News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले २०६२ सालतिर एमबीबीएस अध्ययनका क्रममा पहिलो पटक कान्तिपुर साप्ताहिकमा अश्रुग्यास सम्बन्धी लेख प्रकाशित गराएका थिए।
- लेखकले स्वास्थ्य सम्बन्धी लेखनलाई सामान्य भाषामा प्रस्तुत गर्दै पाठकमा स्वास्थ्य चेतना पुर्याउने उद्देश्य राखेका छन्।
कुरा त धेरै पुरानो होइन । तर, यादहरू पुराना भइसके । किनभने त्यसबेलाका धेरै कुरा यतिबेला एकादेशको कथा झै भइसकेको छ ।
आज एआईको युगमा हुर्किरहेका बालबच्चालाई ‘हामी अर्काको घरमा लुकीछिपी टिभी हेर्न जान्थ्यौं’ भन्दा दन्तेकथा लाग्न सक्छ । यस्ता थुप्रै कुरा र जीवन भोगाइ छन्, जो आजको पुस्तालाई ‘होइन होला हो’ जस्तो लाग्न सक्छ ।
२०६२ सालतिरको कुरा हो । त्यसबेला म काठमाडौंको तीनकुने नजिक बसेर मेडिकल अध्ययन गर्दै थिएँ । मेरो डेरानजिक कान्तिपुर पब्लिकेसको भवन थियो । बिहानबेलुकी अस्पतालमै ड्युटी र पढाइ । बेलुकाको थकान र झ्यालबाट देखिने शहरको उज्यालो । सादा कापी, निलोकालो मसी भएको कलम, केही सपनाहरू र केही गज्याङमज्याङ शब्दहरू, यस्तै केही साथ थिए मेरा।
एमबीबीएसको सातौँ सेमेस्टरमा थिएँ । रोगका नाम, रोग पत्ता लगाउनुपर्ने तरिका र औषधिका नामहरू सम्झनुपर्ने हुन्थ्यो ।
पत्रपत्रिका पढ्थे । तर लेख्न जानेको थिइनँ । शरीरलाई बचाउने तरिका पढ्थेँ, तर भित्र कतै म आफैंलाई बचाउने उपाय खोजिरहेको थिएँ । म मनको शल्यक्रिया गरिरहेको थिएँ । त्यो मन जसलाई समाजको पिरती, स्वास्थ्यको पीडा र पत्रिकाको पानामा केही फरक भएर उपस्थित हुने रहरले तानिरहेको थियो ।
त्यसबेला कान्तिपुरको ‘साप्ताहिक’ निकै प्रचलित थियो । हरेक शुक्रबार प्रकाशित हुने साप्ताहिकमा युवापुस्ताले रुचाउने खालका सामग्रीहरू हुन्थे । कला मनोरञ्जनदेखि राशिफल, खेलकुद, स्वास्थ्य सल्लाह सबै समेटिएका हुन्थे ।
एकदिन पत्रकार जिन्तेन्द्र शाहमार्फत म त्यो अखाबरको कार्यलयमा छिरें । अनि मैले पनि एउटा लेख तयार गरें, अश्रुग्यास सम्बन्धी । मेरो नाम पहिलो पटक पत्रिकामा छापिएको थियो । म खुसीले ज्यास्तै गदगद भएँ । रातभर निद्रा लागेन ।
भोलिपल्ट अस्पतालमा बिहानै राउण्ड थियो, तर आँखाभित्र कागजका अक्षरहरू नाचिरहे- मेरा आफ्नै शब्दहरू । हातमा छापिएको पत्रिका समाउँदा यस्तो लाग्यो— मात्र लेख होइन, सपनै छापिएको हो ।
त्यो समय मोबाइल घर-घरमा थिएनन् । ई–पेपरको जमाना अझै टाढै थियो । त्यसैले पत्रिका नै पढिन्थ्यो । सायद गनेको भए ५० पटक मैले आफ्नै लेख पढें होला । र त्यो कटिङ आजसम्म सुरक्षित छ ।
जितेन्द्रजीले फोन गरेर बधाई दिनुभयो । बागबजारमा आन्दोलन कभरेज गरिरहेका सुरज कुँवर, जसले अश्रुग्यासको समाचार लेखेका थिए, उनी र घनश्याम खड्कासँग पनि चिनजान भयो । साहित्यिक गफ, सामाजिक प्रश्न, र लेखकै माध्यमबाट जोडिएको मित्रताको आरम्भ भयो । त्यो एउटा लेखले प्रा. डा. हेमन्त दिक्षित सरले आफैँ बोलाएर मलाई बधाई दिनुभयो । डा. दिक्षित त्यसबेला काठमाडौं मेडिकल कलेजका प्रिन्सिपल थिए अनि म विद्यार्थी ।
अनि जितेन्द्रजीले नै मलाई साप्ताहिकका सम्पादक सुवास ढकालसँग भेट गराइदिनुभयो । त्यसपछि म पत्रिकाको कार्यलयमा नियमितजसो जान थालें । त्यसमा मलाई स्वास्थ्य सम्बन्धी लेखका लागि छुटै स्तम्भ नै दिइयो
मेरा लेखहरुमा रोग चिनाउने, रोगबाट बचाउने र सावधानीका उपायहरू हुन्थ्यो । तर चिकित्सकीय भाषमा होइन समान्य भाषामा, सबैले बुझ्ने शैलीमा । म डाक्टर बनिसकेको थिएनँ । तर लेख्दा मान्छेका स्वास्थ्य र पीडामा म आफूलाई अनुभूत गर्थें ।
लेखन मेरो पेसा थिएन, त्यो मेरो अन्तरदृष्टिको अभ्यास थियो । मनका गाँठो फुकाउने माध्यम थियो । लेखन भावनात्मक थिएन तर उद्देश्य गहिरो थियो, ‘स्वास्थ्य चेतना पुर्याउने’ ।
लेख्दै जाँदा धेरै अनुभवी पत्रकारहरूसँग चिनजान बढ्यो । उनीहरूले मेरो लेखनलाई थप निखार्न ढाडस दिन्थे । प्रशान्त अर्याल र सन्तोष आर्चाय दाइहरूले कसरी तथ्य र तथ्यांक खेलाउने भनी सिकाउँथे । अमृत भादगाउँले र गिरीश गिरीले कुनै पनि कुरालाई कसरी सुरुचीपूर्ण बनाउने भनी सिकाउँथे । राजेश कोइरालाले कुनैपनि कुरालाई पाँच कक्षामा पढ्ने बच्चाले पनि बुझ्नेगरी कसरी लेख्ने भनी सिकाउँथे । म सिक्दै थिएँ, बुझ्दै थिएँ, अनि लेख्दै थिएँ ।
एमबीबीएस सकेर झापा पुगी मेची अञ्चल अस्पतालमा सेवा सुरु गरें । अस्पतालको चापबीच पनि लेखनको मोह घटेन । ल्यापटप थिएन, कहिले कम्प्युटर सेन्टर धाउँथे, कहिले अस्पतालकै कर्मचारी दिदीलाई टाइप गरिदिन आग्रह गर्थेँ । शब्द मेरा थिए, तर किबोर्डमा अरूले औँलाले चलाउँथे ।
त्यसपछि बिर्तामोडमा ल्यापटप किनें । आफैँ टाइप गर्न थालेँ, किबोर्ड हेर्दैहेर्दै । मेरा लेखमा तथ्य बढी भवना कम हुन्थे । तर प्रभाव थियो । लेख नियमित छापिन्थ्यो, पारिश्रमिक पनि पाइन्थ्यो । स्थानीय पत्रिकाहरूमा पनि फाट्टफुट लेख्थें ।
त्यसपछि फेरि राजधानी फर्कने अवसर मिल्यो । पोस्ट ग्राजुएट (डिजिओ) अध्ययनका लागि । प्रसूति गृहको व्यस्तता बीच पनि कलमको गति रोकिन । बरू गहिरो भयो । त्यही बेला सुरु भयो, साप्ताहिकमा ‘महिला स्वास्थ्य’ स्तम्भ ।
मुकुन्द बोगटी दाइले प्रश्नहरू संकलन गरिदिनुहुन्थ्यो अनि म लेख्थेँ छोटाछोटा उत्तरहरू । १००–१५० शब्दमा, ८–१० वटा एकैचोटि पठाउँथे । यो स्तम्भ निरन्तर चल्यो । पाठकले प्रश्न पठाउँथे, म उत्तर दिन्थेँ । त्यो स्तम्भले मलाई संयमित लेखन, स्पष्ट अभिव्यक्ति र तटस्थ सल्लाह दिन सिकायो ।
समय घुम्दै गयो । प्रिन्टभन्दा डिजिटल सञ्चारले छलाङ मार्दै आयो । डिजिटलमा अनलाइनखबरसँग जोडिएर लेख्न थालें । यतिबेलासम्म मैले छापा माध्यमका कान्तिपुर, अन्नपूर्ण पोस्टलगायत अधिकांश मिडियामा लेखिसकेको थिएँ । अब पालो थियो, डिजिटलतिर लम्कने ।
