+

पोखराको पहिलो जित, साविक विजेता जनकपुरको लगातार तेस्रो हार

२०८२ मंसिर  ११ गते १९:५२ २०८२ मंसिर ११ गते १९:५२

विपिनले ४ विकेट लिएपछि १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।

पोखराको पहिलो जित, साविक विजेता जनकपुरको लगातार तेस्रो हार

११ मंसिर, काठमाडौं । ब्याटिङमा सुमित वर्माको अर्धशतक अनि बलिङमा स्पीनर विपिन खत्री चम्किएपछि पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ ।

सुरुवाती दुई खेलमा पराजित पोखराले साविक विजेता जनकपुरलाई २५ रनले पराजित गर्दै २ अंक जोडेको हो ।

पोखरा र जनकपुर दुवैले यसअघि सुरुआती दुवै खेलमा हार व्यहोरेको थियो । दुवै टोली पहिलो जितको खोजीमा थिए । त्यसमा पोखराले बाजी मार्‍यो ।

विपिनले ४ विकेट लिएपछि १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।

जनकपुर बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरे पनि जितसम्म पुर्‍याउन भने सकेनन् । आठौं नम्बरमा ब्याटिङ गरेका उनले ३८ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए ।

अन्तिम ओभरको दोस्रो बलमा सिंगल लिएर अर्धशतक पूरा गरेपछि उनी रिटायर्ड आउट भएका थिए ।

यस्तै सञ्जय कृष्णमूर्तिले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाए भने माज साजाकातले २० रन जोडे ।

जनकपुरको ब्याटिङ अर्डरलाई ध्वस्त पार्ने क्रममा पोखराका विपिन खत्रीले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै सुमित वर्माले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।

कप्तान कुशल भुर्तेल र जिमी निशमले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले सुमित वर्माको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

पोखरा यस सिजन टस जितेर ब्याटिङ गर्ने पहिलो टिम समेत हो । पोखराका लागि युगान्डाका अलराउण्डर सुमित वर्माले २९ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए । यस्तै दिनेश खरेलले ३९, तृतराज दासले २९ र एडम रोसिङग्टनले २४ रन जोडे ।

बलिङमा साविक विजेता जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । कप्तान अनिल शाह र ललित राजवंशीले समान १ विकेट लिए ।

एनपीएल जनकपुर बोल्टस् पोखरा एभेन्जर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय