+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares
एस्प्रेसो :

दल र जेनजी- ओठले हाँस्न मन नलागे दाँतले हाँस

हेटस्पिच र निषेध रोकिहालौं, चुनावमा जनमत परीक्षण गरौं

बसन्त बस्नेत बसन्त बस्नेत
२०८२ मंसिर १२ गते १३:५३

सरकारका राजनीतिक संवाद–शृंखला अनि निर्वाचन आयोगको चुनावी कार्यतालिका पछ्याउँदै उत्साहपूर्ण दल दर्ता भएको देख्दा लाग्छ– चुनाव फागुनमा सम्भव छ । फेरि सिमरादेखि धनगढीसम्मका हिंसा, तनाव तथा अराजनीतिक घटना हेर्दा त्यसै वाक्यमा प्रश्नचिह्न थप्न मन लाग्छ– चुनाव फागुनमा सम्भव छ ?

चुनावमै जान भनेर दलहरू खुलेका खुल्यै छन् । एकअर्कासँग मिलेका मिल्यै छन् । दल मिल्नेदेखि चुनाव चिह्न साझा गर्ने क्रम चलिरहेको छ । समीक्षा बास्कोटा र रञ्जु दर्शनाले हाँक्दै आएको विवेकशील पार्टीले रास्वपासँग मिल्ने निर्णय गर्‍यो । माधवकुमार नेपालदेखि मधेशवादीसम्म, सन्तोष परियारदेखि सुदन किरातीसम्मले नयाँ–नयाँ मोर्चाबन्दी गरिरहेका छन् । कुलमान घिसिङदेखि हर्क साम्पाङसम्म, खगेन्द्र विश्वकर्मादेखि रेशम चौधरीसम्म चुनावकै तयारीमा छन् । मिराज ढुंगानाको चुनाव हुँदैन भन्ने उदास अभिव्यक्तिलाई बिर्सने हो भने देशमा त चुनावै चुनावको माहोल पो छ !

कतिसम्म भने ७ मंसिरबाट आँधीबेहरी ल्याउने हुँकार पिटिरहेका दुर्गा प्रसाईं यतिबेला सरकारसँग दोहोरो संवाद शुरु गरिरहेका छन् । उत्तेजक बोली–व्यवहारको शृंखलापछि हिरासत परेका उनी बाहिर निस्के । सरकारी मान्छेहरूले उनलाई जिस्क्याइदिएका पनि हुन्– सडकमा अनेक थोक गर्नुभन्दा चुनाव जितेर मन्त्री बन्नु नि !

यस्तै क्रममा गृहमन्त्री अर्यालसँग मंसिर १० गते बुधबार साँझ हामी अन्तरंग संवादमा थियौं । उनी भनिरहेका थिए– शान्तिपूर्ण राजनीतिक संवादमा हाम्रो प्राथमिक रुचि छ । तर हिंसा चाहिरहेका कतिपय समूह छन् । ती जेनजी हुन् या नन्–जेनजी हुन्; राजनीतिक कोर्समा गइसकेपछि सबैलाई एउटै कुरा लागू हुन्छ । हिंसा अराजकतालाई छुट छैन ।

हुन त सुदन गुरुङलाई लाग्छ– यी गृहमन्त्री अर्याल एमालेले एमालेबाट एमालेका लागि काम गर्ने गृहमन्त्री हुन् । उता एमाले अध्यक्ष केपी ओलीलाई लाग्छ– यी गृहमन्त्री बाबु जेनजीका केटाकेटी उफ्रिएर फ्याट्ट मन्त्री बनाइदिएका व्यक्ति हुन् । खासमा यस्तो संकटका बेला गृहमन्त्री बनेका ओमप्रकाश अर्याल कसैका नहुन सक्छन्, तर सबैका हुन सक्छन् ।

हामीले पहिले पनि भनेका छौं– यो सरकार जेनजी विद्रोहका कारण बनेको सरकार हो, तर आफैंमा विद्रोही सरकार होइन । यो तटस्थ सरकार हो, त्यो तटस्थता कायम राखिराख्यो भने चुनाव हुन सक्छ, समयमै ।

