा अधिवेशन सम्पन्न गर्ने गरी विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेको जानकारी दिए ।

‘नेपाली कांग्रेसको विधानमा व्यवस्था भएको धारा १७ (२) अनुसार २४ मंसिर, जुन दिन मंगलादेवी सिंहको जन्म जयन्ती पर्छ,’ केन्द्रीय सदस्य आचार्यले भने, ‘त्यस दिनबाट सुरु हुने गरी विशेष महाधिवेशन आयोजना गरौं ।’

सहमहामन्त्री महेन्द्र यादवले बैठकमा महामन्त्री गगनकुमार थापालाई ‘काउन्टर’ दिन महाधिवेशन कार्यतालिका ल्याएकोप्रति इंगित गर्दै उनले आफूले विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेको पनि बताए ।

१४औं महाधिवेशनका झन्डै ५४ प्रतिशत प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । त्यसैलाई आधार मानेर विशेष महाधिवेशन गर्न सकिने नेता आचार्यको भनाइ थियो ।

चुनावको सम्मुखमा छोटो समयमा अधिवेशन सम्पन्न गर्नुपर्ने चाप पार्टीमा रहेको उनको उनको थियो । ‘चुनावको सम्मुखमा छौं । धेरै साथीहरूको बीचमा घर्षण पैदा गरेर, स्पर्धा पैदा गरेर तँ र म भनेर जान जायज पनि छैन,’ आचार्यले भने, ‘चुनावको तयारीका लागि प्रशस्त समय दिनु छ र चुनावलाई पहिलो प्रायोरिटी बनाएर जानु छ ।’

यसअघि गत मंगलबारको बैठकमा महामन्त्री थापाले १६-१९ पुसभित्र महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । सोही बैठकमा सहमहामन्त्री महेन्द्र यादवले अर्को वर्षको २७-२९ वैशाखमा १५औँ महाधिवेशन गर्नुपर्ने भन्दै ‘काउन्टर’ प्रस्ताव गरेका थिए ।

कांग्रेस विधानको धारा १७ (१) र धारा ४३ को व्यवस्थाअनुसार २०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको चारवर्षे कार्यकाल आगामी पुसमा समाप्त हुने हुँदा विधानको धारा १७ (१) बमोजिम १५औँ महाधिवेशनका लागि मिति प्रस्ताव गरेको महामन्त्री थापाको भनाइ थियो ।

काउन्टर प्रस्ताव गरेका सहमहामन्त्री यादवले पार्टीको विधानबमोजिम नियमित १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको काम सम्पन्न हुन नसकेको अवस्थामा तत्काल महाधिवेशन गर्न सकिने अवस्था नभएको दाबी गरेका थिए ।

जसका कारण सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने क्रियाशील सदस्यता छानबिन समिति अविलम्ब गठन गरेर बैठकबाट समयावधि निर्धारण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

यसअघि बिहीबारको बैठकमा आमन्त्रित सदस्य दीपक खड्काले अगामी जेठ महिनाभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए । ‘नियमित महाधिवेशन गर्दा पार्टी वडा तहदेखि केन्द्र तहसम्म नै क्रियाशील हुन्छ,’ उनले भनेका थिए ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले २१ फागुनको निर्वाचनलगत्तै महाधिवेशन सम्पन्न गर्ने र त्यसका लागि महाधिवेशनको प्रक्रिया पहिल्यै सुरु गर्ने प्रस्ताव गरिरहेका छन् ।

शुक्रबारको बैठकमा उनले भने, ‘मैले त अस्ति एउटा वैकल्पिकको पनि कुरा गर्दै थिएँ, निर्वाचन भएन भने यसो गरौं भनेर । तर त्यो कुरामा धेरै साथीहरूले इन्ट्रेस्ट नलिएको हुनाले म अहिले स्पष्ट रूपमा के भन्छु भने, निर्वाचनलगत्तै राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने, त्यसको प्रक्रिया पहिल्यै सुरु गर्ने, क्रियाशील सदस्यता पनि पहिल्यै सम्पन्न गरिसक्ने, क्रियाशील सदस्यता अभियान र हाम्रो राष्ट्रिय निर्वाचनको अभियान सँगसँगै लिएर जाने ।’

यसअघि बिहीबारको बैठकमा केन्द्रीय सदस्य एनपी साउदले आगामी फागुनमा निर्वाचन हुने सुनिश्चित भए अर्को वर्षको वैशाखमा र चुनाव नहुने भए आगामी फागुनमै १५औँ महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

‘निर्वाचनभन्दा अगाडि वा पछाडि महाधिवेशन गर्नुपर्ने भन्दा पनि फागुनमा निर्वाचन हुने सुनिश्चित भयो भने वैशाख र वैशाखमा निर्वाचन हुने भयो भने फागुनमै महाधिवेशन गर्न उपयुक्त हुन्छ,’ उनको प्रस्ताव थियो ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीमा देखिएको चुनावअघि वा चुनावपछि महाधिवेशन गर्ने भन्ने अडानको बीचबाट सहमति निर्माण गर्न आवश्यक रहेको बताए ।

‘हाम्रो महाधिवेशन तयारीको काम खासै अघि बढेको छैन । त्यसैले आमनिर्वाचन अगाडि महाधिवेशन सम्पन्न गर्ने कि आमनिर्वाचन पछाडि सम्पन्न गर्ने भन्ने अडानको बीचबाट सहमतिको निर्माण गर्नु आवश्यक छ,’ उनले भने ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले अधिवेशनका लागि आवश्यक पूर्वकार्य सुरु नगरी बाहिर पार्टी विवादग्रस्त रहेको सन्देश प्रवाह हुँदा संस्थागत छवि धमिलिन पुगेको बताइन् । जसका कारण जनमानसमा नकारात्मक प्रभाव छरिँदा संगठनलाई कमजोर देखाउने मौका अरूले पाइरहेको उनको भनाइ थियो ।

‘अधिवेशनका लागि आवश्यक पूर्वकार्य सुरु नगरी बाहिर पार्टी विवादग्रस्त छ भन्ने सन्देश प्रवाह गर्नुले हाम्रो संस्थागत छवि धमिलिन पुगेको र नकारात्मक प्रभाव जनमानसमा छरिएको र संगठनलाई कमजोर देखाउने मौका पाइरहेका छन्,’ सहमहामन्त्री उपाध्यायले भनिन् ।

उनले अहिलेको समय दोष खोज्ने र धार बनाउने नभएर जिम्मेवारी लिने र काम सुरु गर्ने समय भएको पनि बताइन् । अधिवेशन केवल प्रक्रियागत अभ्यास नभएर लोकतान्त्रिक प्रतिबद्धता र पार्टीलाई सुदृढ गर्ने अवसर भएको बताइन् ।

‘म विनम्रतापूर्वक सुझाव दिन चाहन्छु- अब दोष खोज्ने वा धार बनाउने होइन, जिम्मेवारी लिन र काम सुरु गर्ने समय हो । अधिवेशन केवल प्रक्रियागत अभ्यास होइन, यो हाम्रो लोकतान्त्रिक प्रतिबद्धता र पार्टीलाई सुदृढ गर्ने अवसर पनि हो,’ उपाध्यायले भनिन्, ‘हामी सबै मिलेर स्पष्ट निर्णयमा पुगौँ, आवश्यक तयारी आरम्भ गरौँ, र कांग्रेसलाई फेरि जनविश्वासको केन्द्र बनाउन प्रतिबद्ध बनौँ ।’

केन्द्रीय सदस्य प्रतिमा गौतमले महामन्त्री थापाले प्रस्तुत गरेको कार्यतालिकाअनुसार १५औं महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने बताइन् ।

‘चार वर्षे कार्यकाल यही मंसिरमा समाप्त हुँदैछ । मंसिरभित्रै महाधिवेशन सम्पन्न गरी नयाँ जनादेश लिएर मात्र देशको जनादेश लिन चुनावी मैदानमा जानुपर्छ,’ गौतमले भनिन्, ‘त्यस समयमा नभ्याउने हो भने महामन्त्रीले प्रस्ताव गरेको १६-१९ पुस म्म महाधिवेशन गर्न सकिन्छ । तर विशेष महाधिवेशन गर्नैपर्ने २९ पुसभित्र विशेष होस् वा नियमितमध्ये एक विकल्पमा गएर मात्रै संसदीय चुनावमा पार्टीलाई लैजानुपर्छ ।’

महाधिवेशन नगरी चुनावमा जाने बहाना नखोज्न नेताहरूलाई उनले चेतावनी दिइन् । पुरानै नेतृत्वले अस्थायी रूपमा चुनावमा जान खोज्नु नेतृत्व संक्रमणलाई अनिश्चित बनाउने र संगठनलाई कमजोर पार्ने गल्ती हुने गौतमको भनाइ छ ।

केन्द्रीय सदस्य दिनेश यादवले महाधिवेशनको कार्यतालिका सुरु गर्दै जाँदा चुनावअघि वा पछि भन्नु नपर्ने बताए ।

‘अधिवेशनको काम नियमित प्रक्रियाअन्तर्गत अगाडि बढ्नुपर्छ । आजदेखि सुरु गर्नुपर्छ । र, यो विशेष भन्ने पनि छैन, अर्ली भन्ने पनि छैन, भर्खरै भन्ने पनि छैन,’ उनले भने, ‘अनन्तकालसम्म यही लानुपर्छ भन्ने पनि छैन । अहिलेबाट सुरु गर्ने हो । काम आफ्नो गर्दै जाने हो, हेर्दै जाने हो । जति सकिन्छ छिटो गर्ने हो ।’

मुलुक तरल अवस्थामा रहेको उल्लेख गर्दै नेता यादवले देशमा कुन बेला, के हुनेमा परिस्थिति थाहा नभएको हुँदा महाधिवेशनका लागि महिना यकिन गर्न आवश्यक नरहेको बताए ।

केन्द्रीय सदस्य उमेशजंग रायमाझीले विगत चार वर्षमा महाधिवशेनका लागि तयारी हुन नसकेको बताए । ‘चार वर्षअघि नै २७ मंसिर आउँछ भन्ने थाहा थियो । किन सुतेर बस्नुभयो ? अनि अहिले भर्खरै चाहियो तपाईंलाई ? अनि रोक्नु पनि पर्ने तपाईंलाई फेरि ?,’ रायमाझीले नेतृत्वलाई प्रश्न गरे ।

सहमतिमा महाधिवेशन गर्ने र चुनावमा भाग लिने दुवै काम कांग्रेसले गर्नुपर्ने उनको भनाइ थियो । आगामी फागुनमा चुनाव हुनेमा शंका रहेको रायमाझीले बताए । ‘संसद् पुनर्स्थापना हुनसक्छ भने त्यसको बाटोमा किन नलाग्ने ?,’ उनले नेतृत्वसँग सोधे ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, सरिता प्रसाईं, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, राजीव ढुंगाना, अर्जुनजंगबहादुर सिंह, सुशीला मिश्र भट्ट, नानु बास्तोला, डा. जीवन राना र सीता थपलिया (उर्मिला) ले समेत आ-आफ्नो धारणा व्यक्त गरेका छन् ।

कांग्रेसको अर्को बैठक आइतबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?