म अनलाइन पत्रिकामा आफूलाई अभ्यस्त बनाउन थालें । पत्रपत्रिकाको ह्याङओभर बाँकी थियो । अनलाइनमा लेखिएका कुराहरु पत्रिकाको जस्तो हुँदैनथ्यो । पत्रिकामा लेख छापिएर आउन समय लाग्थ्यो, छापिएपछि बोकेर घरमै लान सकिन्थ्यो, अरूलाई देखाउन पाइन्थ्यो अनि जतनसाथ त्यसलाई संग्रहित गर्न पाइन्थ्यो ।
तर, अनलाइनमा यस्तो सुविधा थिएन । त्यसैले अलि खल्लो पनि लाग्यो सुरु-सुरुमा । तर, समय हामीलाई छाडेर एक कदम अगाडि बढिसकेको थियो । हामीले समयको बेगलाई समात्नै पर्थ्यो । त्यसैले त अनलाइन लेखनमा आफूलाई अभ्यस्त नबनाइ भएको थिएन ।
जसोतसो अनलाइनमा लेख्न थालियो । बिस्तारै थाहा भयो, अनलाइनको छुटै मज्जा रहेछ । त्यहाँ प्रकाशित लेख विश्वभर एकसाथ हेर्न, पढ्न सकिने । तुरुन्तै क्रिया प्रतिक्रिया जनाउन सकिने । यो एक अन्तर्क्रियात्मक शैली थियो, जसले लेख्नका लागि थप हौस्याउने मात्र होइन आफूलाई सच्याउने पनि रहेछ ।
अक्सर कलाकारहरू मञ्चमा जति दमदार हुन्छन्, एकदुई जना मान्छेका अगाडि त्यति सशक्त प्रस्तुती दिन सक्दैनन् । किनभने उनीहरूले आफ्नो कला प्रस्तुत गरिरहँदा अगाडिको दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया हुनेरहेछ । त्यसैले उनीहरूलाई जोडदार रुपमा आफ्नो कला पेश गर्न हौस्याउने रहेछ ।
ठिक यसैगरी अनलाइन लेखनमा पनि पाठकसँग प्रत्यक्ष साक्षतकार भए जस्तै हुँदोरहेछ, जसले लेख्नका लागि थप हौसला मिल्छ । त्यही हौसलाले गर्दा त हो, म स्वास्थ्य सल्लाह मात्र होइन अरू विषयमा पनि लेख्न थालें । देखेका, भोगेका, सुनेका कुराहरूलाई कथा बनाउन थालें ।
यसमा गोपीकृष्ण ढुङ्गाना, अच्युत कोइराला, कृष्ण ढुङ्गेल, शिव मुखिया, तैतै धिताल जस्ता यस क्षेत्रका विज्ञहरूको सम्पादन र शैलीले मलाई सच्चिने अवसर दिएको छ ।
कहिलेकाहीँ म त्यो पुरानो झापा अस्पताल सम्झिन्छु । जहाँ म शब्दको नशा लिएर दिदीसँग टाइप गरिदिन अनुरोध गर्थेँ । त्यो दिदीको हाँसो अझै सुनिन्छ, कसैको भलो हुने कुरा लेखिँदै थियो भन्ने गर्व बोकेको हाँसो ।
म सम्झन्छु, त्यो कान्तिपुरको सम्पादकीय कोठा, त्यो झोपडीको चिया, त्यो कागजको गन्ध, विदुर खतिवडा, कृष्ण भट्टराइको हाँसो अनि भोला धनकौलको जोक्स । अब लेखन मेरो पेशा होइन, मेरो अस्तित्व हो जस्तो लाग्छ । म डाक्टर हुँ, तर कहिलेकाहीँ म लेखक पनि हुँ ।
अब लेख्दा केवल रोगीको पीडा होइन, समाजको पीडाबाट चिच्याउने आवाज मिसिन्छ । प्रश्न मात्र होइन, ती उत्तरका बीच लुकेका तडपहरू पनि मिसिन्छन् । किनभने कलम अब औषधिको विकल्प मात्र होइन, परिवर्तनको स्वर बनेको छ । म चेतना दिन चाहन्छु । र त्यो चेतना अक्षरमार्फत बग्दैछ, कहिले स्पर्श भएर, कहिले आँखा रसाएर । कलम आज पनि धडकिन्छ, हरेक धडकनसंगै ।।
प्रतिक्रिया 4