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् ।

प्रश्न यति मात्रै छ, त्यो तटस्थता चुनाव हुने बेलासम्म कायम रहिरहला ? किनभने गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र यसको स्वीकार्यतालाई लिएर काफी प्रश्नहरू उठिरहेका छन् । सेना, प्रहरीदेखि राजनीतिक दलसम्म आपसी विश्वास जित्दै अनुसन्धान बढाउन आयोगलाई परिस्थिति सहज देखिएको छैन ।

अहिले कट्टर दक्षिणपन्थी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र लेफ्ट लिवरल जोरआन ममदानी बीचको पछिल्लो दिल्लगी चर्चामा छ । चर्चामा नहोस् पनि किन ! न्युयोर्कको मेयर चुनावअघि उनीहरूले एकअर्कालाई के मात्रै भनेनन्, एकअर्कालाई कमजोर पार्न केसम्म गरेनन् ! अहिले त ममदानीले ट्रम्पलाई फासिस्ट भनेको सम्झना पत्रकारले गराइदिंदा ट्रम्पले हो भन्देऊ न, के फरक पर्छ र टाइपको जवाफ पो दिइदिए ।

ट्रम्प र ममदानी भेट्दाखेरि जुन मिलनसारिता देखियो, त्यसले हामीलाई एक पुुराना नेपाली कविको पंक्ति सम्झाउँछ ।

कवि भीमनिधि तिवारीको सुस्वादु पंक्ति छ–

ओठले नहाँसे पनि दाँतले हाँस्नुपर्छ

मनले बहिष्कार गरे पनि मुखले नमस्कार गर्नुपर्छ ।

यति कुरा त दुर्गा प्रसाईंले पनि बुझिसक्न लागे । म बुझिसके नै त भन्दिनँ । सांसद बनिसकेका सीके राउतले मौका पाउँदा विखण्डनलाई बल पुग्ने अभिव्यक्ति दिन थाल्दै गर्दा दुर्गा आफैंले चाहिं धेरथोर राजनीति बुझिदिए भने त्यसलाई उपलब्धि नै मान्नुपर्ने हुन्छ ।

र एमाले, जसले मंसिर ९ गते मंगलबार एकातिर निर्वाचन आयोगमा दल दर्ता गरायो, अर्कातिर उसैले त्यही दिन संसद् ब्युँताउन सर्वोच्च अदालतमा रिट हाल्न थाल्यो । एमालेको एउटा खुट्टा नयाँ संसद्तर्फ अघि बढेको छ, अर्को खुट्टा पुरानै संसद्तर्फ । तर आशा गरौं, ताजा जनादेश नै उसको प्राथमिकता हुनेछ ।

कतै नाराजुलुस छ, कतै भिडन्त । कतै रंग पोतिएको छ, कतै सडकको शान्ति खल्बल्याउने प्रयासहरू । भनिदिनुहोस् त अगुवाज्यूहरू ! यसले चुनावको वातावरण बनाउँछ ?

यो किन पनि आशा गर्नुपर्ने हुन्छ भने, ठिक यही बेला एमाले समर्थित भोलेन्टियरहरू, अनि जेनजीका नाममा खुलेका विभिन्न समूहका बीचमा सडकमा परस्पर भिडन्त चलिरहेका छन् । बुधबार धनगढीमा, मंगलबार सुर्खेतमा, सोमबार विराटनगर र दुहबीमा, त्यसअघि सिमरामा हामीले त्यसका झलकहरू देख्यौं ।

सडकमा असन्तोषलाई आक्रोशमा व्यक्त गरेका नवयुवालाई एमाले नेता महेश बस्नेतले आतंककारी नै भन्दिनु चाहिं नहुने । सांसद, मन्त्री भइसकेका महेशलाई यस्तो नबोल न भनेर ‘बा’ ले सम्झाइदिए पनि हुने । तर एमालेमा यस्तो संवादको माहोल देखिएन ।

गतसाता बाराको सिमरामा भएको प्रदर्शन ।

महेश बस्नेतका हेटस्पिचहरू एकातिर छन्; जेनजीका नाममा खुलेका विभिन्न समूहका अगुवाले थालेका निषेधकारी प्रदर्शनहरू अर्कातिर । कतै नाराजुलुस छ, कतै भिडन्त । कतै रंग पोतिएको छ, कतै सडकको शान्ति खल्बल्याउने प्रयासहरू । भनिदिनुहोस् त अगुवाज्यूहरू ! यसले चुनावको वातावरण बनाउँछ ?

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जो अध्यक्ष पदमा केपी ओलीसँग तीन सातापछि हुने महाधिवेशनमा लड्ने घोषणा गरेका छन्; उनले भोलेन्टियर बनाउने निर्णयप्रति पार्टीभित्र एकमत नरहेको बताइसकेका छन् । हामीसँग लामो अन्तर्वार्तामा बस्दै पोखरेलले बुधबार बिहान भनेका थिए– पार्टीको नीति र मान्यताभन्दा बाहिर गएर समूह बनाउने कुरा उचित होइन ।

ठूलो आन्दोलन वा उत्पातपछिको चुनाव केवल प्राविधिक तयारी होइन, यो राजनीतिक अनुष्ठान पनि हो; जसका लागि मुख्य स्टेकहोल्डरहरू मानसिक रूपमै आपसमा संवाद गर्न तयार हुनुपर्छ । यतिबेला ओठले हाँस्न मन छैन भने पनि दाँतैले सही, गिजै देखाएर सही; हाँस्न तयार हुनुपर्छ ।

यो किन पनि आवश्यक छ भने, समयमा चुनाव भएन भने हामी नयाँ चरणको राजनीतिक संकटतर्फ प्रवेश गर्न सक्छौं । त्यसले हामीलाई अनिर्णय, अराजकता र शून्यता बाहेक केही दिनेछैन भनेर यसअघि पनि हामीले सम्पादकीय मार्फत भनिसकेका छौं ।

मंसिर ८ गते दिउँसो हामी न्यायालयका एक महत्वपूर्ण पात्रसँग संवादमा थियौं । उनको मुखबाट हामीले सुनेको वाक्य थियो– चुनाव भएन भने संसद् पुनर्स्थापनाको मागमा स्वत: गम्भीर हुनुपर्ने हुन्छ । देशलाई रिक्तताको अवस्थामा छाड्न सकिंदैन । देश रहे न संविधान ! देशै नरहे केको संविधान ?

हामीले एकमुष्ट जवाफ दिन सक्नुपर्छ, हाम्रा व्यवहारहरूबाट । चुनाव पनि हुन्छ, देश पनि बच्छ । प्रणालीले काम गर्छ यो लोकतन्त्रमा; कसैलाई भ्रम नरहोस् । आखिर जेनजीले सचेत विद्रोह चाहेको हो । जेनजीले युवा उभार मागेको हो, अराजक उत्पात होइन ।

हामीले सरकारले दलहरूसँग संवाद गर्ने विभागीय मन्त्री तोक्न लागेको संकेत पाएका छौं, त्यो सकारात्मक छ । प्रधानमन्त्री सुशीला कार्की आफैं पहिलेभन्दा नरम भएर संवादमा अघि सर्ने कुराले चुनावको वातावरण अरू बनाउँछ ।

नेपालका पार्टीहरूको एउटा चरित्र छ– एकअर्का विरुद्ध जति कटु शब्द बोले पनि उनीहरू लन्च वा डिनर खाँदै कुरा गर्न पछि पर्दैनन् । नचाहिंदा कुरामा समेत राष्ट्रिय सहमति देख्दा–देख्दा जनता वाक्क थिए, अब चाहिंदो एउटा चुनावी एजेन्डामा पनि लन्च वा डिनर फिक्स गर्ने कि ? दल, जेनजीलाई सँगसँगै राखेर बालुवाटारमा यसअघि कुरा भइसकेकै छ ।

यस्तै अर्को चुनावी संवाद प्रधानमन्त्री कार्की आफैंले गराउन सक्छिन् । त्यस अग्रसरताले नै अहिले सडकहरूमा देखिएको सन्त्रासलाई कम गर्दै चुनावी बाटोतर्फ देशलाई हिंडाउने छ । दल र जेनजी दुवैले यतिबेला एकअर्का विरुद्ध हेटस्पिच र निषेध रोकिनु जरूरी छ । जनमत परीक्षणका लागि मिलेर चुनावमा जानु त छँदैछ ।

एस्प्रेसोका अन्य सामग्री-

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?